महानगरका योजना : न अध्ययन न कार्यान्वयन

शिल्पा कर्ण

काठमाडौँ — गत वर्ष काठमाडौ महानगरले सडक बत्ती कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्यायो । ‘झिलिमिली काठमाडौं कार्यक्रम’ नाम दिइएको उक्त योजनाले काठमाडौं झिलिमिली हुन सकेन । दोब्बरभन्दा बढी माग र लागत लाग्ने भएपछि उक्त योजना अपूरै भयो ।

त्यस्तै गत वर्ष त्रिपुरेश्वर, कालीमाटी, थापाथली, माइतीघरजस्ता स्थानमा आकासे पुल निर्माण गर्ने योजना नीति तथा कार्यक्रमबाट पारित गरियो । ४ अर्ब ६ करोड भौतिक पूर्वाधार निर्माणतर्फ कुल बजेट रहेकामा पुलका लागि भने १२ करोड छुट्याइयो तर यो विषय पनि पर्याप्त प्राविधिक अध्ययन र छलफल नपुगेको भन्दै महानगर पछि हट्यो ।

यस्ता कैयौं योजनामा महानगरले पर्याप्त प्राविधिक अध्ययनबिनै कार्यक्रम छनोट गर्ने र बजेट निकासा गर्ने पाइएको छ । परिणामस्वरूप कतिपय योजना बीचमै तुहिने, कतिपयले निरन्तरता नपाउने समस्या देखिएको छ । महानगरले यसपटक पारित गरेको नीति तथा कार्यक्रममा गत वर्षका कतिपय योजनाबारे बोलिएको छैन ।

केहीलाई निरन्तरता दिइएको छ भने कुनै रोकिएका छन् । भूकम्पबाट बिग्रेको संरचना पुनर्निर्माण, बाटो विस्तारसहितको काम निर्धारित समयमा पूरा हुन नसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘कतिपय योजना काम गर्दै जाँदा विभिन्नसमस्या झेल्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।

गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको सहरी विकास नीतिअन्तर्गत बुँदा नं. ५३ मा काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनालाई शीघ्र सम्पन्न गर्न विशेष जोड दिइने उल्लेख छ । महानगरले हाल दुई वटा आयोजना सञ्चालनको जिम्मा लिएको छ, मनोहरा र चमती जग्गा एकीकरण आयोजना ।

‘दुवै आयोजनालाई आर्थिक सहयोग गरेका छौं,’ डंगोलले भने, ‘अब ती आयोजना सम्पन्नोन्मुख छन् । अन्तिम चरणमा पुगिसकेको छ ।’ यी आयोजनाका लागि महागनगरले गत आवमा ९८ करोड हाराहारी रुपैयाँ छुट्याएको थियो । सोही शीर्षकअन्तर्गत ५७ नं. बुँदामा ‘झिलिमिली काठमाडौं कार्यक्रम’ (मेयर उज्यालो कार्यक्रम) अन्तर्गत महानगर क्षेत्रभित्रका सडकमा आवश्यक संख्यामा सडक बत्ती जडान गरिने योजना थियो ।

गत वर्ष ५ करोड रुपैयाँ छुट्याइएको थियो तर लागत १२ करोड हाराहारी पुग्ने देखिएपछि यो योजनाअनुसार पनि सबै स्थानमा सडकबत्तीले उज्यालो बनाउन सकिएको छैन । मेयर उज्यालो कार्यक्रमअन्तर्गत १५ हजार स्मार्ट सडक बत्ती जडान गरिनुलाई मेयरले उपलब्धिका रूपमा दर्साएका छन् साथै नीति तथा कार्यक्रमको १०१ नं. बुँदामा मेयर उज्यालो कार्यक्रमलाई निरन्तरता दिइने तथा हाइमास बत्ती जडान गरिने उल्लेख छ ।

‘स्मार्ट सडक बत्ती भन्नाले आधुनिक अद्यावधिक प्रविधिको बत्ती हो । मेयर उज्यालो वा झिलिमिली काठमाडौं कार्यक्रमअन्तर्गत हाई मास बत्ती अर्थात् चौबाटामा चारैतिर उज्यालो हुने किसिमको बत्ती हो,’ प्रवक्ता डंगोलले भने । उनका अनुसार गत वर्ष पनि हाई मास बत्ती जडान गर्ने योजना रहे पनि सकिएको छैन ।

