चोभारमा मञ्जुश्रीको प्रतिमा

काठमाडौँ — मञ्जुश्रीले काठमाडौं उपत्यका दह भएका बेला यहाँको पानी बगाएको भन्ने मिथकलाई दर्साउन चोभारमा मञ्जुश्रीको प्रतिमा स्थापना गरिएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं. ६ मा पर्ने जलविनायक सामुदायिक वनमा ३३ फिटको प्रतिमा राखिएको वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर महर्जनले जानकारी दिए । वनभित्रको मञ्जुश्री पार्कमा मूर्ति राखिएको छ ।


‘यसमा सम्पूर्ण लागत स्थानीयको छ । सुरुमा सामान्य मानवको उचाइको प्रतिमा बनाउने भनिए पनि विज्ञसँग छलफल गरी ३३ फिटको राख्ने निर्णय भयो,’ मञ्जुश्री प्रतिमा निर्माण समितिका कोषाध्यक्ष सुजीन्द्र महर्जनले भने । मूर्ति निर्माणमा हालसम्म ३ करोड ३५ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । विभिन्न दाताबाट १ करोड ७० लाख र मूर्ति निर्माणार्थ आयोजना गरिएको सप्ताहबाट ४० लाख रुपैयाँ संकलन भएको उनको भनाइ छ ।


उनले क्षेत्र नं. १० का सांसदबाट १० लाख र वडास्तरीय बजेटबाट ३७ लाख ५० हजार रुपैयाँ जम्मा भएको जनाए । सिंचाइ तथा ऊर्जा मन्त्रालयबाट ४५ लाख प्राप्त भएको उपभोक्ता समूहले जनाएको छ ।


शनिबार एक कार्यक्रमबीच मूर्ति अनावरण गरिएको हो । ‘अझै १४ करोड रुपैयाँ हाराहारी खर्च लाग्नेछ,’ उपभोक्ता समिति अध्यक्ष इन्द्रबहादुर महर्जनले भने, ‘प्रवेशद्वारसहितको कम्पाउन्ड वाल, पार्कभित्र अपांगमैत्री बाटोलगायत संरचना बनाउन बाँकी नै छ ।’ उनका अनुसार उक्त पार्कमा सूचना पाटी, आराम स्थल निर्माण, पानी तथा बत्तीको व्यवस्था, अध्ययन केन्द्र, कफी सप, शौचालयजस्ता संरचना निर्माण गर्ने योजना छ । हिमाल सिमेन्ट कारखानाले उजाड बनाएको र भित्रका गुफा तहसनहस बनाएकाले पर्यटक घटे पनि अब क्रमशः बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।


चक्रपथभित्रको एकान्तकुनाबाट ३ किलोमिटरको दूरीमा पर्ने जलविनायक मन्दिर तथा चोभारको गल्छीसँगै प्रतिमा राख्दा उपत्यकाको इतिहासबारे सबैले जानकारी पाउने इन्द्रबहादुरले बताए । प्राचीनकालमा ठूलो दहका रूपमा रहेको काठमाडौं उपत्यकालाई मञ्जुश्रीले चन्द्रहंस खड्गले काटेर यहाँको पानीलाई गल्छी हुँदै निकास दिएका थिए । त्यसपछि मात्र उपत्यका बस्न योग्य भएको स्वयम्भू पुराणमा उल्लेख पाइन्छ । चरम सहरीकरणबीच यस्ता पार्क निर्माण तथा हरियाली प्रवर्द्धनले पर्यटन बढ्ने र सहरी कोलाहलबाट स्थानीयलाई राहत मिल्ने अध्यक्ष महर्जनको भनाइ छ ।


यो पार्क तथा सामुदायिक वनभित्र १ सय १७ वर्ष पुरानो झोलुंगे पुल, साढे १२ सय मिटर लामो गुफाका साथै मौसम सफा भए हिमाल पनि देख्न सकिन्छ । वरपर आदीनाथ, जाल्पादेवी, विष्णुदेवी मन्दिरजस्ता संरचनाले धार्मिक पर्यटक पनि तान्ने र प्रतिमा निर्माणपछि पर्यटक बढ्ने अपेक्षा राखेको अध्यक्ष महर्जनको भनाइ छ ।

प्रकाशित : असार २, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?