बन्ने भो स्वयम्भूको कमलपोखरी

नुमा थाम्सुहाङ

काठमाडौँ — पाँच वर्षदेखि अघि बढ्न नसकेको स्वयम्भूको दक्षिणवर्ती फेदमा अवस्थित ऐतिहासिक महत्त्वको कमल पोखरी पुनर्निर्माणको कामलाई महानगरले अघि बढाउने भएको छ । 

पुनर्निर्माणका लागि महानगरले करिब २ करोड रुपैयाँ खर्च गर्ने भएको छ । पुनर्निर्माण गर्दा पोखरी कस्तो हुने भन्ने नक्सा बनाउने काम भइरहेको महानगरले जनाएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अब छिट्टै नै नक्साअनुसारको काम अघि बढ्नेछ । ‘६ महिनादेखि पोखरी पुनर्निर्माणको प्रक्रिया चलिरहेको भए पनि अब भने डिजाइन अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘महानगरबाट पारित हुन केही समय लाग्छ ।’ प्रक्रिया सकिएको एक वर्षमा पोखरीको पुनर्निर्माण कार्य सकिने प्रवक्ताले जानकारी दिए ।

इन्जिनियर रुपेश श्रेष्ठका अनुसार डिजाइनमा प्राचीन वस्तुको झल्को दिने नेवारी र बौद्ध वास्तुकलाको सम्मिश्रण गरिएको छ । पोखरीमा जोडिएको एक्युपंचर पार्कलाई अझ विस्तार गर्नको निम्ति थप चौतारा, चिया पसल र जडिबुटी बगैँचा पनि बनाइने भएको छ ।

‘पोखरी नेवार समुदाय र बौद्धधर्मसँग पनि जोडिएको छ । त्यसैले हामीले सकेसम्म मौलिक परम्पराको झल्को दिने कोसिस गरी यसको डिजाइन गरेका छौं,’ उनले भने, ‘यसमा हामीले कंक्रिटको प्रयोग गरेको छैनौँ । सबै मौलिक परम्पराको सुरक्षा गर्दै आधुनिकतासँग जोड्ने प्रयास गरेका छौँ ।’ कुनै समय स्वयम्भूको सौन्दर्य मानिने कमलपोखरी वर्षौंदेखि जीर्ण अवस्थामा छ ।

पोखरीको सुरक्षाको लागि वरिपरि फलामको बार लगाइएको छ । तर, पोखरी पानीले नभई झाडीले ढाकेको छ । पोखरीमा एक थोपा पनि पानी छैन । असरल्ल बढेका घाँस र बुट्यानले त यो ठाउँ पहिले पोखरी थियो भन्ने पनि पत्याउन मुस्किल पर्छ ।
पोखरीको उत्तरपट्टिको खाली जग्गामा केही पसल सञ्चालनमा छन् ।

पोखरीको चारै किनारमा गिट्टी बिच्छाएर बनाइएको हिँड्ने बाटोका कारण मानिस यहाँ टहलिन भने आउँछन् । यो बाटोलाई पोखरी सुधार समितिले एक्युपंचर पार्क भनी नामकरण गरेका छन् । खाली खुट्टाले चुच्चा कंकडमा टेक्दा रक्त सञ्चालन सजिलोसँग हुने भएकाले रक्तचापका बिरामीहरू यहाँ आउने गरेको पोखरी सुधार समितिका अध्यक्ष किरणराज शाहीले बताए ।

त्यसै पार्ककै कारण पोखरीवरपर चहलपहल भने बढिरहेको छ । समय मिलेको बेला शीतल हावाको आनन्द लिन पोखरीको छेउमा आएर बस्ने गरेकी ६७ वर्षीया कान्छी थापा मगरलाई यो ठाउँको निकै माया लाग्छ । पहिलेजस्तै यहाँ पानी भइदिए हुन्थ्यो भन्ने उनी ठान्छिन् । मयन्ती स्कुल छाउनीमा नानीहरू हेर्ने काम गर्ने उनी भन्छिन्, ‘अहिले गर्मी छ, दिउँसो शीतल हावा चल्छ । कहिले काहीँ फुर्सदको बेला पोखरी छेउमा आराम गर्न आउँछु ।’ पोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएमा सबैलाई आराम गर्ने स्थान हुने उनले आशा पोखिन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

