सप्तपाताललाई सर्वोच्चको साथ

प्रशान्त माली

काठमाडौँ — सार्वजनिक पोखरीलाई पुनर्जीवन दिने स्थानीयवासीको डेढ दशक लामो कानुनी संघर्षलाई सर्वोच्च अदालतले सहारा दिएको छ । ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन माग गर्ने स्थानीय अगुवाहरूका पक्षमा सर्वोच्चले सोमबार आदेश दिएको हो ।

लगनखेलस्थित सप्तपाताल पोखरी हडपी बनाएको कुरूप दृश्य र सर्वोच्चमा डेढ दशकसम्म न्यायिक लडाइँ लडेका स्थानीय पूर्ण स्थापित । तस्बिर ः कान्तिपुर


न्यायाधीशद्वय दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले पोखरीको जग्गाबाट बनेका विद्यालयसहितका भवन संरचना हटाउन माग गर्ने स्थानीयको रिटका पक्षमा आदेश गरेको हो । पोखरी अतिक्रमण गर्दै जाँदा सबभन्दा पछिल्लोपल्ट त्यसको जग्गा अतिक्रमण गरी नमुना मच्छिन्द्रनाथ स्कुल सञ्चालन हुँदै आएको छ । अब स्कुलको नाममा रहेको जग्गालाई सार्वजनिकमा परिणत गरी पोखरी बनाउन सकिने छ । स्थानीय अगुवाहरूका अनुसार पोखरी १४ रोपनीभन्दा बढी फैलिएको थियो । चारैतिरबाट मिचिएकाले हाल डेढ–दुई रोपनी जग्गा मात्र बचेको छ ।त्यहाँ पानी छैन, घाँस मात्र छ ।

पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका स्थानीय १६ वर्षदेखि अदालत धाउँदै थिए । तीमध्ये बढी खटिनेमा थिए ७४ वर्षीय पूर्ण स्थापित । कानुनी संघर्षमा खटिँदा मुद्दा छोड्न उनलाई धेरैले दबाब दिए । धम्की सहे । ऐतिहासिक महत्त्वको पोखरी अहिले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनेको छ । उनले भने, ‘अब पोखरी पुरानै स्वरुपमा बनाउन पहल गर्ने छौँ ।’स्थापितसहितका स्थानीयबासी पोखरीका पक्षमा उभिन थालेको २०६० सालदेखि हो जब विद्यालयले ‘डिपार्टमेन्ट स्टोर’ बनाउन खोज्यो ।

स्थानीयवासीले पोखरीको अतिक्रमण हुँदै आएको टुलुटुलु हेर्दै आएका थिए । लगनखेल–सातदोबाटोतर्फ अशोक स्तूपवरिपरिका जग्गा अतिक्रमण गर्नेमा सेनाको राजदल गण, ललितपुर जिल्ला अदालत, मालपोत, नापी, जिल्ला पशु कार्यालय, स्काउट भवनसहित थिए । ती कार्यालयले पनि जग्गा कित्ताकाँट गरिसकेका छन् । सरकारी कार्यालय र विद्यालय खुल्दासम्म स्थानीयले वास्ता गरेनन् ।

पाटनका भूमिगत जलभण्डारमा पानी पुनः भरण गर्ने परम्परागत पोखरीमध्ये सप्तपाताल मुख्य मानिन्छ । यो पोखरी सहरका निम्ति खानेपानी ‘रिजर्भर’ ट्यांकी पनि हो । यहाँ पानी भरिसकेपछि पाटनभरिका ढुंगेधारा र इनार रसाउने विश्वास छ ।

सप्तपाताल पोखरी अर्को महत्त्व भनेको खुला सार्वजनिक स्थल हो । पोखरीमा पानी भर्न लेले टीकाभैरवमा मुहान बनाएर राजकुलो खनेर ल्याइएको थियो । सप्तपाताल अथवा पृथ्वीका तलतिर रहने ७ लोकमध्ये सबभन्दा तल्लो लोक हो, जसलाई नागलोक पनि भनिन्छ । रातो मत्स्येन्द्रनाथ र मीननाथ जात्रा सम्पन्न भएको खबर स्वर्गका देवता इन्द र पाताल लोकका नाग राजालाई पुर्‍याउन यही पोखरीको प्रयोग हुन्छ । पहिला लगनखेलमा ७ वटा पोखरी थिए ।

‘सम्पदा जोगाउनु छ भने आत्तिनु हुँदैन । धैर्यले काम गर्नुपर्छ,’ स्थापितले अदालतको आदेशप्रति प्रसन्नता प्रकट गर्दै सोमबार राति कान्तिपुरसँग भने, ‘ढिलै भए पनि न्यायको जित भएको छ ।’

प्रकाशित : असार २४, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

जहाँ निषेध छ काटमार

हरिराम उप्रेती

गोरखा — पशुपक्षी काटमार गर्नेलाई मात्र होइन, बेचबिखन र किन्नेलाई पनि ५० हजार जरिवाना । उत्तरी चुमनुब्री गाउँपालिका ४ प्रोक वडा कार्यालयले यस्तो निर्णय गरेपछि सर्वसाधारण खुसी भएका छन् । बौद्घ धर्मावलम्बीको बाहुल्य रहेको यस क्षेत्रका बासिन्दालाई दृष्टिगत गरी वडाले यस्तो निर्णय गरिदिएको हो । 

