कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

डेढ लाख पुस्तकका पाठक ५ जना

सम्राज्ञी भण्डारी

काठमाडौँ — भूकम्पले ललितपुरस्थित नेपाल राष्ट्रिय पुस्तकालयको भवन भत्किएपछि डेढ लाख पुुस्तक राख्ने ठाउँ अभाव भयो । पुस्तक ४ वर्षदेखि बन्द कोठामा थन्किए । पहिले दैनिकजसो अध्ययन गर्न आउने पाठक पनि घटे । १५ बाट एकै पटक ५ मा झरे । 

भूकम्पपछि यहाँका ५१ हजार थान पुस्तक महिन्द्र भवन उच्च मावि सानो गौचरन नक्सालमा सारियो । २२ हजार थान पुस्तक भने सानोठिमीस्थित शैक्षिक जनशक्ति तालिम केन्द्रमा लगेर संरक्षण गरिएको छ । बालबालिकासम्बन्धी १० हजार र अन्य २० हजार प्रति यसै पुस्तकालयको बालबालिका शाखामा राखिएको छ ।


त्यसैले बाँकी पुस्तक अध्ययन गर्न आउनेहरू घटेको पुस्तकालयसम्बद्ध अधिकारी बताउँछन् । किताबमा कीरा लाग्न नदिन सातामा एकपटक पुस्तकमा विषादी छरिँदै आएको पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले बताए । ‘सबैलाई राष्ट्रिय पुस्तकालयको गेटमा आउनेबित्तिकै गौरवानुभूति हुनुपर्ने हो । पुस्तकालयको हालत भने यस्तो छ,’ उनले भने, ‘मेरै कार्यकालमा पुस्तकालयका लागि अन्तर्राष्ट्रियस्तरको भवन बनाउँछु ।’ जमलमा रहेको सात रोपनी बराबरको सरकारी जग्गामा दोहोरो पार्किङसहित राष्ट्रिय पुस्तकालय बनाउने उनले बताए ।


बालबालिकादेखि ९० वर्षका वृद्धवृद्धासम्मका पाठक पुस्तकालयमा आउने गरेको पुस्तकालयमा कार्यरत वसन्तराज पन्तको भनाइ छ । शान्त वातावरणका कारण कतिपयले घरबाटै पाठ्य सामग्री ल्याएर पनि यहाँ अध्ययन गर्ने गरेका छन् ।


२०१३ सालमा पण्डित हेमराज पाण्डेका निजी संकलन र सिंहदरबारभित्र रहेको केन्द्रीय सचिवालयको सिक्री ढोका पुस्तकालयका पुस्तक समेटेर राष्ट्रिय पुस्तकालय स्थापना भएको हो । यहाँ साधारण, दर्शनशास्त्र, सामाजिकशास्त्र, भाषा, विज्ञान, प्रविधि, आर्ट, धार्मिक, साहित्यिक, इतिहास तथा भूगोल विषयका पुस्तक छन् । ३ सय वर्ष पुराना पौराणिक ग्रन्थदेखि समसामयिक विषयको पुस्तकसमेत यहाँ उपलब्ध छन् ।

प्रकाशित : असार ११, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?