२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तारकेश्वरको पाठ्यक्रम यसै वर्षदेखि

काठमाडौँ — तारकेश्वर नगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने विषय अन्तिम चरणमा रहेको जनाएको छ । पुस्तक छपाइसमेत सकिइसकेको र वितरण गर्न बाँकी रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाका अधिकृत पदमबहादुर खत्रीका अनुसार नगरपालिकाले हाल ३ हजार प्रति पुस्तक प्रकाशन गरिसकेको छ ।


‘वितरणको अन्तिम चरणमा छ, तीन हजार प्रतिले पुग्छ भन्ने अनुमान छ । हामीले अहिलेलाई कक्षा १ र ६ मा मात्र लागू गर्ने भनेका छौं,’ उनले थपे, ‘सामुदायिकलाई निःशुल्क उपलब्ध गराइनेछ भने संस्थागत विद्यालयलाई न्यूनतम शूल्क १ सय २५ रुपैयाँ लाग्नेगरी उपलब्ध गराउने छौं ।’


खत्रीका अनुसार शिक्षा समितिअन्तर्गत स्थानीय पाठ्यक्रम निर्माण समिति बनाएर कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरिएको हो । यही शैक्षिक सत्रदेखि यो विषय पढाइ हुने छ ।


यस विषयका लागि थप शिक्षक भने नखटाइने नगरपालिकाको भनाइ छ । ‘स्थानीय विषयवस्तु नै समेटिएका हुन्छन् । नयाँ शिक्षक राख्नुपर्ने आवश्यकता पर्दैन । अहिलेकाले नै सक्छन्,’ शाखा अधिकृत खत्रीले भने । पाठ्यक्रम आधारभूत तहको बनिसकेको भए पनि लागू गर्न भने तीन वर्षको समय लाग्ने र चरणबद्ध रूपमा विद्यालयमा लागू गरिने उनले जानकारी दिए ।


१ र ६ कक्षामा यस वर्ष २, ५ र ८ कक्षाका लागि आगामी वर्ष र बाँकी कक्षाको पाठ्यक्रमअनुसारका पुस्तक छपाइ र शिक्षण आर्थिक वर्ष २०७८ बाट गरिने छ । कक्षा १ देखि ३ सम्ममा विद्यार्थीलाई नगरको नाम, मठमन्दिर तथा ऐतिहासिक स्थल, महत्त्वपूर्ण जात्रा, नदीनाला र प्राकृतिक स्रोत आदिबारे जानकारी दिइने छ । पाठ्यक्रमअनुसार १ सय २८ पाठ्यभार प्रत्येक कक्षामा रहने छ । विद्यार्थीलाई पर्यटकीय स्थल, पर्यटकलाई आकर्षित गर्ने उपाय तथा विषय वस्तुका साथै सामाजिक रूपान्तरण र आधुनिकीकरण पनि सिकाइने छ । आधुनिकीकरणको प्रभाव, सहभागिता, फाइदाजस्ता कुराबारे जानकारी दिइने हेतुले पाठ्यक्रम तयार गरिएको हो ।


कक्षा ६ देखि ८ सम्म भने स्थानीय ठाउँको नामकरण, इतिहास, हावापानी र भौगोलिक अवस्था लगायतका विषयमा जानकारी दिइने छ । पाठ्यक्रमअनुसार यी कक्षाका विद्यार्थीले नगरभित्रका प्रेरक व्यक्तित्व, भाषाशास्त्री, विज्ञलगायत बारे पनि अध्ययन गर्नुपर्ने छ । उनीहरूलाई साङ्ला बालकुमारी जात्रा, गोलढुंगा र मनमैजूलगायत जात्रबारे विस्तृतमा जानकारी दिइने छ । यसका साथै नगरपालिकाबारे संवैधानिक व्यवस्था पनि सिकाइने छ ।


पाठ्यक्रमअनुसार नगरपालिका र नगर कार्यपालिकाको गठन प्रक्रिया, पदाधिकारी छनोट हुने तरिका, काम, कर्तव्य र अधिकार, विकास निर्माण कार्य आदिबारे पनि जानकारी दिइने छ । साथै, विद्यार्थीले स्थानीय सरकारको निर्णय प्रक्रिया, कामकारबाही, नगरभित्रका योजना छनोट प्रक्रिया, योजना कार्यान्वयन चरणलगायत विषयमा पनि पुस्तकमार्फत सिकाइने छ ।

प्रकाशित : असार २५, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?