कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

परम्परागत घरलाई अनुदान

भक्तपुर — भुइँचालोले खण्डहर पारेको भक्तपुर सहर विस्तारै जुर्मुराउँदै छ जहाँ परम्परागत घर बनिरहेका छन् । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर बनाउने हरेकलाई अनुदानको व्यवस्थासमेत गरेको छ ।

यसले गर्दा यहाँ हेर्दै चिटिक्क परेका उस्तै आकारका कलात्मक घरहरू थोरै संख्यामा भए पनि ठडिँदै गइरहेका छन् ।


नगरपालिकाले चालू आर्थिक वर्षमा परम्परागत शैलीमा घर निर्माण गर्ने नगरको पुरानो क्षेत्रभित्रका नगरवासीहरूलाई मोहडाका लागि इँटा, झिँगटी र काठमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान दिने गरेको छ । यसबाहेक भिरालो छानाको निर्माणमा पनि लागतको पनि ३५ प्रतिशतसम्मको सहुलियत उपलब्ध गराउने व्यवस्था भएको मेयर सुनील प्रजापतीले बताए । भक्तपुर नगरपालिकाका अनुसार हालसम्म नगरका २ सय ६५ जनाले घर बनाएकामध्ये १६ जनाले परम्परागत शैलीमा घर निर्माण गरेका छन् ।


सम्मानसहित कदरपत्र

नगरपालिकाले भक्तपुर नगरको पुरानो क्षेत्रको परम्परागत सौन्दर्यलाई कायम राख्ने गरी घर बनाउनेलाई सम्मानस्वरूप रकम एवं प्रशंसापत्र वितरण गर्दै आएको छ । परम्परागत शैलीका भवनहरूको स्वरूपलाई कायम राख्ने कार्यमा लागि नगरवासीले सुविधा पाएपछि उनीहरू थप उत्साहित भएका छन् ।


परम्परागत वास्तुकला शैलीमा बनेका घरहरूमा आधुनिक एसी र हिटरबिना नै मौसमअनुकूल हुने गरेको छ । संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार वास्तुकला शैलीमा बनेको घरको प्रयोग गरिएका इँटा, माटो, चुना, काठ आदि सामग्री वातावरणमैत्री हुनाले पर्यावरणलाई पनि यस्ता घरले बिग्रन दिँदैनन् । घरघरमा बिछ्याइएका परालले बुनेका सुकुल र वातावरणमैत्री सामग्रीहरूले गर्दा परम्परागत घरहरूमा गर्मीका शीतल र जाडोमा न्यानोपन अनुभूत हुने उनले बताए ।


भक्तपुरे संस्कृतिको अध्ययनकर्ता पद्मसुन्दर महर्जनका अनुसार उपत्यकाका अलवा चित्लाङ, खोपासी, साँगा, नाला, नुवाकोटलगायत आसपासका बस्तीका पुराना घरहरू भूकम्पका दृष्टिले पनि बलिया नै थिए । विस्तारै मानिस परम्परागत सिप र शैलीबाट विभुख हुँदै सुर्कीको ठाउँमा सिमेन्ट र काठको ठाउँमा फलामको प्रयोग गरी घर बनाउन थालेपछि पुरानो वास्तुकला नै लोप हुन लागेको अवस्थामा भक्तपुरवासीले थोरै भए पनि परम्परागत शैलीको बासस्थान बनाउनु राम्रो भएको संस्कृतिविद्हरू बताउँछन् ।


–निशा कुस्मा

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?