१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महानगरका महत्त्वाकांक्षी योजना : सम्पदा संरक्षण वर्ष घोषणा

शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आउँदो वर्षलाई सम्पदा संरक्षण वर्ष घोषणा गर्दै महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममार्फत काठमाडौंका ऐतिहासिक र पुरातात्त्विक भवनलाई नगर कला संग्रहालयमा रूपान्तरण गर्ने, ज्येष्ठ नागरिक अस्पताल बनाउनेलगायत कार्यक्रम ल्याएका हुन् । 

महानगरका महत्त्वाकांक्षी योजना : सम्पदा संरक्षण वर्ष घोषणा

महानगरले आगामी वर्ष विभिन्न व्यक्तित्वका नामबाट प्रतिष्ठान, पार्क र पुरस्कार स्थापना गर्ने भएको छ । प्रमुख शाक्यले आगामी वर्षलाई ‘सम्पदा संरक्षण तथा सम्वर्द्धन र पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास वर्ष’ का रूपमा लिएको बताए ।

महानगरपालिकाले स्वास्थ्य तथा पोषण नीतिअन्तर्गत ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ खोल्ने योजना अघि सारेका छन् । प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा अस्पतालले वृद्धावस्थामा हुने रोगहरूको समयमै निदान तथा उपचार गर्ने उद्देश्य बोकेको छ । सँगै मनमोहन अधिकारी ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

निमोनिया तथा अन्य संक्रमणको रोकथामका लागि यो कार्यक्रम सञ्चालन हुने मेयर शाक्यले जानकारी दिए । नगरसभाबाट आफ्नो नीति तथा कार्यक्रम बिहीबार पास गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच शाक्यले आगामी आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम नगरसभासमक्ष सार्वजनिक गरेका थिए ।

महिला, बालबालिका, किशोरकिशोरी, ज्येष्ठ नागरिक, अपांगता तथा समाज कल्याण नीतिमा पनि सहिदको नामबाट आश्रम खोल्ने नीति लिइएको छ । सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रमलाई आवश्यक भौतिक पूर्वाधारमा महानगरले सहयोग गर्ने भएको छ । मानवसेवा आश्रमले बनाउन लागेको उक्त आश्रममा सडकमा बस्दै आएका मानिस तथा बालबालिका लाभान्वित हुने महानगरको भनाइ छ ।

महानगरभित्रका पुरातात्त्विक तथा ऐतिहासिक भवनलाई ‘सिटी आर्टस म्युजियम’ मा रूपान्तरण गर्ने र अध्ययन तथा पर्यटनका लागि खुला गर्ने नीति छ । त्रिपुरेश्वरदेखि टेकुसम्मका वाग्मती किनारलाई हुताराम वैद्य स्मृति पैदलमार्गको रूपमा विकास गरिनुका साथै टेकुदेखि विष्णुमतीसम्मको मार्गलाई श्रीभगवान्दास मानन्धर स्मृति स्थलका रूपमा विकास गर्ने महानगरले जनाएको छ । साथै महानगरस्तरीय जातीय तथा सांस्कृतिक संग्रहालय निर्माण कार्य पनि यसै वर्ष अगाडि बढाइनेछ ।

‘मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ आयोजना गर्ने योजना रहेको बताइएको छ । साथै ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ पनि यसै वर्षबाट दिन लागिएको छ । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समर्पित व्यक्तित्वलाई यो सम्मान दिइने छ ।

महानगर साहित्य पुरस्कार अब हरेक वर्ष प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाल भाषा र नेपाली भाषा प्रवर्द्धनका निम्ति योगदान दिएकाहरूले यो पुरस्कार पाउने छन् । सहिदहरू दशरथ चन्द र गंगालाल श्रेष्ठको पूर्णकदको सालिक शोभा भगवतीमा राखिने योजना छ ।

युवा तथा खेलकुद नीतिअन्तर्गत अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा १० युवा पुरस्कृत हुने छन् । महानगर आदर्श युवा पुरस्कार प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै सहरी सुशासनको पक्षमा कार्यरत १० पत्रकारले पनि यसअघिझैं महानगरीय सुशासन पत्रकार पुरस्कार पाउने छन् ।

