माइतीघर–बबरमहल सडकमा जोखिम 

विद्या राई

काठमाडौँ — माइतीघर–बबरमहल सडक खण्डमा दुर्घटनामा परेर पछिल्लो एक महिनामा ४ जनाले ज्यान गुमाए । सडक फराकिलो तथा राम्रो भए पनि गाडी चालकको लापारबाहीले गर्दा जेब्राक्रसमा सावधानीपूर्वक बाटो काटिरहेका पैदलयात्रुसमेत मृत्युको सिकार बनेका छन् । 

शनिबार बबरमहलस्थित ‘आर्ट काउन्सिल’ अगाडि ट्याक्सीको ठक्करबाट स्कुटरमा सवार १९ वर्षीया दीपक थापा र रोहित सिंह गम्भीर घाइते भए । महानगरीय ट्राफिक प्रहरी वृत्त सिंहदरबारअनुसार बिजुली बजारबाट माइतीघर जाँदै गरेको बा २ ज ११८८ नं को ट्याक्सीले बबरमहल कर कार्यालय भएर चोकतर्फ आउँदै गरेको बा ८३ प ४०३५ नं को स्कुटरलाई ठक्कर दिएको थियो । एकाबिहानै सवा एक बजे भएको दुर्घटनाका घाइते थापा र सिंहलाई उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगियो । अस्पताल पुर्‍याएपछि डाक्टरले थापाको ज्यान गइसकेको घोषणा गर्‍यो ।

‘आर्ट काउन्सिल’ अगाडि नै जेठ २० गते जेब्राक्रसबाट बाटो काटिरहेकी पैदलयात्री बझाङकी कल्पना चन्दलाई मोटरसाइकलले ठक्कर दिएको थियो । दिउँसो करिब एक बजेतिर माइतीघरबाट बानेश्वरतर्फ तीव्र गतिमा आइरहेको बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलको ठक्करले चन्द गम्भीर घाइते भइन् । चन्दकी साथी सांसद आशाकुमारी विकका अनुसार घाइते भएकै दिन थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरियो । चार दिनसम्म उपचार सम्भव नभएपछि ट्रमा सेन्टरमा लगिएकीउनको जेठ २६ मा मृत्यु भयो ।

उक्त मोटरसाइकल चन्दलाई ठक्कर दिएपछि मोटरसाइकल थप तीव्र गतिमा बानेश्वरतर्फ भागेको थियो । हतारमा भाग्दै गरेको मोटरसाइकलले जिल्ला अदालत अगाडिको जेब्राक्रसमा बाटो काटिरहेका दुई जनालाई फेरि ठक्कर दियो । मोटरसाइकलका चालक नै गम्भीर घाइते भए । नागरिकता बनाएर फर्कंदै गरेका सरोज लामा र सुजाता लामा काठमाडौं जिल्ला अदालत अगाडिको जेब्राक्रसमा दुर्घटना परे । उनीहरू उपचाररत रहेको सिंहदरबारवृत्तले जानकारी दिएको छ ।

अन्यत्रको तुलनामा माइतीघर(बबरमहल सडक राम्रो भए पनि चालकहरूको लापारबाही, तीव्र गतिले गर्दा सावधानीपूर्वक यात्रा गर्नेहरूसमेत असुरक्षित बन्नुपरेको छ । सिंहदरबार वृत्तको तथ्यांकअनुसार चालू आवको जेठ मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ११ गम्भीर घाइते, १ सय ८५ सामान्य घाइते भए । जसमध्ये प्रहरीले माइतीघर, बबरमहल हुँदै बिजुली बजार पुलवारिसम्मलाई अत्यधिक दुर्घटना हुने क्षेत्र भनेको छ । बितेको एक महिनामा बबरमहलको आर्ट काउन्सिल अगाडिको दुर्घटनामा २ र माइतीघरमा आर्मी गेट अगाडिको दुर्घटनामाथप दुईले ज्यान गुमाएका थिए ।

बबरमहल खण्डमा सार्वजानिक बस, माइक्रो चढ्ने यात्रुले पनि असुरक्षित महसुस गर्ने गरेका छन् । केही समयअघि कोटेश्वरबाट नेपाल यातायात चढेकी एक युवतीलाई बबरमहलमा ओर्लने क्रममा दुर्घटनामा परेर चोटपटक लाग्यो । ‘ओर्लिनसक्दै गाडी माइतीघरतिर हुइँकायो, म हुर्रिएर लडेँ, लडेर हातखुट्टामा नमिठो चोट लाग्यो ।’ उनी लडेको देखे पनि गाडी हुइँकिसकेको थियो । ट्राफिक प्रहरीसमेत त्यहाँ थिएनन् ।

