१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बालकोटको अन्तर्राष्ट्रिय रूपमै चर्चा : बस्नेत 

भक्तपुर — बालकोट सिरुटार हुँदै बिरुवा पुग्ने सडक विस्तार र कालोपत्रे गर्ने काम सोमबारदेखि सुरु भएको छ । सङ्घीय सरकारले छुट्ट्याएको ६ करोड रुपैयाँ बजेटले उक्त सडक विस्तार हुन लागेको हो । पूर्व उद्योगमन्त्री एवं भक्तपुर-२ का प्रतिनिधिसभा सांसद महेश बस्नेतको पहलमा उक्त सडक विस्तार भएको हो ।

बालकोटको अन्तर्राष्ट्रिय रूपमै चर्चा : बस्नेत 

बस्नेतले सोमबार उक्त सडक विस्तार शिलान्यास गरेका हुन् । त्यसत्रममा बोल्दै उनले भक्तपुरमा विकासको लहर आएको र त्यसैको एक उदाहरण सूर्यविनायकको विकासका काम रहेको उल्लेख गरे । उपत्यकाभित्रका ३ जिल्लामा ललितपुरको सैबु भैंसेपाटी, काठमाडौँको बुढानीलकण्ठ र भक्तपुरको बालकोट क्षेत्र सम्भावनाको क्षेत्रमा रहेपनि वर्षौँदेखि बालकोट उपेक्षामा रहेको उनले बताए ।

‘आजकाल त्यस्तो छैन । बालकोटको देशमा मात्र होइन । अन्तर्राष्ट्रिय रूपमै चर्चा हुन्छ । मुलुकको प्रधानमन्त्री बस्ने स्थान हो बालकोट’, कार्यत्रममा बोल्दै सांसद बस्नेतले भने,‘कुनै राजनीतिक सन्दर्भ बुझ्न परेपनि बालकोटको धारणा के रैछ भन्ने गरिन्छ । त्यो प्रधानमन्त्री केपी ओलीको निवास बालकोट भएको कारण हो । त्यसैले पनि यो ठाउँ पहिले जस्तो पछाडि पर्छ भनेर नसोचौं ।’


पूर्व मन्त्री बस्नेतले बालकोटलाई कैलाश हिमालको संज्ञा दिँदै सिङ्गो भक्तपुर मानसरोवर रहेको बताए । काठमाडौँको बालकुमारीदेखि भक्तपुरको रानीकोट सम्मको भित्री बाटोको टेन्डर हुन लागेको जानकारी दिँदै उनले भक्तपुरले विकासको मुहार फेर्न लागेको दाबी गरे । ‘अरनिको राजमार्ग जोड्ने भित्री बाटो १३ वटा भन्दा बढी विस्तार भइरहेका छन्’, बस्नेतले भने,‘बालकोट केन्द्रबिन्दुमा छ । अब बालकोटले बजेट खोज्नुपर्दैन । बजेटले बालकोट खोज्छ । त्यसको राम्रो सदुपयोग गरौँ ।’


सूर्य विनायक नगरपालिका अन्तर्गत गर्ने बालकोटमा पछिल्लो समय विकास निर्माणका काम तीव्र ढङ्गले बढिरहेका छन् । बालकुमारीदेखि बालकोट हुँदै साँगा जोड्ने बाटो, नयाँ ठिमीको पुलदेखि बालकोट हुँदै ललितपुरको लुभु जोड्ने बाटो, नयाँ ठिमीबाटै दधिकोटको पानी ट्यांकी हुँदै बिरुवा जाने बाटो अघि बढिरहेको छ । हनुमन्ते खोला सफाइ अभियान हरेक हप्ता चलिरहेको छ । खानेपानीको अभाव मेटाउन सांसद बस्नेतकै पहलमा मेलम्चीको पानी भक्तपुरका विभिन्न स्थानमा पुर्‍याइने भएको छ ।


भक्तपुरको पाण्डुबजारमा ट्यांकी बनाई बालकोट लगायत विभिन्न स्थानमा मेलम्चीको पानी पुर्‍याइने काम भइरहेको जानकारी बस्नेतले दिए । त्यस्तै केही सातापछि प्रधानमन्क्री रोजगार कार्यत्रम अन्तर्गत २ करोड ५० लाख रुपैयाँको कार्यक्रम सुरु हुन लागेको जानकारी पनि उनले दिए ।


‘यो पैसाले बेरोजगार युवाले विभिन्न काम गरेर पैसा लिन सक्छन् । त्यसमा हामी कुनै भेदभाव गर्दैनौँ’, पूर्व मन्त्री बस्नेतले राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा सबैको ऐक्यबद्धता हुनुपर्ने उल्लेख गर्दै भने,‘जितेकाले त जनताको लागि काम गर्नै पर्छ । चुनावमा हार्नेहरूले पनि काम गरेर देखाउनुपर्छ । राजनीति समाजसेवा हो । कमाउनका लागि राजनीति गर्ने होइन ।’


कार्यक्रममा प्रदेश सांसद शशिजंग थापाले सूर्यविनायकमा जता हेर्‍यो त्यतै विकासका काम भइरहेको उल्लेख गर्दै सघाउनका लागि जनमानसलाई आग्रह गरेका थिए । सूर्य विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले केन्द्र, प्रदेशसँग समन्वय गरेर नगरपालिकाले विकासका काम अघि बढाएको जानकारी दिइन् ।

प्रकाशित : जेष्ठ १३, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?