कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विद्याश्रमको जग्गा घटेको घट्यै

दामोदर न्यौपाने

काठमाडौँ — शिक्षा पाठ्यक्रमले विद्यार्थीलाई खेलकुद अनिवार्य गरेको छ । वेद विद्याश्रमका विद्यार्थीको हकमा भने यो व्यवस्था लागू भएको छैन । केही खुला ठाउँमा बगैंचा छ । अरु ठाउँ मासिँदै आएका छन् । ‘विद्यार्थीलाई खेल्ने ठाउँ नै छैन,’ विद्याश्रमका प्रधानाध्यापक केशव अधिकारी भन्छन्, ‘भएका जग्गा धमाधम मिचिँदै र मासिँदै आएका छन् ।’

विद्याश्रमको जग्गा घटेको घट्यै

वेद विद्याश्रम र काठमाडौं वडा ८ कार्यालयबीच जग्गाको विषयमा झगडा छ । वेद विद्याश्रम वडा कार्यालयलाई जग्गा दिने पक्षमा छैन । वेद विद्याश्रमले नदिने भनेपछि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले वडा कार्यालयलाई विद्याश्रम कोषअन्तर्गतको निकाय भएकाले जग्गामा भवन बनाउन भनेका छन् । वडा अध्यक्ष दिनेश डंगोलले वेद विद्याश्रम स्थानीय सरकारअन्तर्गत पर्ने भएकाले भवन बनाउन अवरोध गर्नु हुँदैन ।

विद्याश्रमका प्रधानाध्यापक अधिकारीलाई विद्यालयसँगै वडा कार्यालय बन्दाको चिन्ता छ । छात्रावासमै जोडिए बन्ने वडाको भवनले विद्यालयमा हुनुपर्ने शान्तिलाई खल्बल्याउने प्रअ अधिकारीको धारणा छ । वडा कार्यालय राजनीतिक ठाउँ भएकाले कोही बेला झैझगडा पर्दा त्यस बेला विद्यार्थीलाई बाधा पुग्ने अधिकारीको धारणा छ । ‘त्यही भएर यहाँ नभई अन्त बनाउनुस् वडा कार्यालय भनेका हौं,’ अधिकारी भन्छन्, ‘यो ठाउँको विकल्प पक्कै होला । खोज्नुपर्छ ।’

गुठी संस्थानअन्तर्गत रहेको विद्याश्रम २०४५ सालमा कोषमा आएको थियो । कोषअन्तर्गत आए पनि यसका भौतिक पूर्वाधारमा ध्यान दिएको छैन । वर्षमा १ करोड २५ लाख रुपैयाँ दिन्छ । त्यसैबाट शिक्षकलाई तलब खुवाउनुपर्छ । प्रशासनिक खर्च व्यहोर्नुपर्छ ।

वेद विद्याश्रमको जग्गा खुम्च्याउने क्रम पछिल्लो पटक पशुपति क्षेत्र विकास कोषबाटै भएको छ । कोषले काठमाडौं महानगरपालिका वडा ८ को कार्यालय भवन बनाउने अनुमति दियो । विद्याश्रमलाई जानकारी नै नदिई उत्तर कुनामा गत साता डोजर चलाइयो । डोजर चलाउन सुरु गरेपछि रोक्न शिक्षक गए । वटुक गए । वटुकलाई पन्छाएरै डोजर लगाइयो । जग खनियो । वटुकले विरोध गरिरहे । डोजर चलिरह्यो । बाक्लो सुरक्षाकर्मी तैनाथ गरेर महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरे ।

डोजर लगाएको केही दिनमा गुठी संस्थानले आफ्नो जग्गा भन्दै भवन निर्माण रोक्न पत्र लेख्यो । गुठीको पत्र पाएपछि वडा कार्यालयले भवन निर्माण रोकेको छ । गुठी संस्थानले महानगरलाई पत्र लेख्दै गुठीको जग्गाको संरक्षण गर्न माग गरेको छ । कित्ता नम्बर १०६ मा २१ रोपनी जमिन गुठीको नाममा भएको दाबी गर्दै संस्थानले पत्र पठाएको हो । सदस्यसचवि ढकाल भने जग्गा कोषले अधिकरण गरिसकेको दाबी गर्छन् । ‘कोषले पशुपति क्षेत्रका सबै जग्गा अधिकरण गरेको छ । सबै कोषको मातहात आएको छ । लालपुर्जा नभएको मात्रै हो । अब लालपुर्जा बन्ने क्रममा छ,’ ढकाल भन्छन्, ‘गुठीले हाम्रो जग्गा भन्नु हास्यास्पद छ ।’

गुठी संस्थानले भने अधिकरण गरेको जानकारी नभएको जनाएको छ । ‘अधिकरण गरेको भए जानकारी त दिनुपर्ने हो नि,’ गुठी संस्थानका प्रवक्ता सरोज थपलिया भन्छन््, ‘जग्गा धनीलाई नै जानकारी नदिई कसरी अधिकरण हुन्छ ? लालपुर्जा हाम्रो नाममा छ ।’

भवन महानगरकै खर्चमा

पशुपति मन्दिर छेउकै वडा कार्यालय कोषले भत्काइदिएपछि भवनविहीन भएको थियो । २०५८ सालमा यो क्षेत्रबाट बस्ती हटाइयो । यहाँका १ सय १९ घर भत्काइयो । वनकाली क्षेत्रको ९० र तिलगंगा क्षेत्रको ५८ घर भत्काइएका थिए । २०५५ सालमै १० वर्षे योजना बनेको थियो ।

