खादा प्रयोग रोकप्रति असन्तुष्टि

ललितपुर — साताअघि आश्राङस्थित विद्याधीश्वर माविको नवनिर्मित भवन उद्घाटन समारोहमा अतिथिको निमन्त्रणा स्विकारेर आएका सांसदलाई खाली हातले स्वागत गरियो । सांसदहरूले पहिला जस्तो खादा, दोसल्ला वा गम्साले सम्मान पाएनन् ।

अब वाग्मती गाउँपालिकाको कुनै पनि कार्यक्रममा सांसद मात्र नभई प्रधानमन्त्री वा सरकारका उच्च पदस्थका व्यक्तिलाई खाली हातले सम्मान गरेमा आश्चर्य मान्नुपर्दैन । किनकि गाउँपालिकाले खादा, ब्याजलगायत तामझाम देखिने सबै सामग्री प्रयोगमा बन्देज गर्ने निर्णय गरेको छ ।


गाउँपालिकाको निर्णयको चौतर्फी विरोध हुन थालेको छ । स्थानीय शिक्षक डम्बरबहादुर स्याङ्तानले बौद्ध धर्मको आस्थामा प्रयोग हुने वस्तु निषेध गर्न नमिल्ने बताए ।


खादा निषेध गर्ने निर्णयप्रति ग्याबा तामाङ उत्थान संघले ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष बाबुराम ग्याबा तामाङ र महासचिव तारा ग्याबा तामाङले विज्ञप्तिमार्फत खादा प्रयोग रोकेकोमा विरोध गरेका हुन् । वाग्मती गाउँपालिका ७ गिम्दीका वडाध्यक्ष नवराज सञ्जेलले पनि पर्याप्त छलफल नै नगरी निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । गिम्दीमा हालै सम्पन्न शौचालय हस्तान्तरण कार्यक्रममा उनले खादाको प्रयोग गरे ।


वाग्मती गाउँपालिका–२ माल्टामा हालै सम्पन्न भेलामा पनि खादाको प्रयोग गरियो । वाग्मती गाउँपालिका–७ गिम्दी वडाध्यक्ष सञ्जेलले जातजातिको आस्थासँग खेलवाड गरेको आरोप लगाए । ‘निर्णय नसच्याएसम्म विरोध जारी नै रहन्छ,’ उनले भने, ‘खादामा हुने अष्टमंगलका चिह्न बौद्ध, हिन्दु र जैन सबैको साझा हो ।’ वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पर्याप्त छलफल गरी सबैको सहमतिमै निर्णय गरेको दाबी गरे ।


‘यो निर्णय पछाडि कुनै जातजाति, धर्म संस्कृति र भाषभाषीको भावनामा ठेस पुर्‍याउने उद्देश्यले गरिएको होइन,’ उनले भने, ‘गाउँपालिका र वडा कार्यालयले आयोजना गरिने कार्यक्रममा मात्र मितव्ययी प्रभावकारी र समय प्रभावित हुने देखेर यस्तो निर्णय गरेका हौं ।’ उनले अन्य संघसंस्थाद्वारा आयोजित कार्यक्रममा प्रयोग गर्न सकिने बताए । ‘निर्णयउपर गलत टिप्पणी भयो,’ उनले भने, ‘अरूको पछाडि नलागीकन गाउँपालिकाको कार्यसम्पदनमा सहयोग पुर्‍याइदिनुहुन सबैलाई अनुरोध छ ।’

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?