कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

तिलगंगा–ताम्रगंगा सडक : युनेस्कोले लेख्यो सरकारलाई पत्र

दामोदर न्यौपाने

काठमाडौँ — राष्ट्रसंघीय निकाय युनेस्कोले विश्व सम्पदा क्षेत्रको तिलगंगा–ताम्रगंगा सडक बन्द गराउने वातावरण बनाइदिन 
सरकारलाई आग्रह गरेको छ । 

युनेस्को काठमाडौं कार्यालयमा प्रमुख क्रिस्चियन म्यानहार्टले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पत्र लेख्दै जनप्रतिनिधिलगायतले बाटो बन्द गर्न गरेको अवरोधबारे ध्यानाकर्षण गराएको हो । ‘केही जनप्रतिनिधिले समेत बाटो बन्द गर्ने काममा अवरोध गरेको सूचना हामीलाई तेस्रो पार्टीले दिएका छन्,’ म्यानहार्टले लेखेका छन्, ‘जिम्मेवार निकायले किन अवरोध गरेका छन्, यसको जानकारी दिनुस् ।’


सडक बन्द गराउन सरकारले गरेको प्रयासप्रति युनेस्कोले सराहनासमेत गरेको छ । सन् २०११ मा आएको विश्व सम्पदा केन्द्र र इकोमसको सल्लाहकार मिसनले विश्व सम्पदा क्षेत्रको जंगलमा बाटो चालू राखे विश्व सम्पदा खतरामा पर्ने चेतावनी दिएको पनि म्यानहार्टले सम्झाएका छन् । ‘युनेस्को मिसनले दिएको चेतावनीप्रति नेपाल सरकार सावधान रहेकोमा सलाम गर्छु,’ म्यानहार्टले लेखेका छन्, ‘यस्तै सहयोग निरन्तरताको अपेक्षा राखेको छु ।’


विश्व सम्पदा क्षेत्र पशुपतिको मुख्य जंगल क्षेत्र मृगस्थली र ध्रुवस्थली छुट्याउने गरी बनाइएको सडक अहिले बन्द गराउने कि खुला राख्ने भन्ने विवाद भइरहेको छ । सर्वोच्च अदालतको आदेश र युनेस्कोको चेतावनीलाई समेत ध्यान दिएर पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्न सुरु गरेको छ ।


यसको ट्यांकर तथा ट्रक व्यवसायीलगायतले विरोध गरिरहेका छन् । उनीहरूलाई जनप्रतिनिधिले समेत साथ दिएका छन् । सडक बन्द गराउनु हुँदैन भनेर विरोध गर्नेहरूलाई प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापालगायतले साथ दिएका छन् ।


जंगलको ६ सय ७५ मिटर लामो र ७ मिटर चौडाइको सडक खनिएको थियो । युनेस्कोको बन्द नगरे विश्व सम्पदा सूचीबाटै हटाइदिने चेतावनी, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश, मन्त्रिपरिषद् कार्यालयको बाटो बन्द गर्न आदेशलगायत देखाउँदै कोषले बन्द गर्न सुरु गरेको थियो ।


सवारी बन्द गरे पनि सर्वसाधारणलाई हिँड्न भने बाटो छाडिदिने जनाएको छ । प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्य भने सर्वोच्चको आदेश र युनेस्केको चेतावनीलाई सम्मान गर्दै सडक बन्द गर्नुपर्ने तर विकल्पचाहिँ दिनै पर्ने बताए । पुरातत्त्व विभागका अनुसार यो बाटोको विकल्प सरकारले पहिला नै दिइसकेको थियो ।


यही बाटोको विकल्पका रूपमा गोठाटार–चाबहिल–मित्रपार्कको बाटो चौडासमेत बनाएको थियो । ‘सरकारले विकल्प पहिल्यै दिएको रहेछ,’ सम्पदा संरक्षण अभियन्ता अर्जुन राना भन्छन्, ‘यही विकल्प दिएको जानकारी पाएपछि युनेस्को चुप लागेको थियो ।’


कोषका अनुसार यो बाटोबाट सर्वसाधारणभन्दा बढी ट्रक, टिपरजस्ता भारी सवारीसाधन प्रयोग हुन्थे । बाटो ठाउँठाउँमा खाल्डैखाल्डा थिए । मोटरसाइकल, कारलगायत हलुका सवारीसाधनको पातलो आवतजावत हुन्थ्यो । भारी सवारीसाधनको थर्काइले जमिन थर्कियो । त्यही कारण श्लेष्मान्तकमा भूक्षय बढेको प्रतिवेदन विज्ञले समेत दिएका छन् । भूक्षयले श्लेषमान्तकको मुख्य मन्दिर विश्वरूपा भत्कन लागिसकेको छ ।


२०७३ पुसमा सर्वोच्च अदालतले सडक बन्द गरेर वन सम्पदालाई पूर्ववत् अवस्थामा फर्काउन आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयन नभएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस ६ गते अदालतको आदेश कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाएको थियो । त्यही पत्रअनुसार मन्त्रालयले गत माघ ८ गते कोषलाई पत्राचार गरेको थियो । पुरातत्त्व अधिकृत करुणा नकर्मीले अदालतको आदेश कार्यान्वयन गर्न फैसलासहित पत्र पठाएकी थिइन् ।


मृगस्थली पशुपति क्षेत्रको मुख्य वन सम्पदा हो । यहाँ विभिन्न हावापानीमा पाइने रुखबिरुवा पाइन्छन् । यो जंगलमा मडिल्लो, शिरीष, हाडेवयर, सुनचाप, काउलो, प्वाँले, वायुविडङ, धुसरु, सिलिङ्गे, जगर, काभ्रो, चिलाउने, पैंयू, देवदार, सिप्लेकानजस्ता रूख छन् । त्यसैगरी मसला, सल्ला, धुपी, काढेसल्ला,बेल, खरी, काँगियो, बकैनाजस्ता रूख पनि छन् । यो जंगलको मुख्य विशेषता भनेको लप्सीको रूख हो । यही रूख पाइने भएकाले जंगलको नामै श्लेष्मान्तक रहेको हो ।


लप्सी भने मासिँदै गएको छ । यहाँ बाक्लो चाहिंँ चिलाउने, प्वालो, मुसलिनी, कालिमयलजस्ता रूख यहीं उम्रिएका हुन् । बाहिरबाट ल्याएर रोपिएका रूख पनि छन् । मसला, देवदार, काँडेसल्ला, गोब्रेसल्लाजस्ता रूख बाहिरबाट ल्याएर रोपिएका हुन् । प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि बाहिरबाट ल्याएर रूख रोप्न थालिएको हो ।


राणाले विसं १९२० मा विश्वरूपा मन्दिरको पश्चिमपट्टि मन्दिरतिर जाने बाटको दायाँबायाँ बाहिरबाट ल्याइएका बिरुवा रोपेका थिए । जंगबहादुरपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९८९ देखि २००२ सम्म गौशलाका दायाँबायाँ मसलाका रूख हुर्काएका थिए । ‘यो वनको धार्मिक महत्त्व छ,’ अभियन्ता सिर्जना वाग्ले भन्छिन्, ‘यस्तो महत्त्वपूर्ण जंगलमा युनेस्कोको चेतावनीविपरीत सडक खोलिएको छ । यसलाई बन्द गराउनुपर्छ ।’ अभियन्ताले सडकमा वृक्षरोपणसमेत गरेका छन् । ‘दिनहुँ पानी हालेर बिरुवा हुर्काउछौं,’ अभियन्ता रानाले भने ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?