कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दरबार हाईस्कुल कसको हो ?

काठमाडौँ — दरबार हाईस्कुल भूकम्पले भत्काएपछि चिनियाँ सहयोगमा नयाँ निर्माण भएको छ । सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको ४५ कोठाको चारतले भवन भव्य छ । अबको ६ महिनाभित्र निर्माणका सबै काम सम्पन्न हुनेछन् । 

नयाँ संरचना पाएको मुलुककै जेठो शिक्षालयभित्र दुई विद्यालय छन् । दुवैबीच विवाद छ । विवाद निरूपण नभई नयाँ संरचनाको उपयोगमा पनि असर पर्ने अवस्था छ ।


शिक्षा मन्त्रालयले अझैसम्म विवाद निरूपण नगर्दा नयाँ संरचना उपयोग कसरी हुने भन्ने अझै प्रस्ट छैन । निर्माणको पहिलो चरण पूरा गरेपछि चिनियाँ कम्पनीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय, काठमाडौं महानगरपालिका, विद्यालयका शिक्षक र विद्यार्थी प्रतिनिधिलाई बोलाएर अवलोकन गराइसकेको छ । ‘चिनियाँ सहयोगमा विद्यालय निर्माण आयोजना’ अन्तर्गत भवन बनिरहेको हो । ‘चारै तलाका सबै कोठा बनिसकेका छन्,’ पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) निर्देशक इमनारायण श्रेष्ठले भने, ‘निर्माण कम्पनीले सबै काम सकेर आगामी डिसेम्बरमा हस्तान्तरण गर्छु भनेको छ ।’


दरबार स्कुल स्थापना भएको १ सय ६६ वर्ष पुगेको छ । नयाँ भवन बनेसँगै अब कसरी सञ्चालन होला भन्ने चौतर्फी चासो छ । यो विद्यालय काठमाडौं महानगरपालिका–२७ अन्तर्गत रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफल जग्गामा छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९१० मा थापाथलीस्थित आफ्नै दरबारको आँगनमा पाठशाला सुरु गरेका थिए । त्यसैले उक्त पाठशालालाई ‘दरबार स्कुल’ भनेर चिनिएको हो ।


उक्त पाठशाला विभिन्न ठाउँ सार्दै रानीपोखरी परिसरमा पुर्‍याइएको हो । विसं १९३४ मा दरबार स्कुलमै संस्कृत पाठशालासमेत स्थापना भएको थियो । १९४८ सालमा रानीपोखरी छेउमा दुई तलाको एउटा ठूलो र लामो भवन बनेको थियो । उक्त भवनको भुइँतलामा संस्कृत मावि र माथिल्लो तलामा भानु मावि सुचारु थिए । भूकम्पले ध्वस्त भएपछि त्यहाँ पढदै गरेका दुवै विद्यालयका विद्यार्थीलाई प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा सारेर पढाइँदै आएको छ ।


सामुदायिक विद्यालयप्रति समुदायको चासो घटेको छ । भानु माविमा शिशु कक्षादेखि १० सम्म पढाइन्छ । प्रधानाध्यापक हेमचन्द्र महतोका अनुसार शैक्षिक सत्र २०७६ मा १ सय ५० जति विद्यार्थी भर्ना भएका छन् । अधिकांश विद्यार्थी काठमाडौं बाहिरबाट आएर व्यापार, व्यवसाय, मजदुरी गर्ने परिवारका छोराछोरी छन् ।


२१ जना शिक्षक र ४ जना कर्मचारी छन् । त्यसैगरी संस्कृततर्फ कक्षा ६ देखि ११ सम्म सुचारु छ । प्रधानाध्यापक बद्री दाहालका अनुसार चालु शैक्षिक सत्रमा १० कक्षासम्म १ सय ७० विद्यार्थी छन् । अधिकांश विद्यार्थी उपत्यका बाहिरका छन् । १५ शिक्षक र ६ जना कर्मचारी कार्यरत छन् ।


यी दुई विद्यालयबीच सम्पत्तिको विवाद पुरानै हो । जग्गाको स्वामित्व भानु माविको नाममा छ । विद्यालय भत्काएका पुराना सामग्री बिक्रीबापत प्राप्त नगदसमेत उसैसित छ । संस्कृत माविले जग्गा र नगदमा आफ्नो हिस्सा बराबरी हुनुपर्ने शिक्षा मन्त्रालयसित माग गरेको छ । मन्त्रालयले सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । ‘ऐतिहासिक विद्यालयको एकै छानोमुनि दुई विद्यालय छन्,’ उनले भने, ‘दुवैको अस्तित्व रहने गरी स्वामित्व बाँड्ने या गाभेर सुचारु गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं ।’


महानगरपालिकाको २७ नम्बरका वडाध्यक्ष चिनियामान बज्राचार्य यी दुई विद्यालय गाभ्ने या अलग–अलग सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताए । ‘साधारण र संस्कृत दुवै धार अलग अलग सञ्चालन गर्ने भनेर अगाडिको भागमै दुईवटा छुट्टाछुट्टै ढोका बनाइएको छ,’ भित्रको संरचना एउटै रहेको उल्लेख गर्दै उनले भने, ‘अब कसरी सञ्चालन गर्ने भन्नेबारे महानगरपालिका बोर्डले निर्णय गर्नेछ । त्यसका निम्ति शिक्षा मन्त्रालयको परामर्श महत्त्वपूर्ण हुनेछ । सम्भवतः वरिपरिका अन्य सरकारी विद्यालयसमेत त्यसैमा गाभिन सक्छ ।’ भवन संरचनाभित्र प्रधानाध्याक, प्रशासन, लेखा शाखा कक्ष अलग रहेको उनले जनाए ।


महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले दरबार हाईस्कुललाई विद्यालय तहकै रूपमा सञ्चालन गरिने बताए । यो स्कुलमा स्थानीय नेवार समुदायका बालबालिका पढ्ने वातावरण बन्छ ? ‘महानगरले विद्यालयमा विद्यार्थी संख्या बढाउने र गुणस्तरीय शिक्षा अभिवृद्धिको पहल गर्नेछ,’ प्रवक्ता डंगोलले भने । निर्माण चरणमै रहेकाले सञ्चालनबारे निचोडमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?