कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नगरपालिकाको जोड सम्पदा र शिक्षामा

भक्तपुर — जिल्लाको तीन नगरपालिकाले सम्पदा संरक्षण, विकास निर्माण, शिक्षासहितका क्षेत्रलाई प्राथमिकता दिएका छन् । भक्तपुर र सूर्यविनायक नगरपालिकाले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । 

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि शिक्षा, स्वास्थ्य, सम्पदा र संस्कृति संरक्षणको क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ भने चाँगुनारायण नगरपालिकाले शिक्षा तथा नगरको आयस्रोतलाई प्राथमिकतामा राखेको छ ।


आगामी आर्थिक वर्षका लागि सूर्यविनायक नगरपालिकाले विकास निर्माणलाई पहिलो प्राथमिकतामा पारेको छ । भक्तपुर नगर प्रमुख सुनील प्रजापतीले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकता दिइएको हो ।


भक्तपुरले शिक्षा शीर्षकमा १६ वटा नीति तथा कार्यक्रम अघि सारेको छ । आफू मातहत सञ्चालन हुँदै आएको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज सहित सात वटा शैक्षिक संस्थाहरूमा विद्यार्थीको माग र समयको आवश्यकता अनुसार नयाँ विषयहरू थपिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।


लामो समयदेखि संसद्मा विचाराधीन ख्वपः विश्वविद्यालय विधेयक अगाडि बढाउन निरन्तर पहल गर्ने, जनज्योति पुस्तकालयलाई राष्ट्रियस्तरको पुस्तकालयको रूपमा विकास गर्न ई–लाइब्रेरीको व्यवस्था गर्ने, स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म लागू गर्नेलगायतलाई प्राथमिकतामा राखेको छ ।


नगरपालिकाले सहुलियतमा पाँच लाखसम्म शैक्षिक ऋण उपलब्ध गराउने कार्यको थालनी गरेको र त्यसलाई निरन्तरता दिने जानकारी दिएको छ । नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने योग्य र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई प्रमाणपत्र धितोमा राखी पाँच लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने कार्य थालनी गरेको छ ।


आर्थिक वर्ष ०७६/७७ को नगरपालिकाको नीति तथा कार्यक्रममा चिकित्सा शास्त्रअन्तर्गत विभिन्न विषयमा एमडी वा सो सरह स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीमध्ये दुई जनालाई छात्रवृत्ति दिने व्यवस्था मिलाइएको छ । छात्रवृत्ति पाउने चिकित्सकले भने भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गर्ने ख्वप अस्पतालमा कम्तीमा पाँच वर्ष पूर्णकालीन सेवा गर्नुपर्ने सर्त राखिएको छ ।


नगरपालिकाले क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा मस्तिष्कघातजस्ता कडा रोग लागेका नगरवासीलाई नगरपालिकाका तर्फबाट प्रतिव्यक्ति १० हजारका दरले उपचार सहयोग रकम प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नगरपालिकाले शिक्षा, संस्कृति, स्वास्थ्य, विकास निर्माण, खेलकुद, बजार अनुगमन, कृषि, पर्यटन, युवा तथा महिला लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।


त्यस्तै, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सडक तथा यातायात, भवन निर्माण, सिँचाइ, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी सरसफाइ, संस्कृति प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन, जलउत्पन्न प्रकोप तथा विपत् व्यवस्थापन लगायतलाई प्राथमिकतामा राखेको छ ।


नगरपालिकाले वडा कार्यालयबाट राजमार्ग जोडिएको सडक, वडा कार्यालयबाट नगरपालिका जोड्ने सडक, प्रस्तावित भक्तपुर चक्रपथ सडक र पर्यटन पूर्वाधार सडकलाई मुख्य योजनामा राखेको छ । नगरक्षेत्रभित्र राष्ट्रिय भू–उपयोग नीति तथा भवन निर्माण आचारसंहिताअनुसार आवास निर्माण गरी व्यवस्थित सहर निर्माणका लागि आवासीय भवन, व्यावसायिक भवन, सामुदायिक भवन र सरकारी भवनमा वर्गीकरण गरी निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


नगरक्षेत्रभित्र रहेका खुला क्षेत्रहरूको वर्गीकरण गरिने र आवास तथा बस्ती विकासका लागि छुट्याइएका क्षेत्रहरूमा निजीक्षेत्र तथा नगरपालिकाको संयुक्त पहलमा जग्गा एकीकरण आयोजनाहरू पहिचान गरी सञ्चालन, व्यवस्थापन गर्ने नीति लिएको नगरप्रमुख थापाले बताए । नगरपालिकाको स्वीकृतिबिना नगरक्षेत्रमा जग्गाजमिन सम्याउने, भू–संरचना बिगार्ने वा जमिन खण्डीकरण गर्ने कार्य पूर्णरूपमा निधेष गरिने उनले बताए ।


त्यसैगरी, चाँगुनारायण नगरपालिकाले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि २५ वर्षे सेवा अवधि पुगेका ५० वर्ष उमेर नाघेका शिक्षकले आगामी आर्थिक वर्ष साउन मसान्तभित्र स्वेच्छिक अवकाश लिन चाहेमा नगरका तर्फबाट प्रत्त्वियक्ति १ लाख रुपैयाँ थप उपदानको व्यवस्था गर्ने कार्यक्रम अघि सारेको छ ।


क्यान्सर, मुटुरोग, मृगौलाजस्ता गम्भीर प्रकृतिका रोगको उपचारका लागि फ्रत्त्वियति १० हजार रुपैयाँ सहयोग गर्ने र चालू आर्थिक वर्षमा ८६ जनाले सुविधा प्राप्त गरिसकेको जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?