२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

उपप्रधानमन्त्री पोखरेलद्वारा कोरियाली सहयोगमा बन्ने विद्यालय भवन शिलान्यास 

गणेश राई

काठमाडौँ — काठमाडौंको तार्केश्वर नगरपालिका–५ गोलढुंगास्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको भवन अब सुविधा सम्पन्न हुने भएको छ । दक्षिण कोरियाको अम होंङ गिल ह्युमन फाउन्डेशनको १८ करोड रुपैयाँ सहयोगमा सुविधा सम्पन्न भवन बन्न लागेको हो ।

उपप्रधानमन्त्री पोखरेलद्वारा कोरियाली सहयोगमा बन्ने विद्यालय भवन शिलान्यास 

त्यसमध्ये २ करोड रुपैयाँ लागतको फर्निचर, विज्ञान तथा प्रविधिका सामग्रीमा खर्च हुने जनाइएको छ । बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, फाउन्डेशनका संस्थापक तथा कार्यकारी निर्देशक क्याप्टेन अम होङ गिललगायतले भवन शिलान्यास गरे ।


२०३२ सालमा स्थापित यस सामुदायिक विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म १ हजार २० जना विद्यार्थी अध्ययरत छन् । प्रधानाध्यापक नारायणप्रसाद शर्माले दिएको जानकारीअनुसार विद्यालयमा समाहित शिक्षाअन्तर्गत विभिन्न जिल्लाका १६ जना दृष्टिविहीन विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत छन् । फाउन्डेशनको सहयोगमा विद्यालयको ३ वटा अलग भवन बन्ने छ । त्यसमा २७ वटा कक्षा कोठा, ४ वटा हल, २ वटा शिक्षक कोठा, २ वटा स्टोर कोठा रहने छन् । त्यसैगरी छुट्टै पुस्तकालय भवन, एउटा बहुउद्देश्यीय कभर्ड हल, दुई शौचालय हुनेछ । सन् २०२१ डिसेम्बरमा निर्माण सम्पन्न हुने जनाइएको छ । भौतिक पूर्वाधारको कमीले यस वर्ष तीन सय विद्यार्थी भर्ना नलिएको शर्माले जनाए । विद्यालयमा दरबन्दीका २३, बाल विकास, निजी श्रोत र आंशिक गरी ३० जना शिक्षक र पाँच जना कर्मचारी कार्यरत छन् ।


फाउन्डेशनको सहयोगमा बन्न लागेको यो १६औं विद्यालय हो । फाउन्डेसनले सोलुखुम्बु, धादिङ, रुपन्देही, कास्की, धनुषा, म्याग्दी, संखुवासभा, बर्दिया, ताप्लेजुङ, गोर्खा, काभ्रे र रोल्पाका १५ वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधी तथा सुविधा सम्पन्न भवन निर्माण गरेको छ । त्यसैगरी १७ औं विद्यालयका रूपमा काठमाडौंकै जहरसिंपौवास्थित कालिका शरण माविको भवन, पुस्तकालय, बहुउद्देश्यीय शैक्षिक हला, तथा शौचालय निर्माणाधि रहेको जनाइएको छ ।


फाउन्डेसनकी कार्यक्रम व्यवस्थापक नीलम थापाका अनुसार पृथ्वीनारायण माविबाहेक १६ वटा विद्यालयका निम्ति ४० करोड ३० लाख रुपैयाँ लागत खर्च रहेको छ । ‘अबको चार वर्षभित्र नेपालभरि बनाइएका विद्यालयहरुको गुणस्तर अभिवृद्धि गर्नका लागि थप १२ करोड रुपैयाँ बजेट छुटाइएको छ,’ थापाले भनिन्, ‘समाज कल्याण परिषद्मा कार्यक्रम पेश गरेका छौं । स्विकृतिको प्रक्रियामा छ ।’ भवन शिलान्यास समारोहमा नेपालका लागि कोरियाली राजदूत पार्क योङसिक, सांसद भीमसेनदास प्रधान, मेयर रामेश्वर बोहोरा, विद्यालयका पूर्वशिक्षक तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद धिताललगायतले विचार व्यक्त गरेका थिए ।


कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले फाउन्डेशनका संस्थापक गिललाई नेपालको मानार्थ नागरिकता प्रदान गर्ने बताए । ‘नेपाललाई आफ्नो दोस्रो घरका रुपमा माया गर्ने कोरियाली नागरिक पर्वतारोही क्याप्टेन अम होंङ गिललाई नेपालको मानार्थ नागरिकताबाट सम्मान गरिनेछ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘उहाँजस्ता नेपाललाई माया गरेर यहाँका नागरिकको शिक्षा, स्वास्थ्य, आर्थिक समृद्धिका निम्ति जुट्दै आउनु भएका मानवीय मनका व्यक्तित्वलाई मानार्थ नागरिकता दिनेबारेमा प्रधानमन्त्रीज्यूसँग कुरा भएको हो । हामी सहयोगी मानवीय मनप्रति शिर झुकाएर धन्यवाद दिन चाहन्छौं ।’


क्याप्टेन गिल सर्वोच्च शिखर सगरमाथालगायत विश्वका ८ हजारभन्दा बढी उचाईको १६ वटै हिमशिखर चुम्न सफल आरोही हुन् । उनले सर्वोच्च सगरमाथा शिखरमा तीनपटक पाइला टेकिसकेका छन् । उनले सन् २००८ मा आफ्नो नाममा फाउन्डेसन निर्माण गरेका हुन् । फाउन्डेशनले नेपालमा शाखा विस्तार गरी सन् २०१० देखि पर्वतारोहण, शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा संरक्षण संवर्द्धन कार्य गर्दैआएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?