सरकारविरुद्ध प्रदर्शन 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक घटक सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट विद्यार्थीहरुले मंगलबारदेखि प्रदर्शन थालेका हुन् । उनीहरुले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग ऐन, वाइडबडी जहाज खरिद प्रकरण, सुन तस्करी, सरकारी जग्गा अतिक्रमण, ऐनसेल कर छली लगायत मुद्दा उठाएर सडक प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा विद्यार्थी नेताहरु मोतीलाल भण्डारी, लिलावल्लभ दाहाल, शिव रिमाल लगायतको उपस्थिति थियो । उनीहरुले यस्तो प्रदर्शन जारी राख्ने बताए । पार्टी केन्द्रीय कार्यसमितिले तत्कालीन नैनसिंह महरको कार्यसमितिलाई हटाएपछि नेविसंघ भद्रगोल अवस्थामा छ । 'सरकारले यत्रो काण्डैकाण्ड मच्चाउँदा पनि नेविसंघको भूमिका कतै देखिएन, पार्टीले मुल नेतृत्व गठन नगरे पनि हामीले स्वत:स्फूर्त सरकार विरुद्धको प्रदर्शन थालेका हौं' विद्यार्थी नेता भण्डारीले बताए ।


विश्वविद्यालयको स्वायत्तता माथिको हस्तक्षेप र निजी विद्यालयले लिने चर्को शुल्क तथा शिक्षा क्षेत्रमा भएको बेथितिको विरुद्ध प्रदर्शन जारी राख्ने उनीहरुको योजना छ । मंगलबार शंकरदेव क्याम्पसबाट निस्केको जुलुस बागबजार, पुतलीसडक हुँदै पद्यकन्या क्यापसमा पुगेर सभामा परिणत भएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्

सिंगै क्याबिनेट अञ्चल अस्पताल सरससफाईमा पुगेपछि...

अर्जुन शाह

काठमाडौँ — एकाबिहानै मुख्यमन्त्री त्रिलोचन भट्टसहित सुदूरपश्चिम प्रदेशको सिंगै क्याबिनेट हातहातमा झाडु लिएर धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुगेपछि हल्लीखल्ली भयो । एक जना राज्यमन्त्रीसहित ८ जना मन्त्री र मन्त्रालयका सचिवहरु अस्पतालको सरसफाई गर्न भन्दै सेतीमा पुगेका थिए ।

गणतन्त्र दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाईमा मुख्यमन्त्री भट्टसहित सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदी, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, आर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी र पर्यटन राज्यमन्त्री प्रकाश रावल तथा मन्त्रालयका सचिवहरु अञ्चल अस्पताल सफाईमा जुटेका थिए ।
कतिपयले भने मन्त्रीहरुको झाडु लगाउने कार्य सस्तो लोकप्रियता भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । हाल सेती अञ्चल अस्पताल आन्तरिक र बाह्रय कारणले लथालिंग अवस्थामा छ । त्यसक्रममा मन्त्रीहरुले असपतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा र समस्याका बारेमा पनि विरामीहरुसँग सोधपुछ गरेका थिए । मन्त्रीहरुले सुदूरपश्चिमकै रेफरल सेन्टरका रुपमा रहेको सेती अस्पतालको स्तरोन्नती गर्न प्रदेश सरकार लागि परेको बताएका छन् । सामाजिक विकास मन्त्री सुवेदीले सेतीलाई प्रदेशकै नमुना अस्पताल बनाउन प्रयासरत रहेको बताए ।

प्रकाशित : जेष्ठ १४, २०७६ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×