कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रञ्जना लिपि अब डिजिटल

गणेश राई

काठमाडौँ — खुसिबु टोल बस्छिन्, रीतिका महर्जन । एसईई दिएर बसेकी उनले खाली समयमा रञ्जना लिपि सिकिन् । अहिले नाम लेख्न जान्ने भएकी छन् । त्यत्तिले पनि उनलाई दंग पारेको छ । रीतिका मात्र होइन, एसईई दिएर बसेका भूमिका महर्जन, अरहत तुलाधर, राबिया तन्डुकार, क्रिस्टा महर्जन, अविरल मानव श्रेष्ठ पनि यो लिपि सिक्दै छन् ।

रञ्जना लिपि अब डिजिटल

‘नयाँ विषय सिक्न पाएकोमा गर्व लागेको छ,’ रीतिका भन्छिन्, ‘ऐतिहासिक कुरा एक महिनामै जान्न पाएकी छु ।’ उनीहरूले रञ्जनासँगै नेपाल लिपि पनि सिक्दै छन् ।


सबैले सिक्ने एउटै ठाउँ हो, काठमाडौं महानगरपालिका २७ तलाछें ज्याठाटोलस्थित नेपाल लिपि गुठीको भवनको भुइँतला । ‘सबैभन्दा गाह्रो रञ्जना लिपि हो । अहिले आधारभूत लेखाइ सिक्यौं,’ अरहतले भने ।


गुठीले युवा र वयस्कलाई लक्ष्य गरी हरेक साँझ दुई समूहलाई यी दुई लिपि सिकाउँदै आएको छ । चार दशकदेखि । अहिले पहिलो समूहमा २६ जना र दोस्रोमा २२ जनाले यी लिपि सिकिरहेका छन् । त्यसमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म छन् । इतिहास अध्ययन गरिरहेका ५८ वर्षीय राजेश्वरलाल अमात्यले पनि यी लिपि सिक्दै छन् । ‘इतिहास अध्ययन गर्दा शिलालेख रञ्जना लिपिमा छन्,’ उनले भने, ‘त्यसैले यी लिपि सिक्न थालेको हुँ ।’


उनीहरूलाई पढाउँछन्, बिक्की वज्राचार्यले । सिकाइने सबै विषयमा उनले नेपाल भाषामै व्याख्या विश्लेषण गर्दै आएका छन् । ‘अन्य लिपिको तुलनामा रञ्जना लिपि फरक छ,’ डेढ दशकदेखि लिपि प्रशिक्षणमा संलग्न उनी भन्छन्, ‘यो लिपि बुझाउन समय लाग्छ । देवनागरीमा जस्तो तेर्सो नभई माथिबाट तल गाँस्दै लेखिन्छ । कलात्मक सीप नहुनेका अक्षरमा सौन्दर्य झल्किँदैन ।’


समयसमयमा गुठीका अध्यक्ष निरन्जनमान ताम्राकारले पनि प्रशिक्षार्थीको लेखन कला सुधार्न सिकाउँदै आएका छन् । विशेषगरी नेवारी लेखनमा प्रयोग हुँदै आएको यो लिपि अब ‘डिजिटल ल्याङवेज ल्याब’ मा राखिने भएको छ । त्यसका लागि नेपाल लिपि गुठीले प्रक्रिया अघि बढाएको हो । काठमाडौं महानगरपालिका, प्रदेश ३ का सांसदलगायतले यसमा सघाइरहेका छन् । लिपिको प्रचारप्रसार एवम् विस्तारका लागि लिपि विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पनि हुँदै छ ।


