प्रक्रिया नपुर्‍याई अस्पताल भवन 

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर अस्पतालको नयाँ निर्माण कार्य अन्योलमा परेको छ । वीर अस्पतालपछिको दोस्रो ११४ वर्ष पुरानो भूकम्पले क्षतिग्रस्त अस्पतालको भवन रेट्रोफिटिङ गर्ने तथा सुविधायुक्त डिपार्टमेन्टसहितको नयाँ भवन निर्माण गर्ने योजना बने पनि नक्सापास नहुँदा अन्योलमा परेको हो । 

भवन निर्माणका लागि गत माघ २३ मा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादव, प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, बेलायती विकास नियोग (डीएफआईडी) लन्डनका महानिर्देशक रिचार्ड क्लार्कलगायतले अस्पतालको रेट्रोफिटिङ तथा नयाँ भवन निर्माणबारेऔपचारिक घोषणा गरेका थिए ।

डीएफएआईडीको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको स्वास्थ्य क्षेत्र कार्यक्रम (एनएचएसएसपी) अन्तर्गत अस्पताल भवन संरचनाहरू रेट्रोफिटिङ कार्य गर्ने कार्यक्रम छ । रेट्रोफिटिङअन्तर्गत भूकम्पीय प्रवलीकरण स्वास्थ्योपचारका लागि उपयोगी हुने गरी स्तरोन्नति र खानेपानी, ढल, फोहोर, भित्री हावाको गुणस्तर व्यवस्थापनलगायत समावेश गरेको योजना बताएको छ ।

नयाँ भवनमा सुविधा सम्पन्न प्रसूति वार्ड, आईसीयू सेवा सञ्चालन, ओपीटी सेवा र पार्किङ व्यवस्थापन गर्ने लक्ष्य लिएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया कक्ष, ओपीडी कक्ष, भान्साघर, शौचालय, शव गृह तथा पोस्ट मार्टम कक्ष, पार्किङलगायतको भौतिक संरचना निर्माण गर्ने डिजाइन तयार छ । तर, नगरपालिकाले मालपोत असुल रसिद, नक्साको डिजाइन, नगरपालिकामा दर्ता भएको डिजाइनको इजाजत पत्रलगायत माग गर्दै नगरपालिकाले सिफारिस गरेकै इन्जिनियरबाट डिजाइन हुनुपर्ने भन्दै अस्पताल
प्रशासनलाई पत्रचार गरेको छ ।

अस्पतालको सहजीकरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण तथा रेट्रोफिटिङ प्रक्रिया थालिएको भए पनि अस्पताल परिसरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर र भक्तपुर क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गाको समेत तिरो (मालपोत) तिर्नुपरेकोले भवन निर्माण थप अन्योल बनेको मेडिकल सुपरिटेन्डेन्ट डा.सुधा देवकोटा बताउँछिन् ।

‘पहिलेपहिले कुन प्रक्रियाबाट अस्पतालको जग्गा अन्य संस्थालाई भोगचलन गर्न दिइयो थाहा छैन, अहिले भक्तपुर अस्पतालले मालपोत तिर्न नगरपालिकाले पत्रचार गरेको छ,’ उनले भनिन्, ‘अर्को संस्थाको मालपोत तिर्ने बजेट हामीसँग छैन ।’ भक्तपुर अस्पतालले भोगचलन नै नगरेको जग्गाको मालपोत तिर्न नसक्ने उनले बताइन् । अस्पतालको १८ रोपनी ४ आना जग्गाको मालपोत दस्तुर हालसम्म तिरेको छैन । हालसम्मको मालपोत दस्तुर १ लाख ६४ हजार रुपैयाँ तिर्नुपर्ने अस्पताल प्रशासनको भनाइ छ । अस्पतालको १८ रोपनी ४ आना जग्गामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, रेडक्रस, क्यान्सर अस्पताल, भक्तपुर नगरपालिकाले सार्वजनिक शौचालय बनाएको छ ।

कुल २० करोड ३४ लाख २५ हजार ५ सयमा नयाँ र मौजुदा भवन रेट्रोफिटिङका लागि १२ करोड ४१ लाख ८४ हजार ३ सय रुपैयाँ गरी ३२ करोड ७६ लाख ९ हजार ८ सय रुपैयाँ बजेट विनियोजन भएको समेत जनाएको छ ।

पुरानो र भूकम्पका कारण आंशिक क्षति पुगेको पानी चुहिने अस्पतालमै सेवा दिन बाध्य भएको अस्पताल प्रशासनले जनाएको छ । ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शय्याको अस्पताल हाल २०६० देखि ७५ शय्या सञ्चालित छ । दिन प्रतिदिन बिरामीको चाप बढ्दै गएकाले अस्पताल प्रशासनले ७५ शय्यालाई थप गरी १ सय २५ शय्या पुर्‍याउन माग गरेको छ ।

