कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

महानगर बनाउने प्रविधि छनोट

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘एनिटाइम टोइलेट’ एपको डेभलपरलाई पुरस्कृत गरेको छ । महानगरले गत मंसिरबाट सुरु गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा उक्त एपलाई उत्कृष्ट मानी ५ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो ।

‘हाम्रो काठमाडौं, हामी बनाउँछौं’ नारा दिएर सुरु गरिएको प्रतिस्पर्धाका विजेता उक्त एपबाट सहरभित्रका शौचालयहरू स्मार्टफोनबाटै पत्ता लगाई प्रयोग गर्न सकिने छ ।


बुधबार सभागृहमा आयोजित एक कार्यक्रमबीच एपका विकासकर्ताहरूलाई पुरस्कार प्रदान गरियो । महानगरपालिकाले विभिन्न ४ विषयमा हुने समस्या समाधानका लागि प्रविधिको उपयोग कसरी गर्ने भन्ने सन्दर्भमा युवाहरूबीच प्रतिस्पर्धा गराएको थियो । प्रत्येक समूहबाट विजेता भएकालाई २/२ लाख र उपविजेतालाई १/१ लाख नगद प्रदान गरिएको हो ।


महानगरीय सामुदायिक सेवातर्फ डिजिटल नेपाल विजेता भएको छ भने उपविजेता नेपाल मेड नामक प्रविधि टोली छ । डिजिटल नेपालको टोलीले विद्यालय तथा अन्य संस्थामा कर्मचारीको नियमितता, कार्य सम्पादनको अवस्था, गुनासा आदिबारे प्रमुखले सजिलै जानकारी पाउन सक्ने एपको विकास गरेकाले समूह विजेता भएको हो ।


यसैगरी सहरी पूर्वाधार विकासतर्फ ट्राफिक म्यापका निर्माता टोली पुरस्कृत भएका छन् । उनीहरूले सवारी संख्या र प्रकृति छुट्याएर गन्न सक्ने क्षमता भएको प्रविधि विकास गरेबापत् विजेता भएका हुन् । उपविजेता सफा सहर नामक टोली भएको छ ।


सार्वजनिक प्रशासन तथा व्यवस्थापन समूहतर्फ भूमि एपलाई उत्कृष्ट भनी पुरस्कृत गरिएको छ । उक्त एपले जग्गा जमिनबारे डिजिटल जानकारी गराउने र तथ्यांक राख्ने गर्दछ ।


उक्त समूहको उपविजेता अटोमाटालाई घोषणा गरिएको छ । यसैगरी समुदाय र वातावरण समूहमा एनिटाइम टोइलेट एप निर्मातालाई पुरस्कृत गरिएको छ । आफैंलाई जन्डिस हुँदा शौचालयको समस्या भोग्नुपरेपछि एप निर्माताले यसबारे सोच्न पुगेका थिए । यस एपमा प्रयोगकर्ताले विभिन्न रेस्टुरेन्ट, होटल, सार्वजनिक शौचालयजस्ता स्थानमा रहेका शौचालयबारे जानकारी लिन सक्छन् । यस्तै प्रविधिको प्रयोग श्रीलंकामा पनि भइहरेको टोलीले जनाएको छ ।


गत मंसिरमा युवाहरूलाई महानगरभित्रका समस्या समाधानका लागि प्रविधिको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे आआफ्ना योजना पेस गर्न आहृवान गरिएको थियो । ६ महिनाभित्रमा ती योजनामध्येबाट अन्तिम चरणमा जम्मा २४ वटा पुगेका थिए । यो समयमा उनीहरूका योजनालाई कार्यान्वयनको चरणमा कसरी लाने, ती योजनालाई अझ परिष्कृत बनाउने, व्यावसायिकता तथा कानुनी पाटोलगायतबारे सहभागीलाई जानकारी गराइएको थियो ।


आफूले सोचेको विषयलाई प्रविधिसँग जोड्नुका साथै त्यसलाई कसरी व्यावसायीकरण गर्न सकिन्छ भनेर योजना बनाउने जिम्मा प्रतिस्पर्धीलाई दिइएको थियो । प्रतिस्पर्धामा प्रविधिका उपयोग गर्ने, निर्माणसँग सम्बन्धित तथा सरोकारवालालाई निर्णायकका रूपमा राखिएको थियो ।


कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले स्थानीय सरकारका तर्फबाट युवा र प्रविधिको प्रयोग गरी समस्या समाधानका लागि आयोजना गरिएको यो नेपालकै पहिलो प्रतिस्पर्धा भएको दाबी गरे । उनले भने, ‘महानगरभित्रका समस्या समाधान गर्न यसले निकै महत्त्वपूर्ण भूमिका खेल्ने छ । यो अन्य स्थानीय तहका लागि पनि अनुशरणयोग्य हुने विश्वास लिएको छु ।’ शाक्यले महानगर सुधारका यी उपायले महानगरका कार्य तथा प्रशासनमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।


कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले युवाहरू यति उत्साहपूर्वक सहभागी हुनु सकारात्मक रहेको भन्दै अब प्रविधिलाई देश विकासमा उपयोग गर्नुपर्ने धारणा राखे । उनले युवाले समस्या छ भने पनि त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर उपाय सुझाउनुले उनीहरूभित्रको सीप देशभित्रै प्रयोग भएको भन्दै खुसी व्यक्त गरे । ‘जबसम्म म आफ्नो देश बनाउँछु भन्ने अठोट हुन्न, देश अगाडि बढ्न सक्दैन,’ ओलीले थपे, ‘हामी प्रविधिको उपयोग कृषिमा पनि गर्ने तयारीमा छौं ।’

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?