परम्परागत घरलाई अनुदान

कान्तिपुर संवाददाता

भक्तपुर — भुइँचालोले खण्डहर पारेको भक्तपुर सहर विस्तारै जुर्मुराउँदै छ जहाँ परम्परागत घर बनिरहेका छन् । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर बनाउने हरेकलाई अनुदानको व्यवस्थासमेत गरेको छ ।

यसले गर्दा यहाँ हेर्दै चिटिक्क परेका उस्तै आकारका कलात्मक घरहरू थोरै संख्यामा भए पनिठडिँदै गइरहेका छन् ।

नगरपालिकाले चालू आर्थिक वर्षमा परम्परागत शैलीमा घर निर्माण गर्ने नगरको पुरानो क्षेत्रभित्रका नगरवासीहरूलाई मोहडाका लागि इँटा, झिँगटी र काठमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान दिने गरेको छ । यसबाहेक भिरालो छानाको निर्माणमा पनि लागतको पनि ३५ प्रतिशतसम्मको सहुलियत उपलब्ध गराउने व्यवस्था भएको मेयर सुनील प्रजापतीले बताए । भक्तपुर नगरपालिकाका अनुसार हालसम्म नगरका २ सय ६५ जनाले घर बनाएकामध्ये १६ जनाले परम्परागत शैलीमा घर निर्माण गरेका छन् ।

सम्मानसहित कदरपत्र
नगरपालिकाले भक्तपुर नगरको पुरानो क्षेत्रको परम्परागत सौन्दर्यलाई कायम राख्ने गरी घर बनाउनेलाई सम्मानस्वरूप रकम एवं प्रशंसापत्र वितरण गर्दै आएको छ । परम्परागत शैलीका भवनहरूको स्वरूपलाई कायम राख्ने कार्यमा लागि नगरवासीले सुविधा पाएपछि उनीहरू थप उत्साहित भएका छन् ।

परम्परागत वास्तुकला शैलीमा बनेका घरहरूमा आधुनिक एसी र हिटरबिना नै मौसमअनुकूल हुने गरेको छ । संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार वास्तुकला शैलीमा बनेको घरको प्रयोग गरिएका इँटा, माटो, चुना, काठ आदि सामग्री वातावरणमैत्री हुनाले पर्यावरणलाई पनि यस्ता घरले बिग्रन दिँदैनन् । घरघरमा बिछ्याइएका परालले बुनेका सुकुल र वातावरणमैत्री सामग्रीहरूले गर्दा परम्परागत घरहरूमा गर्मीका शीतल र जाडोमा न्यानोपन अनुभूत हुने उनले बताए ।

भक्तपुरे संस्कृतिको अध्ययनकर्ता पद्मसुन्दर महर्जनका अनुसार उपत्यकाका अलवा चित्लाङ, खोपासी, साँगा, नाला, नुवाकोटलगायत आसपासका बस्तीका पुराना घरहरू भूकम्पका दृष्टिले पनि बलिया नै थिए । विस्तारै मानिस परम्परागत सिप र शैलीबाट विभुख हुँदै सुर्कीको ठाउँमा सिमेन्ट र काठको ठाउँमा फलामको प्रयोग गरी घर बनाउन थालेपछि पुरानो वास्तुकला नै लोप हुन लागेको अवस्थामा भक्तपुरवासीले थोरै भए पनि परम्परागत शैलीको बासस्थान बनाउनु राम्रो भएको संस्कृतिविद्हरू बताउँछन् ।

–निशा कुस्मा

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्