कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोटेश्वरको जाम हटाउन तीन विकल्प

काठमाडौँ — जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले राजधानीको कोटेश्वर चोकमा दिनहुँ हुने ट्राफिक जाम घटाउन तीनवटा विकल्पसहितको प्रारम्भिक प्रतिवेदन दिएको छ ।

कोटेश्वरको जाम हटाउन तीन विकल्प

राजधानीमा मुख्यचोकमा ट्राफिक सुधारका लागि नेपालको आग्रहमा अध्ययन गरिरहेको जाइकाको विज्ञ प्राविधिक टोलीले कोटेश्वरका लागि दुई फरक–फरक सुरुङमार्ग र फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको हो ।


जापानी टोलीले एक महिनाभित्रै पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट दिने भएको छ । टोलीले फेब्रुअरीदेखि अध्ययन थालेको हो । पूर्वसम्भाव्यता अध्ययन क्रममा टोलीले प्रारम्भिक प्रतिवेदन दिएको हो । टोलीले दिएको प्रतिवेदनमा पहिलो विकल्पका रूपमा तीनकुनेबाट बालकुमारीसम्म सडकमुनि रिङ रोडमा सुरुङ मार्ग निर्माण गर्ने रहेको छ ।


तीनकुनेबाट सूर्यविनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केही फराकिलो बनाउने र त्यसको तलतलै तीनकुनेबाट बालकुमारीसम्म रिङ रोडमा १ हजार १ सय ४० मिटर लामो सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव छ ।


आउन र जानका लागि फरक–फरक दुइटा सुरुङ मार्ग निर्माण गर्ने प्रस्तावमा उल्लेख छ । त्यसका लागि २४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । निर्माण कार्य गर्न ४८ महिना लाग्ने प्रतिवेदनमा उल्लेख छ । दोस्रो विकल्पमा तीनकुने हुँदै बालकुमारीतिर निस्कने सडकमा फ्लाई ओभर निर्माण गर्ने छ ।


रिङ रोडमा करिब १ हजार ३ सय २० मिटर लामो फ्लाई ओभर निर्माण गर्ने प्रस्तावमा उल्लेख छ । भक्तपुरतिर जाने सडकलाई फराकिलो बनाइन ९ अर्ब ९ करोड रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनमा छ । तेस्रो विकल्पमा भक्तपुरतिर जाने सडकमा सुरुङ मार्ग निर्माण गर्ने छ ।


भक्तपुरतिर जाने सडकमा आउन र जानका लागि दुइटा सुरुङ मार्ग निर्माण गर्ने र रिङ रोडलाई अहिलेकै अवस्थामा सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख छ । सुरुङ मार्ग १ हजार ८ सय ६० मिटर लामो हुनेछ । यसका लागि २४ अर्ब ६ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।


सडक विभागले तीनमध्ये कुन विकल्प उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेको छ । जापानी टोलीले कोटेश्वरका अलावा बानेश्वर, कोटेश्वर, माइतीघरलगायतका मुख्य चोकका ट्राफिक जाममा कसरी सुधार गर्न सकिन्छ भनेरसमेत अध्ययन गरिरहेको छ । पूर्वसम्भाव्यता अध्ययनपछि जापानकै सहयोगमा विस्तृत अध्ययन गरिने छ ।


विस्तृत अध्ययन सकिएपछि पहिलो चरणमा जापानको सहयोगमा कोटेश्वरमा ट्राफिक जाम हटाउन तीनमध्ये एउटा विकल्प रोजेर निर्माण कार्य अघि बढाइने जानकारी सडक विभागका अधिकारीले दिएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?