मेलम्ची खानेपानी : तयार भए १० रिजर्भ पोखरी

दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भएको जनाएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै मन्त्रालयले ती पोखरीको परीक्षण मात्र बाँकी रहेको उल्लेख गरेको छ । अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ । 

मेलम्ची खानेपानी : तयार भए १० रिजर्भ पोखरी

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीका अनुसार सुन्दरीजलस्थित प्रशोधन केन्द्र रहेको पानी मुख्य पाइपद्वारा पोखरीमा खन्याइने छ । आरुवारी (८ हजार ५ सय घनमिटर), बाँसबारी (९ हजार ५ सय), महांकाल (८ हजार ), खुमलटार (९ हजार ५ सय), बालाजु (७ हजार), भक्तपुरको टिगनी ( ३ हजार), महाराजगन्ज ( ७ हजार ५ सय ), कीर्तिपुर (६ हजार) र धोबीघाटमा (८ हजार ५ सय) क्षमताको पोखरी निर्माण भइसकेको उनले बताए । कटुन्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण कार्य अघि बढिरहेको उनले बताए । मुआब्जा विवादले गर्दा भक्तपुरको कटुन्जेमा पोखरी निर्माण कार्य अलि ढिलाइ भएको उनले बताए । ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘समस्या समाधान हुनेबित्तिकै त्यो पोखरी पनि सम्पन्न हुन्छ ।’ लामो समयदेखि राजधानीवासीले प्रतीक्षा गरेको मेलम्चीको पानी उपत्यकामा समानुपातिक वितरणका लागि ७४ हजार ५ सय बढी घनमिटर क्षमताका १० वटा पानीपोखरी निर्माण भएको खत्रीले बताए ।


थोक वितरण प्रणालीको सुन्दरीजल (महाकांलचौर पाइप खण्डको परीक्षण सम्पन्न भइसकेको भन्दै उनले मेलम्ची पानी नआएसम्म पोखरीको परीक्षण गर्न ग्राहो हुने बताए । ‘ठूलो परिणाममा पानी चाहिन्छ, त्यो कहाँबाट ल्याउने ?’ उनले भने, ‘यी पोखरीको सफल परीक्षण गर्न मेलम्चीको पानी पर्खनैपर्छ ।’ थोक प्रणालीको ७५ किमि पाइप लाइन बिछ्याउने काम सम्पन्न भइसकेको उनले बताए । ती पानी पोखरीबाट मुख्य पाइप र त्यसपछि सहायक पाइपमा पानी पठाइने उनले बताए । सहायक पाइप लाइनबाट सामानुपातिक प्रणालीबाट प्रत्येक व्यक्तिको घरमा पानी वितरण गरिने उनले बताए । ‘कुनै घरमा थोरै, कसैमा धेरै पानी वितरण हुँंदैन,’ उनले भने, ‘आधुनिक मेसिनद्वारा पानी वितरण गरिन्छ ।’ त्यसैगरी १ लाख १२ हजार धारामध्ये ७३ हजार धारा जडान भइसकेका छन् । बाँकी रहेका धारा पनि जडान कार्य तीव्र रूपमा अघि बढिरहेको उनले बताए । उपत्यकाको ढल व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन ९ वटा स्थानमा ढल प्रशोधन केन्द्र निर्माण गरिने उनले बताए । ढल प्रशोधन केन्द्र निर्माण कार्य सम्पन्न हुन अन्तिम चरणमा रहको उनले बताए ।


हाल सुस्त रूपमा काम अघि बढिरहेको भन्दै उनले मेलम्चीको सुरुङको निर्माण अघि बढेपछि मात्र एसियाली विकास बैंक (एडीबी) ले आर्थिक सहयोग गर्ने जनाएको बताए । ‘सुरुङ काम ठप्प छ, त्यसकारण त्यसको सुनिश्चिता नहुन्जेलसम्म अरू काम अघि नबढाऊ भनेको छ,’ उनले भने, ‘अन्य काम अघि बढेको छैन ।’ रिङ रोडभित्र र बाहिर केही पाइप बिछ्याउन बाँकी रहेको भन्दै उनले एडीबीले संकेत दिनेबित्तिकै काम अघि बढाउने बताए । ‘अहिले काम भइरहेको स्थानमा बढी केन्द्रित छौं,’ उनले भने । फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पनि तीव्रताका साथ अघि बढिरहेको उनले बताए । गुहृयेश्वरी, कोडकु, सल्लाघारी र धोबीघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको उनले बताए । ढललाई पाइपमार्फत प्रशोधन केन्द्रमा पुर्‍याई त्यसबाट फिल्टर गरिने छ । ‘जलचर बाँच्नका लागि आवश्यक मात्रामा अक्सिजन रहेको सुनिश्चित गरी नदी र खोलामा पानी छोड्छौं,’ उनले भने, ‘त्यसका लागि बाग्मती नदी माथिल्लो धापमा विभिन्न भौतिक संरचना निर्माण भइरराखेका छन् ।’

प्रकाशित : असार १९, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?