२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सडक बन्द गर्न अवरोध नगर्नुस् : युनेस्को 

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले विश्वसम्पदा क्षेत्रको तिलगंगा–ताम्रगंगा सडक बन्द गराउने वातावरण बनाइदिन सरकारलाई आग्रह गरेको छ । युनेस्को काठमाडौँ कार्यालयका प्रमुख क्रिश्चियन म्यानहार्टले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पत्र लेख्दै जनप्रतिनिधि लगायतले बाटो बन्द गर्न गरेको अवरोधबारे ध्यानाकर्षण गराएका हुन् ।

सडक बन्द गर्न अवरोध नगर्नुस् : युनेस्को 

‘केही जनप्रतिनिधिले समेत बाटो बन्द गर्ने काममा अवरोध गरेको सूचना हामीलाई तेस्रो पार्टीले दिएका छन्,’ म्यानहार्टले लेखेका छन्, ‘जिम्मेवार निकायले किन अवरोध गरेका छन्, यसको जानकारी दिनुस् ।’


सडक बन्द गराउन सरकारले गरेको प्रयासप्रति युनेस्कोले सह्रना समेत गरेको छ । सन् २०११ मा आएको विश्व सम्पदा केन्द्र र इकोमसको सल्लाकार मिसनले विश्वसम्पदा क्षेत्रको जङ्गलमा बाटो चालू राखे विश्वसम्पदा खतरामा पर्ने चेतावनी दिएको पनि म्यानहार्टले सम्झाएका छन् । ‘युनेस्को मिसनले दिएको चेतावनीप्रति नेपाल सरकार सावधान रहेकोमा सलाम गर्छु’ म्यानहार्टले लेखेका छन् । यस्तै सहयोग निरन्तरताको अपेक्षा राखेको छु ।’


विश्वसम्पदा क्षेत्र पशुपतिको मुख्य जङ्गल क्षेत्र मृगस्थली र ध्रुवस्थली छुट्ट्याउने गरी बनाइएको सडकमा अहिले बन्द गराउने र खुला राख्ने भनेर विवाद भइरहेको छ । सर्वोच्च अदालतको आदेश र युनेस्कोको चेतावनीलाई समेत ध्यान दिएर पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्न सुरु गरेको छ । यसको ट्याङकर तथा ट्रक व्यवसायी लगायतले विरोध गरिरहेका छन् । उनीहरूलाई जनप्रतिनिधिले समेत साथ दिएका छन् ।


सडक बन्द गराउनु हुँदैन भनेर विरोध गर्नेहरूलाई प्रतिनिधि सभा सदस्य कृष्ण राई, प्रदेश सभासदस्य रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा लगायतले साथ दिइरहेका छन् । महानगरीय प्रहरी प्रभाग गौशालाका डिएसपी सुनिल मल्ल आफैँ गएर काम रोकिदिए । काम रोकिएपछि त्यहाँ जम्मा भएका प्रतिनिधि सभाका सांसद कृष्ण राई, प्रदेश नम्बर ३ का सांसद रामेश्वर फुयाँल र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा फर्किएका थिए ।


जंगलको ६ सय ७५ मिटर लामो र ७ मिटर चौडाइको सडक खनिएको थियो । युनेस्कोको बन्द नगरे विश्वसम्पदा सूचीबाटै हटाइदिने चेतावनी, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश, मन्त्रिपरिषद् कार्यालयको बाटो बन्द गर्न आदेश लगायत देखाउँदै कोषले बाटो बन्द गर्न सुरु गरेको थियो । कोषले सवारी बन्द गरे पनि सर्वसाधारणलाई हिँड्न भने बाटो छाडिदिने जनाएको छ । प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्य भने सर्वोच्च अदालतको आदेश र युनेस्केको चेतावनीलाई सम्मान गर्दै सडक बन्द गर्नुपर्ने तर विकल्पचाहिँ दिनै पर्ने बताउँछन् ।


यो पनि पढ्नुहोस्ः

तिलगंगा–गुहेश्वरी सडक बन्द

मृगस्थलीमा निर्मित सडकविरुद्ध वृक्षरोपण

प्रकाशित : जेष्ठ ९, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?