२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चाँगुनारायण चौघेरा अस्तव्यस्त

भक्तपुर — ऐतिहासिक चाँगुनारायण मन्दिर भूकम्पपछि जीर्णोद्धार भएको डेढ वर्ष भइसके पनि चौघेराका सत्तलहरू भने अझै जीर्ण नै छन् । चौघेरा सत्तलको जिम्मा पाएको ठेकेदार कम्पनीले पुनर्निर्माणको लागि भन्दै सत्तलको जगको खाल्डो खनेर छोडेको महिनौ बितिसक्यो ।

सुचारु हुन सकेको छैन । मन्दिरको मूल पुजारी पाटी क्षतिग्रस्त छ । अस्तव्यस्त चौघेरा सत्तलले पर्यटकीय गन्तव्य चाँगुनारायण मन्दिर परिसर नै कुरूप देखिएको छ । चाँगुनारायण मन्दिर भक्तपुरको पर्यटकीय आकर्षणको एक प्रमुख केन्द्र भए पनि व्यवस्थित हुन सकेको छैन ।


जीर्ण सत्तलको पुनर्निर्माण र जीर्णोद्धारको ढिलाइप्रति पर्यटक र स्थानीयको उत्ति नै गुनासो छ । चाँगुनारायण ४ का सत्यनारायण भडेल सम्बन्धित निकायले चाँगुनारायण क्षेत्रको सम्पदा संरक्षणमा पर्याप्त ध्यान नदिएको बताउँछन् । मन्दिरको जीर्णोद्धार भएको धेरै समयसम्म पनि यसको चौघेरा पुनर्निर्माण नहुँदा मन्दिरको सुन्दरतामा असर परेको बताउँदै एक पर्यटकले भने, ‘मन्दिरको सौन्दर्य मात्र होइन, सत्तलका संरचना र सम्पदाको सुरक्षामा समेत चुनौती छ ।’


मन्दिर परिसरका सत्तलहरू जीर्ण भएका कारण मन्दिरको सौन्दर्यसमेत फिक्का लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरू बताउँछन् । ‘विश्व सम्पदामा सूचीकृत सम्पदा क्षेत्रको यस्तो कुरूप अवस्थाले निराश बनायो,’ चाँगुनारायण मन्दिर घुम्न आएकी दोलखा शैलुङकी मञ्जु श्रेष्ठले प्रश्न गरिन्, ‘यस्तो सम्पदा क्षेत्र हेरेर विदेशी पर्यटकले के सन्देश लिएर जान्छन् ?’ स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायले सम्पदा क्षेत्रको शीघ्र जीर्णोद्धार गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले सम्पदा संरक्षण, सुरक्षा र सौन्दर्यमा उत्तिकै ध्यान दिनुपर्ने उनी बताउँछिन् ।


स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) ले मन्दिर र सत्तलको महत्त्वपूर्ण पुरातात्त्विक निर्माण सामग्री संरक्षणका लागि जस्तापाताको टहरा बनाएर भण्डारण गरेको छ । अझै कतिपय पुरातात्त्विक सामग्री खुला आकाशमा छरिएको चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए । ‘क्षतिग्रस्त सत्तल पुनर्निर्माण नहुँदा चाँगुनारायण मन्दिर दर्शनका लागि आउने भक्तजनले निराशा व्यक्त गर्छन्,’ उनले भने, ‘सत्तल अस्तव्यस्त छ, टाउको लुकाउने ठाउँ छैन ।’


नगरपालिकाले चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने बाह्य पर्यटकको प्रवेश सेवा शुल्क उठाउने गरेको छ तर मन्दिर क्षेत्र संरक्षणका लागि कुनै कार्य नगरेको स्थानीयको गुनासो छ । चाँगुनारायण मन्दिर क्षेत्रमा गत्तिलो शौचालय छैन । भएको शौचालयमा पनि चुकुल बिग्रिएको छ । शौचालयमा पानीको सुविधा छैन ।


पुरातत्त्व विभाग भक्तपुरले भने चाँगुनारायण मन्दिर चौघेरा सत्तलको पुनर्निर्माण कार्य थालनी भइसकेको जनाएको छ । विभाग प्रमुख मोहन सिं लामाका अनुसार चौघेरा सत्तल पुनर्निर्माणका लागि २०७५ माघ २ मा लुम्बिनी/सानु सुवाल/पवन जेभीसँग सम्झौता भई मन्दिर परिसरको दक्षिण पश्चिमतर्फ जग खनिसकेको छ ।


उत्तर पश्चिम र पश्चिमतर्फको पाटीमध्ये मूल पुजारीको सामान राख्ने सत्तलबाहेक क्षतिग्रस्त संरचना भत्काउने कार्य भएको समेत उनले बताए । ‘मूल पुजारीको पुजा सामग्री राख्ने ठाउँ अभावमा चरणबद्ध किसिमबाट पुनर्निर्माण गर्ने तयारी भएको छ,’ उनले भने । मन्दिरको उत्तर पश्चिमतर्फ भने भूक्षय हुन सक्ने जोखिम रहेकाले टेको पर्खाल (रिटेनिङ वाल) को कार्यपछि मात्र सत्तल पुनर्निर्माण गर्नुपर्ने देखिएको पुरातत्त्व विभाग भक्तपुर प्रमुख लामा बताउँछन् ।


‘रिटेनिङ वालका लागि भेरिएसन अर्डर गर्नुपर्ने हुन्छ, भेरिएसन अर्डरका लागि विभागमा प्रस्ताव भएको छ,’ उनले भने, ‘भूक्षय नियन्त्रणपछि मात्र सत्तलको पुनर्निर्माण हुन्छ ।’ भूक्षय नियन्त्रणका लागि बजेट इस्टमेट हुन बाँकी रहेको समेत जनाएको छ । सत्तल निर्माणका लागि पुरातत्त्व विभागले सुरुमा २४ करोड रुपैयाँ लागत अनुमान निकालेको थियो । बोलपत्र प्रक्रियामा जाँदा निर्माण कम्पनीसँग करसहित १६ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर प्रमुख लामाले बताए ।


२०७८ असार १५ भित्र चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल निर्माण गरिसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको उनी बताउँछन् । सत्तल पुनर्निर्माणका लागि निर्माण सामग्री ओसारपोसारमा समेत समस्या देखिएको कार्यालयले जनाएको छ ।


निर्माण सामग्री मन्दिर परिसर पुर्‍याउन नयाँ प्रविधि अपनाउन समय लागेकाले समेत पुनर्निर्माण ढिलाइ भएको र केही दिनमै कार्य सुचारु हुने विभाग प्रमुख लामा बताउँछन् ।

प्रकाशित : असार ३०, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?