दक्ष हुँदा पनि महिला मारमा

माया श्रेष्ठ

काठमाडौँ — कास्कीकी २३ वर्षीया मीना थापा (नाम परिर्वतन) राजधानीको एउटा अस्पतालमा प्रशिक्षार्थी नर्सका रूपमा कार्यरत छिन् । उनले २ वर्षसम्म अस्पतालमा प्रशिक्षार्थी नर्स भएर तालिम गरिन । ‘तालिम सकिइसकेपछि जागिरको लागि अर्को अस्पतालमा गएँ,’ उनले भनिन्, ‘सो अस्पतालमा पनि डेढ वर्षसम्म तालिम गरे मात्रै जागिर पाउने आश्वासन पाएँ ।’

जागिर लगाइदिने आफ्नो मान्छे नहुँदा समस्यामा परेको उनले गुनासो गरिन् । ‘सकिनसकी परिवारले लगानी गरेर पढाएँ,’ उनले भनिन्, ‘जागिर खान जाँदा तालिम गरेर मात्र पाइन्छ भन्छन् ।’ तालिम गरे पनि जागिरको समस्या भएको उनले बताइन् ।


यस्तै, नवलपरासीकी २७ वर्षीया उषा भुसाल काडमाडौंको एक गैरसरकारी संस्थामा कार्यरत थिइन् । गर्भवती भएपछि कार्यालयमा छुट्टी माग्दा बिनाकारण कामबाट निकालिएको उनले बताइन् । ‘उक्त संस्थामा ४ वर्षसम्म काम गरेँ,’ उनले भनिन्, ‘४५ दिन बिदा माग्दा कामबाट निकालिएँ ।’


काम गर्ने क्षमता भए पनि महिला दक्ष जनशक्ति विभिन्न बहानामा कार्यस्थलमा अपहेलित हुने गरेको उल्लिखित घटना उदाहरण मात्रै हुन् ।


राष्ट्रिय महिला आयोगका अधिवक्ता तथा मुद्दा व्यवस्थापक विमला खड्काका अनुसार पुरुषको तुलनामा महिलालाई सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक र राजनीतिक कारणले गर्दा महिलाको अवस्था तुलनात्मक रूपमा कमजोर बनेको हो । महिला राज्यको मूलप्रवाहमा अझै पनि आउन नसकेको उनले बताइन् । दक्ष जनशक्ति प्रयोग भएका निजी क्षेत्रहरूमा समान कामको समान ज्याला महिलाले पाउँदैनन् ।


उनले भनिन्, ‘समान काम भए पनि महिलालाई अक्षम देखाउने परिपाटी छ ।’ बोर्डिङ स्कुल, बैंक, गैरसरकारी संघसंस्था, मिडिया र औद्योगिक क्षेत्रमा काम गर्ने दक्ष महिला जनशक्तिहरूको समस्याका गम्भीर खालका उजुरी आयोगमा आउने गरेको उनले बताइन् । गर्भ अवस्थापछि कामको स्थायित्व नहुँदा महिलाहरू समस्यामा छन् । कार्यस्थलमा महिला प्रत्यक्षपरोक्ष रूपमा यौनहिंसाको सिकार बन्ने गरेको पनि उनले बताइन् । ‘काम गर्ने ठाउँमा असुरक्षित भएको भन्दै आउँछन्,’ उनले भनिन्, ‘एचआईभी/एड्सजस्ता रोगबाट पीडित महिलाहरू कार्यस्थल र बाहिर पनि अपहेलित हुन्छन् ।’


काम गर्ने स्थानमा शिशु स्याहार केन्द्र नहुँदा महिलाहरू झन् समस्यामा फस्ने गरेको उनले बताइन् । जागिरबाट अन्यायपूर्ण तरिकाबाट निकालिएका दक्ष श्रमिक महिलालाई काममा पुनर्बहाली गर्नेसँगै क्षतिपूर्तिको व्यवस्थामा आयोग पनि सहयोग गर्दै आएको उनले बताइन् । ‘काम गर्ने क्षेत्रमा महिलाले क्षमता अभिवृद्धि गर्न आवश्यक छ,’ उनी भन्छिन्, ‘समयको मागसँगै आफ्नो नेतृत्व विकासका लागि अग्रसर आफैँ हुनुपर्छ ।’ काम गर्ने विषय विज्ञता हासिल गरेको खण्डमा अपहेलित हुन नपर्ने जानकारहरू बताउँछन् ।


केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा महिला दक्ष जनशक्ति शिक्षण संस्था, बैंक तथा वित्तीय, औद्योगिक, यातयात, स्वास्थ्य संस्था, उडान, कृषि वन पशुपालन क्षेत्र, फार्म, सामाजिक परिचालक, प्राविधिक आदि क्षेत्रमा काम गर्ने २६ लाख ४० लाख श्रम बजारमा दक्ष जनशक्ति बजारमा छन् ।


