१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुरु भयो स्मार्ट पार्किङ

दुई पांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा २५ रूपैयाँ र चार पांग्रेका लागि ८० रूपैयाँ तोकिएको महानगरपालिकाले जनाएको छ ।
शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अव्यवस्थित पार्किङको समस्या समाधानका लागि आइतबारदेखि स्मार्ट पार्किङ सुरु गरेको छ । बढी अव्यवस्थित पार्किङ हुने तथा कारबाहीमा पर्ने स्थान वीर अस्पताल र न्युरोड क्षेत्रमा एपबाटै बुकिङसमेत गर्न सक्नेगरी निश्चित संख्यामा पार्किङको व्यवस्था गरिएको महानगरले जनाएको छ । हील्स ट्रली योर्स नामक संस्थासँगको सहकार्यमा स्मार्ट पार्किङ सुरु गरिएको हो ।

सुरु भयो स्मार्ट पार्किङ

हाल न्युरोडमा सुरु गरिएको यो सेवा बिस्तारै प्युखा, खिचापोखरी, पाकोलगायत खाली स्थानमा पनि विस्तार गरिनेछ । हाल योजनामा रहेका सबै स्थानमा पार्किङ सुरु भए ८ सय वटा मोटरसाइकल र ४० चारपांग्रे पार्किङ गर्न सकिने एप डेभलपर संस्थाले जनाएको छ । पहिल्यै बुकिङ नगरेकाले पुगेपछि खाली ठाउँ हेरेर त्यहीअनुसार पार्किङ गर्न सक्नेछन् । त्यहाँका गतिविधि आवाजसहित रेकर्ड गरिनेछ साथै शुल्क तिर्नेले पनि बिल प्राप्त गर्ने हुँदा राजस्व छली तथा बढी शुल्क उठाउने समस्या नहुने महानगरको भनाइ छ ।


हालका लागि दुई पांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा २५ रुपैयाँ र चार पांग्रेका लागि ८० रुपैयाँ तोकिएको महानगरपालिकाले जनाएको छ ।


स्मार्ट पार्किङका लागि एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताले ‘केटिएम एप’ डाउनलोड गरेर सेवाग्राहीले पार्किङ स्थल बुक गर्न सक्छन् । फोनमार्फत कन्फर्म गरेको १५ मिनेटभित्र सवारीसाधन बुकिङ गरिएको ठाउँमा पुग्नुपर्ने हुन्छ । अन्यथा बुकिङ रद्द हुने एप विकासकर्ताको भनाइ छ । पार्किङको चाप र अवस्थाबारे ट्राफिक प्रहरी, महानगरपालिका र एप निर्माता तीनैले चाहेका बेला हेर्न सक्नेछन् । सुरक्षाका लागि ४८ सीसीटीभी जडान गरिएको छ ।


गत वर्षकै नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ राखिए पनि यस वर्षको अन्त्यमा मात्र कार्यान्वयनमा आएको हो । गत वर्ष बहुतले भवनमा पार्किङ मात्र हुने खालको पार्किङ निर्माण गर्ने भनिए पनि अहिलेसम्म त्यो भएको छैन । प्राविधिक कारणले सुरुहुन नसकेको महानगरले जनाएको छ । एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको उद्घाटन गरे ।


मेयर शाक्यले ‘पीओएस’ भन्ने उपकरणबाट ‘क्यू आर कोड’ सहितको बिल प्रिन्ट गरेर यसको उद्घाटन गरेका हुन् । उनले महानगरभित्र तत्कालको आवश्यकता पूर्तिका लागि मात्र यसको सुरुवात भएको तर दीर्घकालीन रूपमा भने भूमिगत वा बहुतले पार्किङ नै उपयुक्त विकल्प रहेको बताए ।

प्रकाशित : असार २, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?