३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रोजगारीका लागि धमाधम आवेदन

भक्तपुर — मध्यपुरथिमि ९ की ३० वर्षीया इन्दिरा कार्की केसी स्नातकोत्तर सकेर कामको खोजीमा भौंतारिरहेकी छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्बन्धित वडा कार्यालयमा रोजगारका लागि आवेदन दिएकी छन् । इन्दिराले सरकारले स्थानीय तहमै रोजगारको कार्यक्रम ल्याएको पक्षले आफूलाई उत्साहित तुल्याएको बताइन् ।

‘कृषि र शिक्षण पेसामा केही गर्न सक्छु,’ उनले भनिन्, ‘बेरोजगारी हुँदा आर्थिक अभावसँगै मानसिक दबाब परेको छ ।’ योग्यता भएका युवा बेरोजगार बस्नुपर्दा राज्यले सामाजिक विकृति सहनुपरेको समेत उनी बताउँछिन् ।


मध्यपुरथिमि ६ का २१ वर्षीय सुजन मिजार कक्षा १२ पास गरेका छन् । उनी कामको खोजीमा लागेको ३ वर्ष भयो । आफ्नो योग्यताअनुसार काम नपाएका मिजारले नगरपालिकामा रोजगारका लागि आवेदन दिएका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले म उत्साहित भएको छु,’ उनले भने, ‘आफ्नै वडामा बसेर क्षमताअनुसारको काम गर्न सक्ने भएँ ।’


इन्दिरा र सुजनजस्तै जिल्लाका चार नगरपालिकामा करिब १६ सय बेरोजगार युवाले रोजगारका लागि आवेदन दिएका छन् । कार्यक्रमको पहिलो चरणमा ७ सय युवालाई रोजगारको प्रबन्ध मिलाएको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए । रोजगारका लागि आवेदन दिएका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारलाई स्थानीय तहले बृहत् झेला तथा अन्तर्त्रिया कार्यक्रममा सामेल गराइसकेको उनले जानकारी दिए । नगरपालिकामा रोजगारका लागि आवेदन दिएका व्यक्तिलाई स्थानीय तहले लागू गरेको योजनामा आबद्ध गराई रोजगारको व्यवस्था गर्ने जनाएको छ । पहिलो चरणमा राजकुलो सफाइ, सिँचाइको नहर सफाइ, खानेपानीको मुहान सफाइलगायतबाट सुरुवात गर्ने सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले बताए ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रोजगारी सिर्जनाका प्रमुख क्षेत्रमा सडक, खानेपानी, ढल व्यवस्थापन, सिँचाइ, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलन वा रोजगार सिर्जना हुन सक्ने क्षेत्रलाई लिइने जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७५३ वटै स्थानीय तहमा बेरोजगारको सूचीमा सूचीकृत भएका र अब स्थानीय तहमा हुने विकास निर्माणलगायत काममा सूचीकृत भएका युवाले नै काम पाउने जनाएको छ ।


जिल्लाका चार नगरपालिकामा गरी प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आिर्थक वर्षमा २ करोड ८६ लाख रुपैयाँ सरकारले प्रदान गरिसकेको मध्यपुरथिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई रोजगारसँग जोड्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याएको बताएका छन् । चालु आर्थिक वर्षमा आंशिक रूपमा यो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रूपमा रोजगारी दिने गरी देशैभरि कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले योग्यताका आधारमा रोजगार कार्यक्रम अगाडि सारेको उनले बताए ।


सूर्यविनायक ५ सुवर्णचोकदेखि तीनधारासम्मको करिब तीन सय मिटर सडक निर्माण सुरु गरी कार्यक्रम थालनी गरिएको छ । जिल्लाका चारवटै नगरपालिकाले बेरोजगार युवाको नामावली संकलन गरेका छन् । प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले राज्यका सानाठूला निर्माण कार्यमा युवालाई समेटदै रोजगारको व्यवस्था गर्ने कार्यले युवालाई उत्साहित बनाएको बताए ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?