१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

११ वर्षीय बालकको आत्महत्या–'अनर्थ भयो’

प्रशान्त माली

माल्टा, ललितपुर — सानैदेखि नाच्न काविल कान्छो छोरालाई ठूलो कलाकार बनाउने धोको थियो ६० वर्षीय सुकबहादुरको । गीत गाउन, कविता वाचन र नृत्यमा प्रतिभाशाली थिए ११ वर्षीय समीर लुङवा । तिनै छोराले शनिबार राति अकस्मात् आत्महत्या गरेपछि भावविहृवलमा परेका छन् लुङवा परिवार । 

११ वर्षीय बालकको आत्महत्या–'अनर्थ भयो’

दुई छोरामध्ये ठूलो २९ वर्षीय कमल लुङवा र बुहारी शोभा बेसुर छन् । ठूली छोरीको विवाह भइसक्यो । कान्छी शान्ति भर्खर १३ वर्षमा लागिन् । बागमती गाउँपालिका २ का ६० वर्षीय बुवा सुकबहादुर र ५० वर्षीय आमा मानमायाको बुढेसकालको सहारा भनेकै समीर थिए । शनिबार राति ‘सुसाइट नोट’ लेखेर झुन्डिएर आत्महत्या गरेपछि आमाबुबाको आशाको दियो निभेको छ ।


मंगलबार पिँढीमा भावविहृवल अवस्थमा भेटिएकी आमा मानमाया भन्छिन्, ‘छोराले ठूलो नृत्य कलाकार बनेर परिवार पाल्छु भन्थे । मलाई कहिल्यै छोडेर एक्लै हिँडैनथ्यो । त्यो दिन म र छोरी बाहिर गएको बेला अनर्थ भयो ।’


घटना घटेको दिन राति सुकबहादुर झाँक्री काम गर्न छिमेकीकोमा घरमा पुगेका थिए । आमा छोरी टीभी हेर्न छिमेकीकोमा गएका थिए । सुकबहादुर करिब साढे ९ बजेतिर घर पुग्दा छोरा झुन्डिएको अवस्थामा देख्दा उनको होसहवास उड्यो । पिँढीमा बसेर हारगुहार माग्दै रुनकराउन थाले । उनको आवाज सुनेर मानमाया कुदेर घर पुगिन् । सुरुमा उनले श्रीमान् मुटु दुखेर कराउन थालेको भन्ठानेका थिए । छोराको अवस्था देखेपछि उनी पनि पानीबिनाको माछाजस्तै छट्पटाए । उनी सम्झिन्छन्, ‘घटना घट्नुअघिका दिनहरूमा छोराको व्यवहारमा केही परिवर्तन देखिनँ । एक्कासि घटना घटा अचम्ममा परेँ ।’


परिवारका अनुसार कालीदेवी माविको कक्षा ५ मा अध्यनरत मृतक समीर राम्रो नृत्य गर्दथे । अलि चकचके स्वभावका उनी आमाको सारी, फरिया, चुरा लगाएर नृत्य गर्दथे । गीत गाउन कविता वाचन राम्रो गर्दथे । काम गर्न अल्छी गर्दैनथे । धान रोप्न, मकै गोड्न महिलाले सक्दैनथे । झूटो बोल्दैनथे । २०७५ मा सम्पन्न बागमती गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा पनि उत्कृष्ट भएका थिए । सुकबहादुर भन्छन्, ‘छोराको स्वभाव देखेर उत्कृष्ट कलाकार बनाउन जग्गा बेचेर भए पनि पढाउने सपना थियो । सबै चकनाचुर भयो ।’


सुकबहादुर दम्पती किसान वर्गका हुन् । उनीहरूको ५ रोपनी पाखो बारी छ । अरूको खेतबारीमा हलो जोतेर र दुध बेचेर भएको आम्दानीबाट घरपरिवार चलाउँदै आइरहेका छन् । सुकबहादुरको ३ वर्षअघि घाँस काट्न जादा भीरबाट लडेर ३ वटा करङ भाँचेको थियो । अस्पतालमा उपचार गराएर ठीक त भए । तर, पहिला जस्तो राम्रोसँग काम गर्न नसक्ने भएका छन् ।


