कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुठी विधेयकविरुद्ध भव्य खबरदारी

गुठी संरक्षणका लागि सडकमा आउादा हामीलाई सामन्तवादी देख्ने ? बरू तपाईंले ल्याएको विधेयकको पाना–पानामा हामी मार्सी भात र दफा–दफामा होली वाइन देख्छौं –नरेश ताम्राकार, अध्यक्ष, नेवाः देय दबू
दामोदर न्यौपाने

काठमाडौँ — चौतर्फी दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट बुधबार गुठियार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् लगायतले माइतीघर मण्डलमा खबरदारीसभा गरेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट उर्लिएका हजारौं मानिसले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरे । 

गुठी विधेयकविरुद्ध भव्य खबरदारी

सभामा वक्ताहरूले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास सरकारबाट भएकाले विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । ‘गुठी परम्परालाई ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा तपाईंहरू हामीलाई भाडाका मान्छे देख्नुहुन्छ । उक्साहटमा आएको भन्नुहुन्छ । सामन्तवादी देख्नुहुन्छ,’ खबरदारी सभामा नेवाः देय दवुका अध्यक्ष नरेश ताम्राकारले भने, ‘हामीचाहिँ तपार्इंले ल्याएको विधेयकको पाना–पानामा मार्सी भात देख्छौं । दफा–दफामा होली वाइन देख्छौं ।’


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सभाबाट मंगलबार विधेयक फिर्ता लिएकी थिइन् । अर्यालले फिर्ता लिएको केही बेरपछि प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गरेर विधेयकमा भएको कुरालाई भ्रमपूर्ण ढंगले उचालेर प्रचार गरिएको टिप्पणी गरेका थिए ।


‘प्रधानमन्त्री उल्टै गुठियारप्रति आक्रामक भएका छन् । यो विधेयक फिर्ता लिएको भनेर अर्को षड्यन्त्र गरिएको छ,’ ज्यापू महागुठीका अध्यक्ष राजभाइ जकमीले भने, ‘नेवारलाई कुनै जातिको पुच्छर भनेर आरोप लगाउँछन् । हामी कसैको पुच्छर होइनौं । हामी तीन सहिदका सन्तान हौं । गणेशमान सिंह, पुष्पलालजस्ता योद्धाका सन्तान हौं ।’ गुठी सुरक्षित भएको प्रत्याभूति नभएसम्म आन्दोलन नरोकिने उनले बताए । ‘विधेयक खारेज गरेर गुठी सुरक्षित हुने वातावरण सरकारले निर्माण गर्नुपर्छ,’ उनले भने, ‘नत्र हामी छाड्दैनौं ।’


मानव अधिकारवादी नेता मल्ल के सुन्दरले केन्द्रीय प्रशासनमा नेवारको उपस्थिति प्रभावकारी नभएकाले राज्यले नेवार समुदायविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको बताए । ‘शाहकालदेखि राणाकाल हुँदै गणतन्त्रसम्ममा नेवार शासनमा नहुनुको फाइदा राज्यले उठाएको हो,’ उनले भने, ‘काठमाडौंमा नेवार राज्य नभएसम्म यस्तो षड्यन्त्र भइरहन्छ । नेवारको अधिकार रहँदैन ।’


गुठी विधेयक प्रतिरोध कार्यक्रमका संयोजक महेशमान प्रधानले नेवार समुदायको भूमिमाथिको अधिकारलाई वञ्चित गर्दै पहिचान समाप्त पार्ने नियतले विधेयक ल्याइएको बताए । ‘कहिले सडक विस्तार त कहिले विकास निर्माण भन्दै नेवार भूमिमाथि आक्रमण जारी छ,’ उनले भने, ‘नेवार जातिको आधारशिलाका रूपमा रहेको गुठीलाई समाप्त गरियो भने पहिचानको आन्दोलन नै समाप्त पार्न सकिने देखेर सरकारले यो विधेयक अगाडि ल्याएको हो ।’


तीन मन्त्रीको राजीनामा माग

खबरदारी सभामा अधिकांश वक्ताले तीन मन्त्रीको राजीनामा माग गरे । गुठी विधेयक संसद्मा दर्ता गराउने मन्त्री अर्याल, विधेयकको विरोधमा सडकमा आएका गुठियार, अभियन्तामाथि दमन गर्ने गृहमन्त्री रामबहादुर थापा र गुठीलाई सामन्त भन्ने सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा उनीहरूले मागेका हुन् ।


काठमाडौं सडक विस्तार संघर्ष समितिका संयोजक सुमन सायमी, राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ, अभियन्ता शैलेश शाक्य, सेभ नेपा भ्यालीका सुरज महर्जन, राजाराम तन्डुकार, यादवलाल कायस्थले मन्त्रीलाई तत्काल राजीनामा दिन माग राखे । तन्डुकारले भने, ‘प्रधानमन्त्रीले जोक गरेजस्तै हेपेर विधेयक ल्याउनुभयो । गुठी नबुझी तपाईं मर्नुभयो भने तपाईंको जीवन खेर गएजस्तो हुन्छ । गुठी बुझ्नुस् । यहाँभित्रका विशाल सांस्कृतिक पक्ष बुझ्नुस् ।’ पहिचानको लडाइँमा लाग्नेहरूको एकता भाँड्न सरकार लागेको तर त्यो सफल नहुने उनले बताए ।


अत्याचारविरुद्ध लड्न शपथ

खबरदारी सभामा सहभागीले सम्पदामाथिको आक्रमण, माफिया, भ्रष्टाचारलगायत बेथितिविरुद्ध लड्न सामूहिक शपथ खाएका छन् । अभियन्ता अनिश वैद्यले ‘आत्मसम्मानका लागि जोसुकैविरुद्ध लड्नुपरे पनि, जोसुकैविरुद्ध बोल्नुपरे पनि आफ्नो सामर्थ्यले भ्याएसम्म साथ दिन्छु’ भनेर सभामा सहभागीलाई शपथ खुवाएका थिए ।


‘यो जनता एकजुट भए भने देशलाई खोक्रो बनाउने एउटा कुनामा बसेर रुनुपर्छ,’ वैद्यले भने, ‘दलाल सरकारले मातृभूमिविरुद्ध गरेको षड्यन्त्र हो यो । देशको पहिचान मेटाउने षड्यन्त्रविरुद्ध हामी एक हुने छौं ।’ सभामा नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठ, गायक योगेश्वर अमात्य, हरिश माथेमा, प्रकाशचरण श्रेष्ठ, प्रवेशमान शाक्य, न्ह्यु बज्राचार्यलगायतले ऐक्यबद्धता जनाएका थिए । प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, जनजाति नेता लक्ष्मण थारूलगायतले पनि ऐक्यबद्धता जनाएका थिए ।


काठमाडौं, ललितपुर, भक्तपुरका नेवार बस्तीबाट बाजगाजासहित सर्वसाधारण सभामा सहभागी भएका थिए । ‘हाम्रो हात चोखो छ, भ्रष्टाचार गरेका छैनौं’ भन्दै सबैले हातमा सेतो पन्जा लगाएका थिए ।


प्रहरीलाई फूल

गायक योगेश्वर अमात्यले माइतीघर क्षेत्रमा खटिएका प्रहरीलाई फूल वितरण गरेका थिए । गुठी विधेयकको विरोधमा जेठ २६ गते प्रहरीले दमन गरेको विरोधमा उनले फूल वितरण गरेका हुन् । उनले यसअघि ललितपुरमा भएको कार्यक्रममा पनि प्रहरीलाई फूल बाँडेका थिए ।

प्रकाशित : असार ५, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?