१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

न्युरोडमा सवारीसाधन पार्क गर्न ठाउँ खाली छ कि छैन एपबाटै जान्न सकिने

सुरु भयो ‘स्मार्ट पार्किङ’
सीमा तामाङ

काठमाडौँ — अव्यवस्थित पार्किङले निम्त्याएको समस्यालाई हल गर्न भन्दै काठमाडौं महानगरपालिकाले बिहीबारदेखि ‘स्मार्ट पार्किङ’ सञ्चालनमा ल्याएको छ । महानगरले पहिलोपटक राजधानीको व्यस्त रहने क्षेत्र न्युरोडमा सूचना प्रविधिमा आधारित पार्किङ प्रणाली प्रयोगमा ल्याएको हो ।

न्युरोडमा सवारीसाधन पार्क गर्न ठाउँ खाली छ कि छैन एपबाटै जान्न सकिने

पार्किङ गर्न मिल्ने र पार्किङ अवधिको विद्युतीय अभिलेख रहने प्रणाली नै स्मार्ट पार्किङ हो, जसमा सवारीसाधन रोक्ने ठाउँ खाली भए/नभएको अनलाइनबाटै थाहा पाउन सकिन्छ ।

युरोप अमेरिकातिर धेरैअघिदेखि प्रचलनमा आएको यो प्रणाली नेपालमा भने पहिलो अनुभव हो ।

सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा मात्र यो प्रणाली लागू गरिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार न्युरोडका प्युखा मार्ग (रामेश्वर मिठाई पसलको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने बाटो), खिचापोखरी (आरबी कमप्लेक्सको अगाडि), पाको (ताम्राकार हाउसको अगाडि) र धर्मपथमा स्मार्ट पार्किङको व्यवस्था गरिएको छ । यी पाँच ठाउँमध्ये धर्मपथमा मात्रै गाडी पार्किङको व्यवस्था छ जसमा ६० वटा गाडी एकै पटक राख्न मिल्छ । अन्य पार्किङस्थलको कूल क्षमता ८ सय मोटरसाइकल अटाउने छ ।

‘बिहीबारदेखि एक साता परीक्षण गछौँ,’ उनले भने, ‘परीक्षण अवधिभर जनसाधारणले निःशुल्क पार्किङ गर्न पाउनेछन्, त्यसपछि सशुल्क पार्किङ हुने छ ।’

महानगर र हिृवल्स ट्रली योर्स कम्पनीको संयोजकत्वमा तयार पारिएको एप्सले चालकलाई पार्किङ स्थल खोज्नुपर्ने, बाटोमा पार्क गरे पैसा तिर्नुपर्ने र महानगरले बाइक उठाउने समस्याबाट मुक्त गर्ने अपेक्षा गरिएको हो । देश डिजिटल युगमा प्रवेश भएसँगै आम मानिस पनि डिजिटल क्षेत्रमै केन्द्रित भएकाले पार्किङ क्षेत्रमा पनि यो एप्स उपयुक्त हुने हिृवल्स कम्पनीले जनाएको छ ।

सम्झौताअनुसार स्मार्ट पार्किङबाट उठेको शुल्कको ८० प्रतिशत कम्पनीलाई र २० प्रतिशत महानगरले पाउनेछ । हाल ती पार्किङ स्थलमा २० देखि २५ जना कर्मचारी खटाएको र सशुल्क सेवा सुरु भएपछि ५० देखि ६० जना कर्मचारी खटाइने कम्पनीका आईटी कोअर्डिनेटर हरीश अग्रवालले बताए ।

स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटीएम’ एप डाउनलोड गर्नुपर्नेछ । एप डाउनलोडपछि आफूलाई नजिक पर्ने ठाउँमा बुक गर्न सकिनेछ । एपमा रियल टाइममा पार्किङस्थलमा ठाउँ खाली भए नभएको हेर्न मिल्ने सुविधा छ । पार्किङका लागि १५ मिनेटअघि बुकिङ गर्नुपर्ने व्यवस्था महानगरले लागू गरेको छ । बुकिङ गर्दा बाइक वा गाडीको नम्बरसमेत इन्ट्री गर्नुपर्ने छ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ । बुकिङ गरेको समयदेखि पार्किङ शुल्क लाग्ने नियम बनाइएको छ । बाइकका लागि एक घन्टाको २५ रुपैयाँ र गाडीका लागि ६० रुपैयाँ शुल्क तोकिएको छ ।

पार्किङ स्थलमा दिइएको चिट हराएमा बाइक चालकले २०० रुपैयाँ र गाडी चालकले ४०० रुपैयाँ जरिवाना स्वरूप दिनुपर्ने व्यवस्था भएको हरीशले बताए । एप्समा बुकिङ नगरी त्यहाँ जानेहरूले भने त्यहाँ रहेको इलोक्ट्रोनिक बोर्डमा देखाइएअनुसारका खाली ठाउँमा पार्किङ गर्न सक्ने छन् ।

हाल नगद भुक्तानीको व्यवस्था भए पनि केही समयपछि अनलाइन भुक्तानी सेवा ल्याउने कम्पनीको योजना छ । पार्किङको पहिलो दिनमै सबै पार्किङ स्थल भरिभराउ थिए । स्मार्ट पार्किङ सजिलो र भरपर्दो भएको सेवाग्राहीको अनुभव छ । पार्किङ स्थलको प्रवर्द्धन र ग्राहकहरूमा बानी पार्नका लागि कम्पनीले बिहीबारबाट लागू हुने गरी एक हप्ता निःशुल्क पार्क गर्न पाइने योजना लागू गरेको छ ।

सशुल्क भएपछि स्मार्ट पार्किङ झनै व्यवस्थित हुने अनुमान सेवाग्राही जेपी अधिकारीको छ । जनताका लागि विविध माध्यमबाट सरकारले सेवा तथा सुविधा दिइरहेको हुनाले यसको स्वागत गर्नुपर्ने उनले बताए ।

‘स्मार्ट पार्किङको व्यवस्था राम्रो छ,’ उनले भने, ‘यस्तै पार्किङ सिस्टम अन्य ठाउँमा पनि भए झन राम्रो हुन्थ्यो, सबै चालकलाई सहज हुने थियो ।’

घरबाटै बुकिङ गरेर आएका सुनील बज्राचार्यको अनुभवमा स्मार्ट पार्किङ सुविधाजनक छ । ‘चालकहरूको समस्याको अन्त्य गर्न यो पार्किङ व्यवस्था काम आउने देखियो,’ उनले भने ।

‘स्मार्ट पार्किङ’ चालकलाई जानकारी दिन र सुसूचित गराउनका लागि केही दिन अघिदेखि नै परीक्षण अवधि भनेर सुरु गरिएको सेक्युरिटी गार्ड होम कार्कीले बताए । ‘युवायुवतीले यस्ता प्रणालीलाई सजिलै व्यवहारमा ल्याउन सक्छन्, तर बूढापाकाहरूलाई सम्झाउन र एप्सबारे बुझाउन गाह्रो छ,’ उनले भने । उनका अनुसार बिहीबारसम्म धेरै चालकले पार्किङबारे जानकारी पाइसकेका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?