नेपालभाषा लेखन प्रयोगमा रहेका रञ्जनाबाहेक लिपिका युनिकोड निर्माण भइसकेका छन् । ‘रञ्जना लिपिको विशेषतालाई भाषावैज्ञानिक ढंगले केलाएर संसारको जुनसुकै कुनामा बसेका सर्वसाधारणले समेत प्रयोग गर्न सक्ने बनाउन चाहेका हौं,’ अध्यक्ष ताम्राकारले भने, ‘आधारभूत भाषा सिकाइसँगै लिपिलाई प्रवर्द्धन गर्न युनिकोड निर्माण, प्रविधिमैत्री बनाएर प्रत्येकको मोबाइल पहुँच विस्तार गर्नेछौं । अडियो, भिजुअलसमेत बन्नेछ ।’


नेवार समुदायमा मातृभाषालाई ‘नेपाल भाषा’ र लिपिलाई ‘नेपाल लिपि’ भनेर चिनाइएको छ । नेपालभाषा लेखनमा १० वटा लिपि प्रयोग गरिएका छन् । नेपाल लिपि (प्रचलित लिपि), भुजिमोल, लितुमोल, कुँमोल, हिंमोल, क्वयँमोल, पाचुमोल, गोलमोल, कुताक्षर चलनचल्तीमा छन् । त्यसमा सबैभन्दा पुरानो रञ्जना लिपि हो । यही लिपिमा बुद्धधर्मको महायान, वज्रयानसित सम्बन्धित ऐतिहासिक ग्रन्थ लेखिएका छन् ।


चीनको ल्हासा, ग्रेटवाललगायत गुम्बामा रञ्जना लिपि खोपिएको पाइन्छ । १०औं शताब्दमा यो लिपिको विकास भएको इतिहासविद् काशीनाथ तमोटको भनाइ छ । पछिल्लो समय रञ्जना लिपि सिक्नेहरू बढदै गएको ताम्राकार बताउँछन् । ‘सबैले चासो देखाएकाले यसको प्याकेजिङमा लागिपरेका छौं,’ उनले भने, ‘युवालाई लक्ष्य गरी इलेक्ट्रोनिक डिजिटाइजेसन गर्ने तयारीमा छौं । त्यसपछि डिजिटल ल्याङवेज ल्याब अनलाइनमा तयार हुनेछ ।’


लिपि भाषा संस्कृति देश, विदेशमा प्रचारप्रसार र प्रवर्द्धनको पहल अघि बढाएको गुठीले जनाएको छ । प्रदेश नं.३ का सांसद राजेश शाक्यले सांसद क्षेत्र विकास कोषबाट लिपि प्रवर्द्धनका निम्ति गुठीलाई ५० लाख रुपैयाँ रकम सहयोग गरेका छन् । ‘रञ्जना लिपि राष्ट्रिय लिपि हो,’ काष्ठमण्डप निर्माण समितिका अध्यक्षसमेत रहेका सांसद शाक्यले भने, ‘यही रञ्जना लिपिको उत्थान गर्न मैले मैले यो रकम उपलब्ध गराएको हो ।’


काठमाडौं महानगरपालिकाले नेपाल लिपि गुठीलाई तीन वर्षदेखि वार्षिक डेढ लाख रुपैयाँ बजेट उपलब्ध गराउँदै आएको छ । गुठीअन्तर्गत दुई अगल अक्षयकोष निर्माण गरिएको छ । यसमा पाँच लाख रुपैयाँ राशिको ‘साहु संघधर तुलाधर नेपाल लिपि कोष’ र चार लाख रुपैयाँको ‘ज्ञानज्योति कंसाकार रञ्जना लिपि कोष’ छ । त्यही कोषको ब्याजबाट वार्षिक गतिविधि गरिँदै आएको छ ।

‘अहिलेसम्म गुठीले भाषा, लिपि र संस्कृतिको प्रवर्द्धनमा स्वयंसेवकको भूमिका निर्वाह गर्दै आएको छ,’ अध्यक्ष ताम्राकार भन्छन्, ‘हामी व्यक्तिव्यक्ति मिली रकम उठाएर लिपि प्रशिक्षण दिँदै आएका छौं ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?