यस्ता बत्तीले एकै स्थानबाट एक किलोमिटरसम्मउज्यालो छर्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७५/७६ मा पूर्वाधार विकास नीति शीर्षकमा नगरसभाबाट उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी तथा कार्यक्रम सञ्चालन गर्न मेगा हल निर्माणका लागि उपयुक्त स्थान पहिचान गरी कार्य अघि बढाइनेछ तर यस सम्बन्धमा पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । प्रवक्ता डंगोलले निर्णय लिन नसके पनि प्राविधिक अध्ययन समाप्त भइसकेको दाबी गरे । उनले भने, ‘२–४ वटा वडामा जग्गाको सर्वेक्षण भइसकेको छ । निर्णयनभएकाले यस विषयमा बोल्न चाहन्नँ ।’

सोही शीर्षकअन्तर्गत ६७ नं. बुँदामा त्रिपुरेश्वर, कालीमाटी, थापाथली, माइतीघरजस्ता स्थानमा आकासे पुल निर्माण गर्ने विषय उठाइएको छ । गत आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ ४ अर्ब ६ करोड विनियोजन गरिएकामा पुल निर्माणका लागि भनेर १२ करोड विनियोजन भएको थियो ।

चावहिल र पुरातत्त्व विभागअगाडि निर्माण गर्ने महानगरले बताएको थियो तर यस विषयमा पर्याप्त प्राविधिक अध्ययन तथा छलफल नपुगेको भन्दै महानगर पछि हटेको थियो । अहिले टेन्डर आहान हुने प्रक्रियामा रहेको महानगरले जनाएको छ । प्रवक्ता डंगोल भन्छन्, ‘सिमेन्ट वा वीर अस्पतालअगाडिरहेको भन्दा हल्का पुल हुनेछन् ।’

गत वर्ष वातावरणसम्बन्धी नीतिमा महानगरले सार्वजनिक स्थानहरूमा पर्याप्त स्मार्ट सार्वजनिक शौचालय तथा इटाइलेट निर्माण गर्ने योजना रहेकामा अध्ययन समितिले महानगरमा आवश्यक शौचालय संख्यासहितको प्रतिवेदन बुझाइसकोको छ ।

साथै कस्ता शौचालय चाहिने हुन्, सो सम्बन्धमा पनि विभिन्न निजी कम्पनीसँग छलफल भएको महानगरका कर्मचारी बताउँछन् तर महानगरभित्र दैनिकी बिताउने र यहाँको कला संस्कृति अवलोकन गर्न तथा समय बिताउन आउने पर्यटकलाई समेत समस्याका रूपमा रहेको शौचालयको समस्या ज्युँकात्युँ छ ।

खानेपानी तथा सरसफाइ नीतिअन्तर्गत महानगरपालिकाले अन्य वर्षझैं यस वर्ष पनि शौचालय निर्माण गरिनेबारे ‘आलंकारिक बुँदा’ छुट्याएको छैन । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन निर्देशिकालाई अन्तिम रूप दिई कार्यान्वयनमा लगिने नीति तथा कार्यक्रममा समावेश छ । हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालय मर्मतसम्भार र स्तरोन्नति गरिनुका साथै प्राथमिकताका आधारमा थप शौचालय निर्माण गरिने महानगरको कार्यक्रम छ ।

मेयर शाक्य आफ्नो उपलब्धिको फेहरिस्तमा शौचालयबारे केही बोलेका छैनन् । यता महानगरका प्रवक्ता डंगोल भने अध्ययन भइरहेको र एकैनासका शौचालय निर्माण गरिने बताउँछन् । ‘शौचालयको भौतिक संरचना एकनास होस् भन्ने चाहेका छौं । हामी आफैंले बनाउनुभन्दा पनि दातृ निकायको सहयोग खोजिरहेका छौं,’ डंगोलले भने ।

प्रकाशित : असार ९, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फोहोरले स्थानीयमा त्रास

शिल्पा कर्ण

काठमाडौँ — दक्षिणकाली–१ चाल्नाखेल दक्षिणकाली जाने सडक छेउमै छ ध्रुव तामाङको घर । उनको बारी मुख्य सडकबाट झन्डै ५ सय मिटर पर छ । त्यहीँ बारीमुनि नगरपालिकाले फोहोर संकलन गरेर फाल्न थालेको छ । उनीहरूलाई बस्ती र बारी नजिकै फोहोर फाल्दा रोग फैलिने त्रास बढेको छ । 

