कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तार चुडिँदा बन्द हुन्छन् सीसीटीभी

शिल्पा कर्ण

काठमाडौँ — महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा सीसीटीभी मोनिटरिङ कक्ष छ । एउटै स्क्रिनमा नगरभित्रका १० वटै क्यामेराबाट भइरहेका गतिविधि हेर्न सकिन्छ । तर त्यसमा अहिले दुईवटा मात्र चलिरहेका छन् । वृत्तमा कार्यरत एक प्रहरीका अनुसार सीसीटीभीको गुणस्तर राम्रो छैन । 

सर्वसाधारणको सुरक्षाका लागि भनि लगाइएको सीसीटीभीले काम गर्न छाडेपछि एकातिर स्थानीयमा अपराध बढ्ने डर छ भने अर्कोतिर अपराध न्यूनीकरण र अनुसन्धानमा कठिनाइ हुने प्रहरीको भनाइ छ । वृत्त प्रमुख डीएसपी छेदीलाल कामतीको भनाइमा, ‘सीसीटीभी नहुँदा महत्त्वपूर्ण घटना छुट्छन् । अपराध अनुसन्धानमा यस्ता क्यामेराले खिचेका फुटेजले निकै महत्त्व राख्छ । तर नहुँदा अनुसन्धानमा गाह्रो हुन्छ ।’


उनले निजी व्यापारिक तथा वित्तीय संस्थाले आफ्नो सुरक्षाका लागि सीसीटीभी लगाए पनि सार्वजनिक स्थलमा रहनु प्रहरीका लागि फाइदा हुने बताए । नगरपालिकाले गत वर्ष जडान गरेको १० सीसीटीभीमा उमा महेश्वर मन्दिर र वडा नं. ३ को कार्यालय रहेको ढाल्पा चोकको मात्र चलेको छ । सीसीटीभी मोनिटरिङ कक्षका प्रहरीले कहिले बिग्रिने, कहिले आफैं चल्ने गरेको बताउँछन् । तर अधिकांशले नियमित काम गर्ने गरेका छैनन् ।


हाल १० वटामध्ये दुईवटा मात्र चलेका छन् । ‘केही समय अघिसम्म नगरको उमामहेश्वर मन्दिरमा लागूऔषध प्रयोगकर्ता बस्थे,’ स्थानीय वीरेन्द्र शाक्यले भने, ‘तर प्रहरीले सीसीटीभीमार्फत निरीक्षण गर्ने भनेपछि ती कम हुन थाले, अहिले बस्दैनन् ।’ यस्ता आपराधिक घटना नियन्त्रण गर्न सहयोगी हुने सीसीटीभी नचल्नुले स्थानीय खराब प्रवृत्ति भएकाहरूको मनोबल बढ्ने र दुर्घटना हुन सक्ने भन्दै त्रासमा छन् ।


नगरपालिकाले गत वर्ष पाँगा दोबाटोमा तीन वटा र कीर्तिपुर गेटमा दुईवटा सीसीटीभी लगाएको थियो । यसैगरी नगाउँ दोबाटो, देवढोकास्थित नगरपालिका भवन अगाडि, समल ढोका, उमामहेश्वर मन्दिरलगायतका स्थानमा सीसीटीभी जडान गरेको थियो ।


तर वर्ष नबित्दै तीमध्ये अधिकांशले खिच्ने फुटेजको संख्या घटेको छ । मोनिटरिङ कक्षमा दुई तीन स्थानका फुटेज मात्र देखिन्छन् । नगरपालिकाका जिन्सी उपशाखा प्रमुख ज्ञानबज्र महर्जन भन्छन्, ‘ट्रकजस्ता ठूला सवारीसाधनले तार चुडाउने गरेर सीसीटीभी नदेखिने रहेछ । पटकपटक तार चुडिँदा सम्झौता भएको कम्पनीले तार जोडिदिएको छ ।’ तर अब सम्झौता भएको वर्ष पार भइसकेकाले उक्त कम्पनीले शुल्क लिने महर्जनले जानकारी दिए ।


आर्थिक वर्ष २०७४/७५ को बजेटले सोही वर्ष जेठ अन्तिममा सीसीटीभी खरिद गरिएको हो । लगभग साढे ४ लाख रुपैयाँ खर्चिएर सोही वर्ष असोज अन्तिममा जडान सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सवारीसाधन बढी नजाने स्थानमा सीसीटीभीले राम्रै काम गरे पनि अन्य स्थानमा तार चुडिने समस्या रहेकोले समाधानतर्फ नगरपालिका प्रयासरत रहेको महर्जनको भनाइ छ ।


कीर्तिपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा धेरै पटक सीसीटीभीको कुरा दोहोरिएको छ । सुरुमै राएिका मुख्य नीतिहरूमा उल्लेख छ, ‘कीर्तिपुर नगर क्षेत्रका मुख्यमुख्य क्षेत्र, बजार, चोकलगायतका स्थानमा सीसी क्यामेरा जडान गरिने छ ।’


यसैगरी सुशासन तथा संस्थागत विकासअन्तर्गतको बुँदामा पनि सबै वडामा इन्टरनेट तथा सीसीटीभी जडान गरिने बताइएको छ । सूचना प्रविधिमैत्री कार्यसम्पादन प्रणालीमा पनि नगरको संवेदनशील स्थानमा सीसीटीभी राखिने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । तर गतवर्षका भने बिग्रिसके ।


यस विषयमा मेयर रमेश महर्जनले भने, ‘सबै चलिरहेकै होलान् । बिचबिचमा भारी मालवाहक ट्रक टिपरले गर्दा कनेक्सन टुट्ने रहेछ । जमिनमुनि बिछ्याइएका र माथिका अप्टिकल फाइबर पनि तोड्ने गर्दो रहेछ ।’ यद्यपि क्यामेराको गुणस्तर आफूहरूलाई थाहा भएसम्म राम्रै रहेको र आउने वर्ष पनि टेन्डर आहृवान गरी खरिद गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?