‘काटमार गरेको सूचना दिनेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेका छौं, प्रमाणसहित सूचना दिनेको नाम गोप्य राखिनेछ,’ वडाध्यक्ष पेमाडुन्डुप लामाले भने, ‘जरिवानास्वरूप संकलित रकम अहिंसा अभियान वा गरिब स्थानीयका बालबालिका पढाउन र उपचारमा खर्चिनेछौं ।’ वडामा यसअघि पनि खुला रूपमा पशुवध गर्न पाइँदैनथ्यो । ‘अब लुकिछिपी कुनै पनि प्राणी हत्या गर्न पाइँदैन,’ लामाले भने, ‘प्राणी मारेर रमाइलो गर्नु सुहाउँदो होइन, सबै प्राणीले श्वास फेर्छन्, त्यस्तालाई मार्नु अपराध हो ।’ दुई सय १७ घर रहेको वडाका कसैले पनि काटमार गर्दैनन् ।

प्रोक मात्र होइन, जिल्लाका उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ काटमार पूर्ण निषेध गरिएको छ । चुमनुब्री ७ छेकम्पारले १९७७ सालदेखि नै अहिंसा क्षेत्रको पहिचान बनाएको छ । ९९ वर्षअघि स्थानीय प्रमुख लामा, तत्कालीन तालुकदार तथा स्थानीयले अवतारी लामा, डुक्पा लामा, सेराप दोर्जेको रोहबरमा अहिंसा क्षेत्र घोषणा गरेका थिए । २०६५ सालमा तत्कालीन छेकम्पार गाउँपरिषद्बाट अहिंसा क्षेत्रका चार किल्ला तोकियो । ‘चार किल्लाभित्र आगन्तुकले पनि काटमार गर्न नपाउने भनियो,’ अहिंसा अभियन्ता निमा लामाले भने ।

२०६९ वैशाख १३ देखि १५ सम्म गाउँमा श्याग्या (अहिंसा) महोत्सव आयोजना गरी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले छेकम्पार र चुम्चेत मिली बनेको चुम उपत्यकालाई अहिंसा क्षेत्र घोषणा गरे । चुमनुब्रीअन्तर्गत छेकम्पार ७ र चुम्चेत ६ वडामा पर्छन् । काटमार नियन्त्रणका लागि स्थानीयस्तरमै कानुन बनाइएको छ । काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने, वनजंगलमा डढेलो नलगाउने नियम बसालिएको छ ।

बुद्घ नेपालमा जन्मिएकाले बौद्घ दर्शन तथा पञ्चशीलको सिद्घान्तमा स्थापित भएर अहिंसा क्षेत्र घोषणा गरिएको लामाले बताए । पञ्चशीलको सिद्घान्तमध्ये अहिंसा एक हो । ‘१९७७ पछि काटमार गर्नेका लागि गाउँलेको छुट्टै ऐन थियो,’ उनले भने, ‘ऐनलाई समयानुकूल परिवर्तन गर्‍यौं, लिखित रूपमै काटमार नगर्ने कागजमा स्थानीयले हस्ताक्षर गरेका छन् ।’ काटमार भएको पाइए सजाय हुन्छ । गाउँमै रहेको राजेन गुम्बामा बत्ती बालेर एक हजार पटक ढोग्ने नियम बसालिएको छ ।

याक, चौंरी, भेडा, च्याङ्ग्रा, खसी, बोका, हाँस, कुखुरालगायत पाल्तु पशुपक्षी काटमार नगर्ने तथा पाहुना, पर्यटक, कर्मचारी एवं सुरक्षाकर्मीलाई पनि चाडपर्वमा समेत पशुवध नगरी अहिंसाप्रति श्रद्घा र भक्ति गर्न भनिएको अभियन्ता लामाले बताए ।

‘वन्यजन्तु पशुपक्षीको कल्याण गर्न यस क्षेत्रमा सिकार खेल्न–खेलाउन निषेध गरिएको छ,’ उनले भने, ‘पासो थापेर वा कुनै किसिमका उपायबाट चराचुरुंगीलगायत जंगली जनावर छोप्न र मार्न पाइँदैन ।’ भीरपाखामा माहुरीको चाका भत्काई आगो, डढेलो लगाई मह काढ्ने चलनले हजारौं प्राणीको ज्यान जाने भएकाले यस्तो प्रकारको हत्या गरी मह काढ्न निषेध गरिएको उनको भनाइ छ । ‘वन तथा चरन क्षेत्रमा डढेलो नलगाउने, खोरिया फाँडेर खेती गर्न पाइँदैन,’ उनले भने ।

मासु प्रयोजनका लागि व्यापार गर्ने उद्देश्यले कुनै पनि जीवलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउन तथा काटी खाने व्यक्तिको हातमा नबेच्न पनि स्थानीयलाई सचेत गराइएको छ । सीमाक्षेत्रका तिब्बतियन बजारमा याक, चौंरी बिक्रीवितरण गर्नै पाइँदैन ।

प्रकाशित : असार २४, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्