त्यही गुरुयोजनाअन्तर्गत २ सय ६५ हेक्टर जमिन अधिकरण गरिएको थियो । त्यही बेला कोषले नै सर्तमा वडा कार्यालय भत्काइएको थियो । त्यही बेलादेखि कोषअन्तर्गतको अमालकोट कचहरीको भवनका दुई तला प्रयोग गर्न दिएको थियो । ‘म त्यति बेला पनि वडा सदस्य थिएँ,’ वडा अध्यक्ष डंगोल भन्छन्, ‘कोषले भवन बनाइदिएर वडालाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।’

महानगरले सबै वडा कार्यालय भवन बनाउने योजना बनाएको छ । त्यही योजनाअन्तर्गत वडा ८ मा भवन बनाउन पनि नगर परिषद्ले बजेट छुट्याएको थियो । डंगोलका अनुसार ३ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ । चारतले भवन नेपाली वास्तुकला झल्कने गरी डिजाइन गरिएको उनले बताए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीको पालामा त्यस ठाउँमा भवन बनाउने निर्णय भएको थियो । २०७३ माघमा जग्गा दिने निर्णय गर्दा कोषका तत्कालीन सदस्यसचिव गोविन्द टण्डन, कोषका कार्यकारी निर्देशक रमेश उप्रेती, गुठी संस्थानका अध्यक्ष लक्ष्मणलाल ज्ञवालीलगायत सहभागी थिए । त्यही बैठकले बढीमा ४ आना जग्गा दिने निर्णय गरेको थियो ।

हडपिएका जग्गा विद्याश्रमलाई

खासमा यो जग्गा पशुपतिनाथलाई फूल चढाउने बगैँचा हो । बगैँचा तत्कालीन प्रधानपञ्च चन्द्रमान राजभण्डारी, बालान्द वैद्यलगायतले आफ्नो नाममा दर्ता गरे । महास्नान पूजाका लागि परापूर्वकालदेखि नै गुठी राखिएका छन् । मल्ल वंशीय राजा लक्ष्मीनरसिंह मल्लले पनि १६९१ मा १६ रोपनी जमिन गुठी राखिदिएका थिए । देवीदासले पनि १७३२ सालमा गुठी राखेका थिए ।

मल्ल वंशपछि शाहकालमा पनि यसका लागि धेरै गुठी राखिएका थिए । कान्तवतीले महास्नान महाबलि गुठी स्थापना गरिन् विसं. १८५६ मा । अभिलेखअनुसार कान्तिवती क्षयरोगले ग्रस्त थिइन् । यसबाट मुक्तिको कामना गर्दै यो गुठी स्थापना गरिएको थियो । गुठीका लागि गोकर्ण देवपतन र सिन्धुपाल्चोकको फटकशिलामा २२ सय रोपनी जग्गा राखिएको थियो ।

गोकर्ण र देवतपतनमा १६ सय ३३ रोपनी र फटकशिलामा ५ सय ६६ रोपनी जमिन राखिएको थियो । देवपतनको जमिनबाट ८ सय ५१ मुरी धान कुत स्वरूप उठाउने गरिएको थियो । गुठी अमानत हुनुभन्दा अगाडि तीन जना गुठियारले असुल तहसिल गर्थे । पछि तिनै गुठियारले जग्गा हडपेका थिए । २०२१ सालमा नापी हुँदा आफ्नो नाममा पारेका थिए । त्यही जग्गा खोसेर तत्कालीन राजा महेन्द्र साहले वेद विद्याश्रमलाई जग्गा दिएका थिए । वेद विद्याश्रम बनाउन महेन्द्रले वडागुरुज्यू नै खटाएका थिए ।

जग्गा घटेकोघट्यै

२०२६ सालमा निर्माण सुरु भएर २०३१ सालमा सम्पन्न भएको हो विद्याश्रम । प्रधानाध्यापक अधिकारीका अनुसार सुरु हुने बेलामा विद्याश्रमको जग्गा ४९ रोपनी थियो । ४९ रोपनीबाट खुम्चिएर अहिले २१ रोपनीमा झरेको छ । २१ रोपनीमध्येबाट पनि वडा कार्यालयलाई ८ आना दिन लागेको छ । कति जग्गा वडालाई दिन लागेको हो, आफूलाई जानकारी नै नदिएको अधिकारी बताउँछन् ।

जग्गा कति दिएको भन्नेमा कोषका सदस्यसचिव ढकाल र वडा अध्यक्ष डंगोलको भनाइ बाझिएको छ । सदस्यसचिव ढकालले कान्तिपुरसँग ४ आना मात्रै दिन लागेको बताएका थिए । ‘मैले दिन लागेको होइन,’ ढकालले भने, ‘पहिलाकै परिषदले ४ आना दिने निर्णय गरेको रहेछ । मैले त्यही कार्यान्वयन गर्न लागेको मात्र हुँ ।’ डंगोल भने ८ आना दिन कोष सहमत भएको बताउँछन् । ‘पहिला हाम्रो भवन ५ आनामा बनेको थियो,’ डंगोल भन्छन्, ‘अहिले चार आनाले पुग्दैन भनेर आठ आना मागेका छौं ।

कोष दिन तयार भएको छ ।’ विद्याश्रमले पनि कति जग्गा दिएको र अब कति दिँदै जाने हो भनेर आफूहरूलाई अन्योल भएको बताउँछन् । वेद विद्याश्रमकै जग्गामा बसेको हो कोषको कार्यालय । विद्याश्रमको दक्षिणमा आएर २०४३ सालमा बस्यो कोष । कोषकै जग्गामा बस्यो गौशला प्रहरी । कोष बसेको ठाउँमा विद्यार्थीका लागि स्वास्थ्य चौकीकै व्यवस्था गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?