अस्पतालमा दरबन्दी नहुँदा आईसीयू सञ्चालन गर्न नसकेको बताउँदै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने डा.देवकोटा बताउँछिन् । मुलुककै दोस्रो जेठो अस्पतालमा डिपार्टमेन्टको व्यवस्था छैन । अस्पतालको नयाँ भवनसँगै आईसीयू सञ्चालन गर्ने लक्ष्य लिएको मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटाले बताइन् । अस्पतालको स्तरवृद्धि गर्ने, पार्किङ व्यवस्थापन, बगैंचा निर्माण, एक्स–रे, प्रोटेबल यूएसजी, ल्याबक्रोस्कोपी, इन्डेस्कोपीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन् ।

अपांगमैत्री नयाँ भवनमा लिफ्ट जडान गरी मौजुदा भवनहरूमा समेत आवागमनमा सहजता ल्याउने गरी डिजाइन गरिएको छ । संघीयता लागू भएपछि प्रदेश अस्पतालको रूपमा सञ्चालित अस्पतालमा जेठ १ बाट मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालित छ । भवन अभावका कारण अस्पतालको भर्‍याङमुनि जस्ता बारेर मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न बाध्य भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटाले बताइन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

पलिस्वाँ पुखु बन्दै

कान्तिपुर संवाददाता

भक्तपुर — वर्षौंदेखि पलिस्वाँ पुखुः (कमलपोखरी) संरक्षणको आवाज उठाउँदै आएका मध्यपुरथिमि ८ बोडेबासीको अपेक्षा पूरा हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक पलिस्वाँ पुखुः को संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धार कार्य सुरू गरेको छ ।

पुखुः संरक्षणका लागि सोमबारबाट सीमा पर्खाल लगाउन सुरू गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । पलिस्वाँ पुखुः संरक्षणका लागि सिमाङनको कार्य भइसकेको र सीमा पर्खाल निर्माणका लागि नगरपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । सीमा पर्खाल चालू आर्थिक वर्ष ०७५/७६ को असार मसान्तभित्र सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ ।

जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको ऐतिहासिक पलेस्वाँ पुखुःलाई सार्वजनिक पोखरीकोरूपमा कायम गर्ने फैसला गरेको थियो ।

अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलासले २०३५ देखि व्यक्तिले हकदाबी गर्दै बिक्री हुँदै आएको पोखरीको १५ रोपनी ९ आना जग्गा मध्यपुरथिमिवासीको सार्वजनिक सम्पत्ति रहेको र संरक्षण गर्ने आदेशसहित फैसला सुनाएको हो । अदालतको उक्त फैसलासँगै नगरपालिका ऐतिहासिक महत्त्वको पलिस्वाँ पुखुः संरक्षणमा लागेको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।

अदालतले २०३५, ०३७ र ०५५ मा विभिन्न व्यक्तिको नाममा फैसला गरेको अदालती आदेशलाई समेत बदर गर्दै सार्वजनिक पोखरीको रुपमा फैसला गरेको हो । २०२१ को नापीमा समेत सार्वजनिक पुखुःकै रुपमा रहेको प्रमाणित छ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको पलेस्वाँ पुखु जोगाउन माग गर्दै स्थानीयले वर्षौंदेखि दबाब दिँदै आएको थियो । तत्कालीन बोडे गाउँ पञ्चायत वडा ६ कित्ता नम्बर १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ मा व्यक्तिको नाममादर्ता भई बिक्रीवितरण भएको थियो ।

२०४२ असार ३१ गते कमलपोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ माघ २२ मा अधिकृत वारेससनामा बकसपत्र गरी मनाङ घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको स्थानीय बताउँछन् । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिनीको नाममा, १ रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको थियो ।

सार्वजनिक पोखरी भएको जग्गा खरिदबिक्री हुँदै आए पनि कसैले उपभोग भने गर्न सकेको थिएन । केही वर्षअघि उक्त पोखरीमा माटो पुर्न आएका केही व्यक्तिलाई स्थानीयले लखेटेदेखियता पोखरी पोखरीकै रुपमा रहेको छ । पोखरी सार्वजनिक हुनुपर्ने माग गर्दै स्थानीयले ऐतिहासिक पोखरी संरक्षण समिति गठन गरी आन्दोलन गर्दै आइरहेका थिए । नगरपालिकाले पलिस्वाँ पुखुः संरक्षण तथा पुनर्निर्माणका लागि करिब ८करोड रुपैयाँ लाग्ने इस्टमेट तयार गरेको छ ।

पुखुःको चारैतिर पैदलमार्ग निर्माण गर्ने, पोखरीको बीचमा कमलको फूलको प्रतिमा निर्माण गर्ने, शौचालय, बोटिङ स्थल लगायतको लक्ष्य लिएको जनाएको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको पोखरीलाई नगरपालिकाले मौलिक स्वरूपमा निर्माणगर्ने गुरुयोजनामा उल्लेख छ ।

मध्यपुरथिमि नगरपालिकाले यसअघि विष्णु कुण्ड पुनर्निर्माण गरिसकेका छन् भने, दुईपोखरीको जीर्णोद्धार थालेको छ । मध्यपुरथिमि ४ स्थित दुईपोखरीमध्ये एकमा पानी पर्ने, पैदलमार्ग निर्माणलगायत कार्यसम्पन्न गरिसकेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्