‘सुरुमा प्रशोधन केन्द्र खोल्ने भनेको थियो । अहिलेसम्म १२ टिप जति फोहोर फालिसकिएको छ,’ तामाङले भने, ‘गाउँले, हामीले भोट दिएको मान्छेले उल्टै हामीलाई नै दु:ख दिन लागेजस्तो लागेको छ ।’ खेतबारीमा गर्न गइरहनुपर्ने तर अहिल्यै चिल कागका हुल आउन थालेको उनले बताए । दक्षिणकाली नगरपालिकाकी उपमेयर वसन्ती डंगोल तामाङको घर पनि त्यही वडामा पर्छ । उनकै आफन्तको जग्गा भाडामा लिएर फोहोर फाल्न थालिएपछि वरपर खेत र घर हुनेहरू समस्यामा परेका छन् । फोहोर फाल्न नहुने उनीहरूको तर्क छ ।

‘त्यहाँ धान रोप्ने, मकै गोड्ने र अन्य बाली लगाउँछौं,’ स्थानीय सरोज खडकाले भने । स्थानीयसँगको छलफल अनुसार साउन १ देखि सबै व्यवस्था मिलाएर मात्र फाल्ने भनियो, तर हिजोआज नै दिनको १/२ टिप ल्याएर फाल्ने गरिएको छ ।’ दुई साता अघि वडाका बासिन्दासँग नगरपालिकाले छलफल गर्दा वडावासीलाई असर नपर्ने गरी र दुर्गन्ध नआउने गरी औषधि छर्केर त्यो ठाउँ सफा राख्ने भनिए तापनि त्यसो नभएको उनी गुनासो गर्छन् ।

स्थानीय युवाले विरोध गरेपछि उक्त स्थानमा सोमबार प्रहरी परिचालन गरेर फोहोर फालियो । फोहोर छुट्याएर ल्याउने र औषधि छरिने पनि नगरिएको उनले बताए । फोहोर नछोप्दा झिँगा बढेको र कागजस्ता चराचुरुंगीलेफोहोर यताउति फाल्दिने गरेको उनले सुनाए । फोहोर फाल्न थालेपछि त्यस क्षेत्रमा गन्धका आउन थालेको स्थानीय बताउँछन् । यस अघि नगरपालिकाको फोहोर अन्य स्थानीय तहझैं टेकुमा राखेर नुवाकोटको ओखरपौवामा व्यवस्थापन हुँदै आएको थियो । अवरोधका कारणले त्यहाँ पनि प्रत्यक्ष प्रभाव पर्ने भएपछि नगरभित्रै विकल्प खोजिएको नगरपालिकाको भनाइ छ । वडा अध्यक्ष जय थापामगरले वडासँग समन्वय गरे पनि छलफलअनुसार काम नभएको बताए । ‘फोहोर छुट्याएर पुनर्प्रयोग गर्न नमिल्नेलाई अर्कै ठाउँमा व्यवस्थापन गरिने भनिएको थियो,’ वडाध्यक्ष मगरले भने, ‘तर त्यो भएन । फोहोर प्रशोधन केन्द्र खोल्न पनि त मापदण्ड हुन्छ । त्यसलाई बेवास्ता गर्दै बस्ती र उब्जाउ खेतमा फोहोर फाल्न पाइएन नि ।’

तर वातवरण तथा सरसफाइ शाखाका प्रमुख दीपक केसी भने त्यो जग्गा खोज्न उपमेयर वसन्ती डंगाल तामाङले समन्वय गरेको बताए । उनले जग्गा वार्षिक डेढ लाख रुपैयाँका दरले नगरपालिकाले भाडामा लिएको सुनाए । हाल ४ जनालाई फोहोर टिप्ने काम दिइएको केसीको भनाइ छ । निश्चित अध्ययन वा सर्वेक्षण नभए पनि फोहोर छान्ने जिम्मा दिइएको उनी बताउँछन् । उनका अनुसार बेच्न मिल्ने सामान बेचेर नगरपालिकाले आय लिने, बाँकी फोहोर कम्पोस्ट मल बनाउने नगरको योजना छ ।

‘मान्छेको मानसिकता फोहोरले रोग ल्याउँछ, गन्हाउँछ । तर त्यसो होइन,’ उनी भन्छन्, ‘त्यहाँका जनता उपत्यभरिकै फोहोर बोकेर आउने वाग्मतीको पानीले पीडित छन् ।’

प्रकाशित : असार ७, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×