महानगरभित्रैका संरचनामा अध्ययन तथा अनुसन्धान गर्न ‘काठमाडौं सिटी प्लानिङ एन्ड रिसर्च इन्स्टिच्युट’ स्थापना गर्ने शाक्यको भनाइ छ । उनका अनुसार स्वदेशी तथा विदेशी शोधकर्तालाई राजधानीको कला, संस्कृति, सामाजिक, आर्थिक, वातावरणीयजस्ता विषयमा अध्ययन गर्न आउनेलाई यसमा समावेश गरिने छ ।

उनले ‘मेयर रिसर्च फेलोसिप’ पनि स्थापना गरिने बताए । उनले भने, ‘यस कार्यक्रमअन्तर्गत विभिन्न विश्वविद्यालय, कलेज, अध्ययन संस्था आदिसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नसिप वा फेलोसिप प्रदान गरिने छ ।’ यसबाट प्राप्त निष्कर्ष तथा प्रतिवेदन प्रकाशनसमेत गर्ने व्यवस्था रहने शाक्यले बताएका छन् ।

महानगरपालिकाले पर्यटनतर्फ ‘काठमाडौं भिजन २१००’ नारा दिएर दिगो र एकीकृत विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरण गरी टुलकिट, म्यानुअल मापदण्ड तयार गरि जारी गर्ने नीति लिएको छ । ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत यस वर्ष पनि अघिझैं सडक बत्ती जडान गर्ने कार्यक्रम छ ।

मेयर शाक्यले ‘समृद्धिका लागि सहकारी अभियान’ मार्फत साना व्यवसाय, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर तथा महिलालाई सहकारीसँग आबद्ध गराइ आत्मनिर्भर बनाउने बताए । यसैगरी आगामी वर्ष महानगरस्तरीय एकीकृत सिप विकास प्रतिष्ठान गठन गर्न आवश्यक अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । जसमा विभिन्न क्षेत्रमा आवश्यक भएअनुसारको सिपयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार प्रतिष्ठान सञ्चालन हुने छ ।

यसले रोजगारीका अवसर खोल्ने र दक्ष जनशक्ति उत्पादन हुने मेयर शाक्यले बताएका छन् । साथै प्रविधिका क्षेत्रमा युवा आकर्षण अझ बढाउने उद्देश्यले काठमाडौं हब वा के–हब स्थापना गरी नवीन सोच प्रोत्साहन गर्ने र युवालाई प्रविधिको व्यवसायीकरण गर्न आवश्यक परामर्श एकद्वारबाट उपलब्ध गराइनेछ । ‘प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, समृद्ध महानगर निर्माणको आधार’ नारासहित आगामी दुई वर्षभित्र महानगरपालिकामा प्राविधिक विद्यालय सञ्चालन गर्नुका साथै माध्यमिक विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशाला स्थापनाका लागि कार्य गरिने मेयर शाक्यले बताए ।

सामुदायिक विद्यालयमा आधारभूत र माध्यमिक तहमा उत्कृष्ट हुन सफल ३/३ वटा विद्यालयलाई प्रत्येक वर्ष शिक्षा ऐनअनुसार नै महानगर उत्कृष्ट शिक्षा पुरस्कार प्रदान गरिने छ । साथै बौद्ध परियति शिक्षा (नैतिक शिक्षा) पनि हरेक विद्यालयमा दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरअन्तर्गतको मेट्रो एफएमलाई अब निजी साझेदारी कार्यक्रमअन्तर्गत ल्याई प्रतिस्पर्धी र गुणस्तरीयता वृद्धि गरिने छ । साथै महानगरपालिकाले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउन लागेको छ । सुरक्षित भवन निर्माण गर्ने उद्देश्यका साथ दुई वा बढी जग्गाधनीले एउटै आवासीय भवन बनाउन चाहेमा नक्सापास दस्तुर केवल १० प्रतिशत लाग्ने छ । यसै वर्षदेखि बहालमा बस्ने सबैले सम्झौता गर्नुपर्ने नीतिमा उल्लेख छ ।

प्रकाशित : असार ६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?