१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कीर्तिपुरमा ज्वजलपा

शिल्पा कर्ण

काठमाडौँ — कीर्तिपुरको जनसेवा माध्यमिक विद्यालयका विद्यार्थीले नेपाल भाषा पढाउने शिक्षिकाको नाम ज्वजलपा राखिदिएका छन् । ज्वजलपा मिस । प्रधानाध्यापक नन्दकुमारी महर्जन भन्छिन्, ‘हामीले बोल्न नसक्ने कुरा पनि ससाना विद्यार्थी बोलिरहेका हुन्छन् ।’

कीर्तिपुरमा ज्वजलपा

उनको विद्यालयमा कखरादेखि अंकसम्म नेपाल भाषामा पढाइन्छ । बालबालिकाले नेपालभाषामै कुराकानीसमेत गर्न सक्ने भएका छन् । गैरनेवार समुदायका विद्यार्थी पनि ।


त्यसैगरी, आदिनाथ माविका प्रधानाध्यापक जुजुभाइ महर्जन नेपालभाषा गैरनेवार समुदायको समेत रूचिको विषय भएको बताउँछन् । ‘गैरनेवार पनि बने कुथी, ज्वजलपाजस्ता शब्द प्रयोग गरेर कुराकानी गर्दा रमाइलो मान्छन्,’ उनले भने ।


नगरपालिकाले दिँदै आएको आर्थिक सहयोग पछिल्लो वर्षदेखि बन्द गरेपछि विद्यालय नेपाल भाषा पठनपाठन बन्द गर्ने कि भन्नेमा छन् । स्रोत नहुँदा विषयगत शिक्षकका रूपमा राख्न सकिएको थिएन । कीर्तिपुरमा नेवारी बोल्न जान्ने अन्य विषयका शिक्षकलाई नै विद्यालयले बालबालिकालाई नेपालभाषा पढाइदिन आग्रह गर्ने गरेको थियो । ‘एक कक्षालाई पढाउन ४० हजार रुपैयाँ नगरपालिकाले वार्षिक दिने सहमति भएको थियो,’ जनप्रतिनिधि आउनु निकै अगाडि नगपालिकामा छलफल गर्दाका कुरा सम्झिँदै जुजुभाइले भने, ‘त्यसपछि कक्षा थपिँदै जाँदा थप ४०–४० हजार दिने सहमति भएको थियो ।


तीन कक्षासम्म सञ्चालन गरे पनि सहयोग बढेको छैन । उल्टै भाषा पढाउन बन्द गर्ने तयारीमा विद्यालय छ । २०६७ वैशाखबाट नगरभित्रका माविले नेपालभाषाको कक्षा सञ्चालन गर्ने निर्णय गरेका थिए । नगरपालिकाबाट आउने सहयोग रोकिएपछि विद्यालयहरू दोधारमा छन् । कक्षा २ सम्म नेपालभाषा कक्षा सञ्चालन गरिरहेको मंगल माविले शिक्षकलाई तलब दिन नसक्दा पनि पढाइरहेको थियो ।


‘हामीले नगरपालिकाबाट पाउने सहयोग गत वर्षदेखिकै पाएका छैनौं,’ प्रधानाध्यापक लोकबहादुर महर्जनले थपे, ‘कक्षा २ भन्दा माथि पनि पढाउने भनेका थियौं । कतैबाट केही सहयोग आएन ।’ हाल नगरभित्रका ५ विद्यालयले कक्षा २–३ सम्म नेपालभाषा अध्यापन गराउँदै आएका छन् ।


बिनाकुनै थप शुल्क नेपालभाषालाई पनि पाठ्यक्रमभित्र राखेर एउटा विषयका रूपमा झन्डै ९ वर्षदेखि कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयले शैक्षिक सामग्री किन्न नगरपालिकाको रकम खर्च गर्ने गरेका छन् । नगरपालिकाले दिएको सहयोगबाट तलब दिन नमिल्ने भएकाले पुस्तक किन्न पनि गाह्रो हुने गरेको कक्षा ३ सम्म नेपालभाषा पढाइँदै आएको आदिनाथ माविका प्रधानाध्यापक जुजुभाइको भनाइ छ ।


उनी भन्छन्, ‘नेपालभाषा स्कुलबाट केही किताब र अन्य सामग्री मगाएका थियौं । यस वर्ष भने हामीले रुटिनमा राखेका छैनौं ।’ बजेट बन्द भए पनि भाषा प्रशिक्षण रोक्न नहुने बताउँछिन् जनसेवाकी प्रधानाध्यापक नन्द कुमारी । ‘विद्यार्थीको रुचि हेर्दा भाषा कक्षा रोक्ने इच्छा लाग्दैन,’ उनले भनिन् ।


नगरपालिकाले भने स्थानीय विषयवस्तु समेटिएको नयाँ पाठ्यक्रम निर्धारण गर्दा त्यसैमा नेपालभाषा पनि समेट्ने बताएको छ । मेयर रमेश महर्जनले सोचाइअनुसार भाषा प्रवर्द्धनका कार्य नबढे पनि आफूहरूले सक्दो प्रयास गरिरहेको बताए । नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले भने, ‘पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा छ । रञ्जना लिपि, प्रचलित लिपि र पाठ्यक्रमका विषयमा भाषा संस्कृतिमा कार्यरत अन्य संस्थासँग पनि सहकार्य गर्ने छौं ।’


यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम शिक्षण सुरु गर्ने गरी काम गरिरहेको मेयर महर्जनले बताए ।

प्रकाशित : असार २७, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?