कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महालक्ष्मी नगरपालिका : नीति तथा कार्यक्रम पोहोरकै

ललितपुर — प्राचीन लुभु बस्तीस्थित गंगामहारानी दरबार चारैतिर पोखरीले घेरिएका छन् । मूलपीठमा ३ मूल पोखरी छन् । यी पोखरीमा पानी जम्मा भएपछि सिपेज भएर बस्तीका इनार, ढुंगेधारा, पोखरीमा रिचार्ज हुन्छ । 

जात्रापर्व तथा ठूला योजना सुरु गर्नुअघि पोखरीमा देः (देश) पूजा गर्ने चलन छ । अहिले यी पुरातात्त्विक धार्मिक महत्त्वका पोखरी चौरमा परिणत भइसकेका छन् । पोखरी भर्न पानी ल्याउने राजकुलोको बाँध भत्केको दुई दशक बढी बितिसक्यो । अहिलेसम्म मर्मत गर्न सकेको छैन ।


महालक्ष्मी नगरपालिकाले भने प्रत्येक वर्ष पोखरी, इनार, ढुंगेधारा संरक्षण गर्ने नीति तथा कार्यक्रममा छुटाउने गरेको छैन । गत वर्षझैं यस वर्ष सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जल सम्पदा संरक्षण गर्ने भनी सोही वाक्य दोहोराइएको छ । साविक लुभु गाविसका अध्यक्ष चन्द्रबहादुर बज्राचार्य भन्छन्, ‘नीति तथा कार्यक्रम अपडेटसहितको आउनुपर्ने हो । तर, अधिकांश बुँदाजस्ताको तस्तै उतारिएको देखिन्छ । जुन लजास्पद कुरो हो ।’


उनका अनुसार बस्तीका अधिकांश पोखरी मिचिएका छन् । जोखिम मोलेर कसैले पनि सिमांकन गर्न चाहेनन् । पोखरी नाश भएदेखि इनार, ढुंगेधारा सुक्न थालेका हुन् । ‘बस्तीमा कम्तीमा ३ ठूला र साना पोखरी हुन्छन्,’ उनले भने, ‘सरसफाइ गरेर टेन्डर गर्न सकेमा राजस्व भित्रिने मात्र नभई लुभुवासीलाई माछा खान भारतबाट आयात गर्न पर्दैन । तर, यसतर्फ कसैले चासो दिएनन् ।’


लुभुको सबभन्दा ठूलो इनार तगः तुः टोलमा छ । बस्तीको बीचमा पर्ने इनारमा पानी आउँछ । तर, प्रयोग गर्न योग्य छैन । चक्का राखेर सेफ्टी ट्यांकी बनाएकाले निकास सोसेर इनारमा आउने गरेको स्थानीयबासी बताउँछन् ।

भागवती लाछी, चौतारा, घाफल टोलको ढुंगेधारामा पानी सुकिसकेका छन् ।


लुभु क्याम्पस भवन नजिकै परम्परागत इँटाका गारो लगाएका २ वटा पँधेरो छ । यो पनि पुरि सकेको छ । यहाँ कुनै बेला लुभु–लामाटार–लाकुरी भञ्ज्याङ हुँदै काभ्रे पनौती पुग्ने यात्रुले प्यास मेटाउँथे । नगरपालिकाले भने प्रत्येक वर्ष कुवा, ढुंगेधारा र इनारको मुहान संरक्षण गरी अन्डरग्राउन्ड रिचार्ज गर्न पोखरी निर्माण गर्ने योजना सार्वजनिक गर्छ ।


तर, कार्यान्वयन भने हुँदैन । यस वर्ष सार्वजनिक गरेको अधिकांश नीति तथा कार्यक्रम कुवा संरक्षण गर्ने भनी गत वर्षकै वाक्य दोहोर्‍याइएको छ । पोखरी, ढुंगेधारा, इनार संरक्षण गर्ने वाक्य मात्र नभई अधिकांश बुँदा जस्ताको तस्तै हुबहु राखिएको छ । यस वर्ष सार्वजनिक गरेको कार्यक्रमलाई मिति मात्र परिवर्तन गरिएको छ ।


सार्वजनिक सेवा तथा सुशासनअन्तर्गत राखिएका १९ वटा बुँदा जस्ताको तस्तै राखिएका छन् । स्वास्थ्य तथा सरसफाइअन्तर्गत राखिएका ११ वटा बुँदा, खानेपानीअन्तर्गतका ५, भौतिक पूर्वाधार तथा यातायातअन्तर्गत १६, आर्थिक विकासअन्तर्गतका १३ बुँदा हुबहु राखिएका छन् ।


कृषि, सिँचाइ तथा पशुपालन, वातावरण, विपद् व्यवस्थापन र वैकल्पिक ऊर्जा, कला, संस्कृति र पर्यटन, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा रोजगारका अधिकांश बुँदा पनि उस्तै छन् । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले इनार, ढुंगेधारा, पोखरी संरक्षण गर्न म्यापिङ भइरहेको दाबी गरे ।


‘राजकुलो मिचेको ठाउँमा सानो र नमिचेको ठाउँमा जस्ताको तस्तै बनाउने योजना छ,’ उनले भने, ‘राजकुलोका सरसफाइ भइरहेको छ ।’ उनले नीति तथा कार्यक्रम दोहोरिनु स्वाभाविक भएको बताए ।

प्रकाशित : असार १०, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?