१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एटीएमबाटै बीउबिजन

प्रशान्त माली

ललितपुर — ‘बीउबिजन’ एटीएम नेपालीका लागि नौलो हुन सक्छ । सहरी खेती गरिने जापान, चीन, भारतलगायत मुलुकमा यसको प्रयोग धेरै अघिदेखि भएको हो । अब नेपालका किसानले पनि यसको प्रयोग गर्न पाउने छन् । ललितपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सक्कल एग्रो एन्ड सिड ट्रेडर्स लगनखेलसँगको सहकार्यमा पुल्चोकमा कार्यालय स्थापना गरेको छ ।

एटीएमबाटै बीउबिजन

एटीएममार्फत कौसी र करेसाबारीलाई आवश्यक पर्ने मौसमअनुसारका उन्नत जातका तरकारी तथा पुष्प बीउबिजन पाउन सकिन्छ ।


एटीएम सञ्चालनमा आएपछि सहरी खेती प्रवर्द्धन भई स्वच्छ, सफा तरकारी आपूर्ति, घरको फोहोर घरमै व्यवस्थापन, राजस्व संकलन र नगरमा हरियाली बढाउन मद्दत पुग्ने महानगरको विश्वास छ । ललितपुर महानगरपालिका कृषि शाखा प्रमुख केशव अधिकारी भन्छन्, ‘मेसिनमा हिउँदे, बर्खे र वसन्त ऋतुअनुसारका बीउबिउन उपलब्ध हुने छन् ।


एक पाकेट बीउबिजन बिक्री भएमा वस्तुको मूल्यको २ प्रतिशत महानगरलाई राजस्व भित्रिने छ ।’ उनले यो व्यवस्थाले रासायनिक विषादीमुक्त तरकारी घरमै उत्पादन गर्न मद्दत पुग्ने बताए । ‘सहर सफा राख्न मद्दत गर्छ,’ उनले भने, ‘उपभोक्ता ठगिनबाट पनि जोगिन्छन् ।’


मेसिनमा सिजनअनुसारका सयपत्री, मखमली, सूर्यमुखी, सुपारी, जलबेडा, डेलिया, एस्टरजस्ता पुष्प बीउ हुने छन् । तरकारीमा सिमी, बोडी, तितेकरेला, काँक्रो, राय, चम्सुर, पालुंगो, फर्सी, लौका, घिरौला, गोलभेडा, काउली, कुरिलो, मुला, बन्दा, अकबरे, माच्छे, भेडे खोर्सानीका बीउ हुने छन् । महानगरको लगानीमा भारतीय कम्पनी बेटा अटो मेसिनबाट ल्याएको एटीएमको मूल्य साढे तीन लाख भारु पर्छ । यातायात, भन्सार गरेर ८ लाख रुपैयाँ परेको प्रमुख अधिकारीले बताए ।


‘किसानको परिचय पत्र (कार्ड) वितरण गर्ने महानगरको लक्ष्य छ । अनुदान सबै पत्रमै राखिएको हुन्छ । पछि त्यही कार्डबाट मेसिन सञ्चालनमा ल्याउने योजना छ,’ उनले भने, ‘यसलाई अन्य देशमा सिड भेन्डिङ मेसिन भनिन्छ ।’ मेसिनको प्राविधिक तथा बीउबिजन व्यवस्थापन भने ट्रेडर्सले गर्ने छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सफल भएमा २९ वटै वडामा विस्तार गरिने बताए । ‘यो पाइलट प्रोजेक्ट हो,’ उनले भने ।


महानगरमा दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म सेवाग्राही आउँछन् । उनीहरूलाई लक्षित गरेर कार्यालयमा मेसिन स्थापना गरेको हो । बीउबिजन पाउन एटीएमको स्क्रिनमा रहेको ‘प्रेस ह्यर’ लेखिएको बटममा थिचेपछि तरकारी तथा पुष्पको तस्बिरसहितको लिस्ट आउँछ । आफूलाई आवश्य पर्ने वस्तुमा थिचिसकेपछि परिमाणका लागि ‘भेन्ड’ बटममा थिच्नुपर्छ ।


त्यसपछि क्यासमा थिचेर मूल्यअनुसारको रकम मिलाएर हालेपछि बीउबिजन झर्छ । मेसिन विधिवत् रूपमा आइतबारबाट सञ्चालनमा आउने महानगरको योजना छ । ट्रेर्डसका सञ्चालक उज्वल थापा भन्छन्, ‘मेसिनमा नेपाली उन्नत जातका बीउबिजन पनि बिक्रीवितरणमा राखिने छन् ।


२०, ५०, १०० र ५०० का नोट मेसिनमा छिराएर आवश्यकताअनुसारको बीउबिजन खरिद गर्न सकिने छ ।’ ‘पुरानो र कलर लागेका नोट मेसिनले लिँदैन,’ उनले भने, ‘पैसा फिर्ता पनि आउँदैन ।’ उनले महानगरका कर्मचारी तथा सुरक्षा गार्डलाई मेसिन चलाउने तरिका सिकाइने बताए । ‘उनीहरूबाट उपभोक्ताले सहयोग लिन सक्छन्,’ उनले भने ।


जिल्लाबाट दैनिक लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठुर्लादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजारमा आउँछ । अफ सिजनमा ९ हजार किलो आउँछ । भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो र अफ सिजनमा ९ हजार किलोसम्म आउँछ ।



प्रकाशित : असार २७, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?