अहिले सुत्दा र उडा छाती दुख्छ उनको । उनी सुनाउँछन्, ‘ठूलो छोराले कान्छोलाई जिस्काइरहन्थे । तैपनि कान्छाले ठूलोलाई कहिले पनि ठूलो स्वरले बोल्दैन्थ्यो । कहिलेकाहीँ ख्यालख्यालमा सामान्य झगडा गर्दा पनि कान्छोले जित्थे । अहिले जुन बेला सहराको आवश्यक पर्‍यो त्यही बेला टुट्यो ।’


घटना दुईतले घरको भुइँतलामा घटेको थियो । सुसाइट नोट शवनजिकै कापीको बीच भागबाट उप्काएको पानामा लेखेर ढुंगाले थिचेर राखेको अवस्थामा भेटिएको थियो । नोटमा ‘मेरो नाम समीर लुङवा हो । म कक्षा पाँचमा पढ्छु । मेरो रोल नम्बर पाँच हो । म आज केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु । मलाई कसैले माया गर्दैन । कक्षामा केटीहरूलाई नपिट्ने र केटाहरूलाई पिट्ने र घरमा पनि मलाई दाइभाउजूले हेला गर्ने, कोही सरमिस त नहुने । म तिनीहरूको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सर । म बिरामी हुँदा मलाई बिरामी भएको छैन भने । म अब यति भनेर बिदा गर्दछु । म ११ वर्षको भएँ । मेरो जन्मेको महिना कात्तिक चौध गते । म यो संसार छोडेर जाँदै छु ।’


परिवारका अनुसार समीर जेठमा ज्वरोले ३ दिन थलो परेका थिए । नसकिनसकी विद्यालय पनि गएका थिए । सुकबहादुर भन्छन्, ‘छोराले बिरामी हुँदा पनि शिक्षकले बिरामी नभएको भनेको कुरा नोटमा लेखेका छन् । यसले शिक्षकशिक्षिकाबाट भएको हेला सहन नसकेर आत्महत्या गरेको देखिन्छ । प्रहरीले यसबारेमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही चलाउनुपर्‍यो ।’


माल्टाका पूर्वगाविस अध्यक्ष चन्द्रबहादुर दर्लामीले पनि समीरले लेखेको नोटले विद्यालयको हेलाले गर्दा आत्महत्या गरेको देखिने बताए । ‘विद्यालयको कमजोरी देखिन्छ,’ उनले भने, ‘अभिभावक भेला नगरेको पनि ३ वर्ष बित्यो ।’


कालीदेवी माविका प्रिन्सिपल कुमार चौलागार्इंले अनुसन्धान गर्ने क्रममा दोषी फेला परेमा कारबाहीका लागि सिफारिस गरिने बताए । ‘घटनापछि विद्यालयमा पुग्न पाएको छैन । समीरका कक्षाका साथीहरूसँग सोधपुछ गरेर उनलाई शिक्षकशिक्षकाले पिट्ने गरेको छ/छैनबारेमा जानकारी लिनेछु,’ उनले भने, ‘समीर विद्यालयमा राम्रो विद्यार्थी थिए । समीरका दाइ कमल पसल गए पैसा फिर्ता नल्याउने । पैसा गन्न नजान्ने । घरबाट कहिले ६/७ दिन बेपत्ता हुने । अरूको घरमा गएर १०/१२ दिनसम्म बस्ने, बोलेको कुरा नसम्झिनेजस्ता अनौठो स्वभावका थिए ।’


‘तर, दाइभाइबीच झगडा गर्‍यो भनेर ठूलो स्वरले सुन्न पाएको छैन । समीर घरमा मात्र नभई छिमेकमा समेत ठूलो स्वरले बोलेको थाहा छैन,’ उनका छिमेकी गंगामाया स्याङतानले बताइन् । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले घटनाबारेमा अनुसन्धान भइरहेको बताए । ‘शिक्षकशिक्षकाको बयान लिइसकेका छौँ । पोस्टमार्टम रिपोट आउन बाँकी छ,’ उनले भने, ‘सुसाइट नोट सही हो/होइन जाँच गर्ने क्रममा छौँ ।’

प्रकाशित : असार ११, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?