उनले न प्रहरीलाई ‘कम्प्लेन’ गर्न पाइन् । न त उपचार गर्दाको खर्च असुल्न नै । ट्राफिक प्रहरी कार्यालय भद्रकालीका अनुसार काठमाडौं उपत्यकामा चालु आवको जेठ मसान्तसम्म गाडी दुर्घटनामा २ सय २८ जनाले ज्यान गुमाए । २ सय ८९ गम्भीर घाइते भए भने ५ हजार ३ सय ६१ सामान्य घाइते भए । कार्यालयका प्रवक्ता रविकुमार पौडेलका अनुसार चालकको लापारबाही, अव्यवस्थित सडक, सवारीसाधनको कमजोर अवस्था र मौसमका कारण सवारी दुर्घटना हुने गर्छ ।

ट्राफिक प्रहरीले लेन मिच्ने, मापसे गरेर सवारी चलाउने तथा यात्रुमैत्री सवारी नचलाउनेलाई दैनिक दुई सयको संख्याका सवारीधनीलाई कारबाहीस्वरूप कार्यालयमा ल्याएर ट्राफिक नियम पढाउँछ । वार्षिक कम्तीमा पनि ७० हजारले ट्राफिक कक्षा लिन्छन् । तर दुर्घटनाका गतिविधि भने कमी आउँदैनन् ।

ट्राफिक प्रहरी कार्यालय प्रवक्ता रविकुमार पौडेल भन्छन्, ‘हामी पढाउँछौँ, सिकाउँछौँ, दुर्घटनामा कमी आउँदैन, दुर्घटना कमी नहुनुका पछाडि दैनिक नयाँनयाँ अनुहार सडकमा आउनु र सवारीचालकले जथाभावी गाडी चलाउनु नै छन् ।’ तीव्र गतिमा सवारी हाँक्ने, पैदलयात्रु होस् या अर्को सवारी ख्यालै नगर्ने कारण दुर्घटना हुने गर्छ । घटनास्थलमा गम्भीर घाइते भएकाहरू अधिकांशले ज्यान गुमाउन पुग्छन् ।

केही समयअघि काठमाडौं महानगरको विज्ञ टोलीको स्थलगत अध्ययनले समेत बबरमहल क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरेको छ । अध्ययनले पैदलयात्रुको धेरै आवतजावत हुने तर जेब्राक्रसिङहरू पैदलयात्रु मैत्री नभएकाले दुर्घटनाको जोखिम स्थान देखाएको थियो । महानगरले ‘स्मार्ट सिटी’ बनाउने गुरुयोजनाअन्तर्गत माइतीघर तीनकुने सडक खण्डलाई पैदल यात्रुमैत्री बनाउन बबरमहलमा काठमाडौं जिल्ला अदालत र विशेष अदालतको बीच सडकमा अत्याधुनिक जेब्राक्रस राख्ने योजना बनाएको छ ।

प्रकाशित : असार २४, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

६० प्रतिशत बजेट विकास निर्माणमा

चाँगुनारायण नगरपालिका
कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिकाले करिब ६० प्रतिशत बजेट विकास निर्माणमा खर्च गर्ने गरी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले विकास निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएका छन् ।

चाँगुनारायणले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १ अर्ब ४१ करोड ८० लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये आयतर्फ नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट १० करोड २७ लाख रुपैयाँ, ससर्त अनुदानतर्फ २६ करोड ८३ लाख रुपैयाँ छ ।

प्रदेश सरकारबाट २२ करोड ९४ लाख ५७ हजार रुपैयाँ, अनुदानमार्फत ६१ करोड ९२ लाख १७ हजार रुपैयाँ बजेट अनुमान गरेको छ । नगरपालिकाले जनसहभागितामार्फत ११ करोड ५० लाख रुपैयाँ तथा चालु आर्थिक वर्षको बैंक मौजाद १८ करोड ११ लाख ४५ हजार, आन्तरिक आय २४ करोड ५ लाख २१ हजार अनुमान गरेको बजेट वक्तव्यमा उल्लेख छ । खर्चतर्फ चालुतर्फ ३१ करोड ५० हजार, पुँजीगततर्फ ८३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारको ससर्ततर्फ २६ करोड ८३ लाख र प्रदेशको ससर्तबाट १८ लाख ९१ हजार व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।

