धम्क्याएर पाँच लाख फिरौती माग्ने पक्राउ

रासस

काठमाडौँ — महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बुद्धनगरमा औषधि पसल सञ्चालन गरेका कार्कीसँग रु पाँच लाख नदिए छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै धम्क्याएर रकम माग्ने दुई जनालाई कार्कीले दिएको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । महाशाखाले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीमकार्डसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाइएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ १५:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतीय मिडियामा मोदीको बखान, थप जिम्मेवार हुन सुझाव

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका प्रमुख दैनिक अखबारहरुले भारतीय जनता पार्टीलाई लोकसभा चुनावमा ऐतिहासिक जित हासिल गरेसँगै आगामी दिनमा थप जिम्मेवार बन्न सुझाएका छन् । बिहीबार भएको १७ औं लोकसभा चुनावको मतगणनामा भाजपा नेतृत्वको एनडिएले अत्यधिक बहमुत पाएको हो ।

करीब डेढ महिनासम्म चलेको निर्वाचन एनडिएले ३५३ सिट जितेको छ । भाजपा एक्लैले ३०० सिटमा जितेर लगातार दोस्रो पटक एकल बहुमत प्राप्त गर्न पनि सफल भएको छ । यो जितसँगै नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिने निश्चित छ ।

चुनावी परिणाम र त्यससम्बन्धी सामग्रीलाई फराकिलो ढंगले पस्केका मूलधारका भारतीय दैनिक अखबारहरुले भाजपा जितसँगै थप जिम्मेवार बन्न पनि सुझाव दिएका छन् । केहीले मोदीको जितलाई सुनामी भनेका छन्, केहीले ‘चौकिदारको चमत्कार’ उल्लेख गरेका छन् । पत्रिकाहरुका अधिकांश सामग्रीहरु भाजपाका जितका कारण, विपक्षीहरुको फितलो प्रभावहरुमा केन्द्रित छन् । भाजपाले पश्चिम बंगाल र पूर्वोत्तर राज्यमा हासिल गरेको सफलतालाई पनि प्रमुखकता साथ उठाइएको छ ।

भाजपाको यो जितलाई मूलधारका भारतीय सञ्चारमाध्यमहरुले मोदीको व्यक्तित्व र पार्टी अध्यक्ष अमित साहको सांगठनिक चातुर्यको रुपमा अर्थ्याएका छन् । त्यसैगरी केहीले भने मोदी सरकारले अघि सारेका सामाजिक कार्यक्रमहरुको प्रभाव र विपक्षीहरुको कमजोर रणनीतिको परिणाम पनि भनेका छन् ।

कारण जेसुकै भए पनि चुनावको परिणामले भाजपा प्रभावको फुटप्रिन्ट देशव्यापी बन्दै गएको प्रष्ट पारेको उनीहरुले उल्लेख गरेका छन् । मतपरिणामको फराकिलो कभरेजसँगै भाजपा र आगामी सरकारले भारतको समावेशी चरित्रलाई सम्मान गर्दै बढी जिम्मेवार बन्न पनि मूलधारका पत्रिकाहरुले सुझाएका छन् । जितसँगै जिम्मेवारी पनि थपिएको उल्लेख गरिएको छ ।

मोदीको ‘सबका साथ सबका विकास’ लाई चरितार्थ पार्न अब बन्ने सरकारका कदमहरु बढी समावेशी ढाँचा र सबै समुदायलाई समेटेर लैजाने उद्देश्यले प्रेरित हुनुपर्ने जिकिर गरिएका छन् । त्यसैगरी केहीले पछिल्लो समय सुस्त देखिएको अर्थतन्त्रलाई सही गति हिँडाउने आगामी सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव पनि दिइएको छ ।

मोदी र भाजपाप्रति आलोचनात्मक रहँदै आएको अंग्रेजी न्यूज पोर्टलले द वायरले भने मोदीको जितलाई भारतको लोकतन्त्रका खराब समाचारका रुपमा अर्थ्याएको छ । उक्त पोर्टलका सम्पादक सिद्धार्थ बर्द्धराजनले कमजोर कार्यकालका बाबजुद जातियता, राष्ट्रवाद, अत्यधिक स्रोतसाधन, सञ्चारमाध्यमको उदार समर्थनका कारणले मोदीले जित हासिल गरेको दाबी गरेका छन् ।

सँगै यो चुनावले विपक्षी भारतीय राष्ट्रिय कांग्रेसमाथि धेरै प्रश्न खडा गरेको भन्दै पार्टीलाई परिवारवादको छायाँबाट मुक्त पार्न ढिल गर्न नहुने पनि सञ्चारमाध्यमहरुको लेखेका छन् । चुनावमा कांग्रेसले नमिठो हार व्यहोरेको छ । पार्टीले यसपटक १६ प्रदेश र केन्द्रशासित राज्यमा खाता समेत खोल्न सकेन । कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिका विभिन्न राज्यका नौजना पूर्व मुख्यमन्त्रीहरुले हारको सामना गर्नुपरेको छ ।

भजपाले ऐतिहासिक एकल बहुमत हासिल गरेको चुनावमा केही जितलाई अस्वाभाविक ठानिएको छ भने केहीको पराजय अनेपिक्षत । कांग्रेसका ज्योतिरादित्य सिन्धिया, दिग्विजय सिंहको हारलाई अनपेक्षित मानिएको छ । कांग्रेसका महासचिवसमेत रहेका सिन्धिया आफ्नो पुस्तैनी सिट मध्यप्रदेशको गुनाबाट पराजित भएका छन् । उनले यसअघि सोही सिटमा चारपटक लोकसभामा प्रतिनिधित्व गरेका थिए । त्यसैगरी पूर्व प्रधानमन्त्री हेचडी देवगौडाको पराजयलाई पनि अनपेक्षित ठानिएको छ ।

चुनावी मैदानमा केही सेलिब्रेटी जितेका छन् भने केहीले नमिठो हार व्यहोरेका छन् । बलिउड कलाकारहरु हेमा मालिनी, सन्नि देवलसँगै भोजपुरी कलाकारद्वय मनोज तिवारी, रवि शंकरले जित हात परेका छन् । देशव्यापी मोदी लहरका बाबजुद बलिउडकी अभिनेत्री जयप्रदाले हार टार्न सकिनन् । विपक्षी कांग्रेसलगायतका अन्य दलबाट उम्मेद्वारी दिएका अधिकांश सेलिब्रिटिहरु पराजित भएका छन् । कांग्रेसका राज बब्बर, तृणामुल कांग्रेसकी उम्मेद्वार मुनमुन सुन समेतले हार व्यहोर्नु परेको छ ।

त्यसैगरी अभिनेता प्रकाश राजले पनि नमिठो हारको सामना गर्नु परेको छ । कर्नाटकबाट स्वतन्त्र उम्मेद्वारी दिएका प्रकाश मतगणनामा धेरै पछि परेका छन् । मोदी सरकारविरुद्ध आक्रमक ढंगले चुनाव प्रचारमा लागेका प्रकाशले चुनावी पराजय आफ्ना लागि .गतिलो थप्पड भएको बताएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ १५:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×