तर, यी क्षेत्रमा काम गर्ने महिला विभिन्न समस्यामा पर्ने गरेका छन् । रोजगार सम्झौता नगरी काम गर्ने अनि सम्झौता नगरी काम लगाउने प्रवृत्तिले गर्दा महिला झन् समस्यमा परेको नेपाल ट्रेड युनियनका महासचिव जनक चौधरीले बताए । स्वास्थ्य क्षेत्रमा काम गर्ने महिलाको श्रमशोषण अरू क्षेत्रको तुलनामा बढी हुने गरेको छ । अस्पतालमा नर्सका रूपमा काम गर्ने महिलाहरूको पछिल्लो समय मारमा परेको महासचिव चौधरीले बताए ।


‘तालिमका नाम अस्पतालले श्रम शोषण गरेको छ,’ उनले भने, ‘वर्षौंसम्म तालिमका नाममा न्यूनतम पारिश्रमिकबाट वञ्चित भएका छन् ।’ सरकारले तलबका विषयमा मापडण्ड नबनाउँदा अपवादमा बाहेकका नर्सहरू समस्या परेको उनले बताए । प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३३

प्रतिक्रिया
पठाउनुहोस्

गोसाइँकुण्डमा ‘ईआईए’

केबलकारका दुइटा योजना प्रस्तावित
कान्तिपुर संवाददाता

रसुवा — गोसाइँकुण्डसम्म केबलकार निर्माण गर्नका लागि दुइवटा संस्थाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रक्रिया अघि बढाएका छन् । ईआईए गर्न हालसम्म दुई ठाउँबाट प्रस्ताव आएको छ ।

गोसाइँकुण्ड गाउँपालिका र घ्याङफेदी–गोसाइँकुण्ड केबलकार कम्पनी प्रालि महाराजगन्जले प्रक्रिया अघि बढाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । केबलकार निर्माण गर्न प्रस्तावित क्षेत्र निकुञ्जभित्र पर्छ । गोसाइँकुण्ड गाउँपालिका–६ सदरमुकाम धुन्चेदेखि वडा ५ मा पर्ने धार्मिक तथा पर्यटकीय तीर्थस्थल गोसाइँकुण्डसम्म केबलकार बनाउने प्रस्ताव छ ।

निर्माण गर्न गाउँपालिका र दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माण गर्न घ्याङफेदी–गोसाइँकुण्ड केबलकार कम्पनी प्रालि महाराजगन्जले प्रस्ताव अघि बढाएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए ।

‘केबलकार बनाउने भनेर दुवै स्थानबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस भएको थियो,’ उनले भने, ‘उक्त प्रस्तावमा विभागले निकुञ्जसँग केबलकारको संरचना रहने फिल्डको अनुगमन तथा प्रिफिजिबिलिटी प्रतिवेदन माग गरेको थियो ।’
केबलकारको संरचना रहने भनिएका दुवै ठाउँमा स्थलगत अध्ययन गरेर निकुञ्जले वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि प्रिफिजिबिलिटी प्रतिवेदन विभागमा पठाइसकेको उनले बताए । गोसाइँकुण्ड समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा छ । दुप्चेश्वरदेखि गोसाइँकुण्डसम्म निर्माण गरिने भनिएको केबलकारको दूरी करिब १० किलोमिटर लम्बाइको हुनेछ ।

उक्त दूरीमा २ देखि ३ वटा टर्मिनल र २५ वटा टावर राखिने कम्पनीले प्रस्ताव गरेको छ । त्यसैगरी सदरमुकाम धुन्चेदेखि गोसाइँकुण्डसम्म निर्माण गरिने केबलकार दूरी करिब ६.५ किमि लामो हुने छ । उक्त दूरीमा २ वटा टर्मिनल र २८ वटा टावर राखिने प्रस्ताव गरिएको छ । सदरमुकाम धुन्चेदेखि–गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि गाउँपालिका आफैंले नै पहल गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

‘धुन्चेदेखि–गोसाइँकुण्ड केबलकार निर्माणको प्रिफिजिबिलिटी रिर्पोट तयार भइसकेको छ,’ उनले भने । भ्रमणका लागि फ्रान्स पुगेका तामाङले फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई प्रिफिजिबिलिटी रिर्पोट बुझाएका छन् । केबलकार निर्माणका लागि वातावरण निर्माण तथा प्रचारमा सहयोग पुर्‍याउनका लागि प्रतिवेदन बुझाएको उनले बताए ।

सार्वजनिक निजी साझेदारीमा धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माण गर्ने योजना गाउँपालिकाको छ । निर्माण गर्न करिब १ अर्ब ७५ करोड लाग्ने प्रारम्भिक अध्यनबाट देखिएको छ । धुन्चे–गोसाइँकुण्ड केबलकार छोटो दूरीको साथै सस्तोमा निर्माण हुने अध्यक्ष तामाङले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×