जसमध्ये, आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा ठूला सडक पूर्वाधार शीर्षकअन्तर्गत १८ वटा योजनाका लागि १ करोड रुपैयाँ, साना सडक तथा अन्य पूर्वाधारतर्फ १ सय ३९ योजनाका लागि १५ करोड रुपैयाँ, ३८ वटा साना खानेपानी योजनाका लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । ३८ वटा अन्य पूर्वाधारतर्फ १ करोड ६० लाख, पर्यटक पूर्वाधारतर्फ २ करोड, चालु ठूला खानेपानी आयोजनाका लागि २ करोड ५० लाख रुपैयाँ, भवन निर्माणका लागि ५ करोड रुपैयाँ, शिक्षक उपदान/तालिम/छात्रवृत्तिलगायतका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाएको छ । साझेदारी (६०/४०) योजनाका ११ करोड रुपैयाँ, भैपरी आउने पूर्वाधारका लागि २ करोड, समपूरक योजनाअन्तर्गत ३ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख मिश्रले बताए ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक, दलित, अपांगता, आदिवासी, जनजाति, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, मठमन्दिर तथा सांस्कृति संरक्षणजस्ता सामाजिक क्षेत्रको विकासमा आवश्यक रकमको व्यवस्था गरेको उनले बताए । पाँचौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममा नगरपालिकाले सम्पत्ति कर अनिवार्य गर्ने भएको छ । नगरवासीको सम्पत्ति कर अनिवार्य गर्ने नीति लिएको उल्लेख छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५ सम्पत्ति कर लगाउने व्यवस्था भएअनुरूप नगरपालिकाले आगामी आर्थिकवर्ष ०७६/७७ को साउन १ गतेबाट सम्पत्ति कर लागू गर्ने नीति लिएको नगरप्रमुख मिश्रले बताए ।

नगरक्षेत्रभित्र रहेको साधारण निर्माणमुखी खानी तथा खनिज पदार्थको सञ्चालन तथा उचित व्यवस्थापन गरी आन्तरिक आयस्रोत व्यवस्थापन गरिनेउनले बताए । नीति तथा कार्यक्रममा नगरकोट अवलोकनका लागि आउने पर्यटकको प्रवेश सेवा शुल्क चाँगुनारायण र मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा उठाउने, व्यवसाय करलाई व्यवस्थित कार्यान्वयन गर्न नयाँ आर्थिक वर्षको साउन, भदौ र आश्विन महिनालाई व्यवसाय दर्ता अभियानका रूपमा सञ्चालन गरेर व्यवसायलाई करको दायरामा ल्याउने उल्लेख छ । नगर क्षेत्रभित्र दर्ता नभई सञ्चालित व्यवसायहरू वडामार्फत सहजीकरण गरी वडा कार्यालयमा नै दर्ता हुने व्यवस्था गरिएको र दर्ता प्रक्रियामा नआएका व्यवसायलाई व्यवस्थित गर्न व्यवसाय दर्ता अभियान सञ्चालन गरेर हरेक व्यवसायलाई करको दायरा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरलाई आर्थिक समृद्धितर्फ लैजान आन्तरिक आय वृद्धि गर्न नगरवासीलाई सबै प्रकारको सेवासुविधा उपलब्ध गराउन नगरवासीको आर्थिक अवस्थाअनुसार निर्धारण गरी करको दायरा फराकिलो बनाइने, वातावरण मैत्री उद्योग कलकारखाना स्थापना गर्दा दर्ता प्रक्रियामा विशेष सहुलियत प्रदान गरिने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ । सम्पति कर, घरबहाल, व्यवसाय कर र सबै प्रकारका आन्तरिक आयको अभिलेख व्यवस्थापन र संकलन गर्ने कार्यलाई अनलाइन सफ्टवेयर प्रयोग गरी व्यवस्थित नीति बनाइने नगरप्रमुख मिश्र बताउँछन् । नगरको बेरुजु रकम शून्य पुर्‍याउन आवश्यक नीति तयार गर्ने, आर्थिक प्रशासन शाखाका काम कारबाहीलाई छिटोछरितो र पारदर्शी बनाउन खर्च लेखाकंन तथा प्रतिवेदनलाई व्यवस्थित गर्न सूत्र प्रणाली लागू गर्ने तयारी गरेको कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी, ‘विकासको आधार, भौतिक पूर्वाधार’ नीतिलाई अंगाल्दै नगरवासीलाई व्यवस्थित सडक सञ्जाल जोडिने अपेक्षा पूरा गर्ने, नगरको केन्द्रबाट प्रत्येक नगर बस्ती र वडा केन्द्रलाई सुरक्षित र भरपर्दो सडक सञ्जाल जोडिने योजना रहेको उपप्रमुख बिना बाँस्तोलाले बताइन् । नगरका सबै सडकको नामकरण गरी मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बरको व्यवस्थापन गर्ने, ‘उज्यालो चाँगुनारायण’ अभियानअन्तर्गत नगरका मुख्य सडकमा विद्युतीय सडक बत्ति जडान गरिने आगामी वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामा छ ।

प्रकाशित : असार २४, २०७६ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्