कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपुर थिमिमा इको पार्क बन्ने

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले इको पार्क बनाउने भएको छ । नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापन गरी ऐतिहासिक महत्त्वको नीलबाराही क्षेत्रमा इको पार्क निर्माण गर्न लागेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमि ९ नीलबाराहीस्थित इको पार्क निर्माणका लागि गुरुयोजना तयार भएको र कार्यान्वयनको चरणमा पुगेको जनाएको छ । 

बालुवा, माटो उत्खननले ऐतिहासिक नीलबाराही मन्दिर क्षेत्र पहिरोको उच्च जोखिममा छ । भूक्षयका कारण उक्त क्षेत्रमा ८ वटा खोँचहरू बनेका छन् । पार्क निर्माणको पहिलो चरणमा भूक्षय नियन्त्रण, मन्दिर संरक्षणको कार्य गर्ने नगरप्रमुख श्रेष्ठले बताए । नीलबाराही क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेसमेत नगरपालिकाले जनाएको छ ।


पार्क निर्माणको पहिलो चरणमा सार्वजनिक जग्गा संरक्षण, सीमांकन, सीमा पर्खाल निर्माण, भूक्षय नियन्त्रण गर्ने नगरपालिकाको भनाइ छ । करिब ४ सय रोपनी क्षेत्रफलमा बन्ने पार्क निर्माणको पहिलो चरणमा नगरपालिकाले १ करोड रुपैयाँ छुट्याइएको र सीमांकनको कार्य सुरु भएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । बहुवार्षिक योजनाअनुरूप निर्माण गर्न लागेको इको पार्कका लागि नगरपालिकाले ५० करोड रुपैयाँ इस्टमेट गरेको र केन्द्रीय, प्रदेश सरकारलाई पार्क निर्माणको प्रस्ताव गरेको उनले बताए ।


भूक्षय नियन्त्रणसँगै नीलबाराही क्षेत्रमा जापानी प्रविधिअनुसार फोहोर प्रशोधन गरी खोँचमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । ‘नगरबाट संकलित फोहोरलाई कुहिने, नकुहिने छुट्याउने, कुहिनेलाई प्रांगारिक मल बनाउने र नकुहिनेलाई समेत दुई भागमा विभाजन गरी पुनः प्रयोग गर्न मिल्नेलाई कारखानामा पठाउने र नमिल्नेलाई खोँचमा व्यवस्थापन गर्ने योजना छ,’ उनले भने, ‘नगरभित्र संकलित फोहोर मध्ये ६० प्रतिशत कुहिने, २० प्रतिशत पुनः प्रयोग गर्न सकिने र २० प्रतिशत प्रयोग गर्न नमिल्ने फोहोर छ ।’


सोही २० प्रतिशत नकुहिने फोहोर व्यवस्थापन केन्द्रको रूपमा नीलबाराही क्षेत्रलाई विकास गर्ने र अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको उनले बताए । जापानको ‘फुकुवका’ प्रविधिअनुसार पाइप बिछ्याएर फोहोर व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।


विशेष गरी पार्कमा पर्यावरणीय अध्ययन तथा भ्रमण केन्द्र, जीवित संग्रहालय, पिकनिक स्पट निर्माण गर्न लागेको श्रेष्ठले बताए । नीलबाराही क्षेत्र प्रवर्द्धन तथा विश्राम स्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ५० लाख रुपैयाँ प्राप्त भएको नगरपालिकाले जनाएको छ । उक्त बजेटबाट विश्राम स्थल निर्माण गर्न लागेको श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?