२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

दैनिक हजार चालकलाई कारबाही

सीमा तामाङ

काठमाडौँ — प्रहरीको महानगरीय ट्राफिक महाशाखाले दैनिक १ हजार ५३ चालकलाई कारबाही गर्ने गरेको छ । त्यसमा मादक 
पदार्थ सेवन गरेका चालक मात्रै ८९ जना पर्छन् । ट्राफिक प्रहरीले पछिल्ला १० महिनामा ३ लाख ८४ हजार २ सय ६ चालकलाई कारबाही गरेको छ । 

त्यसबाट २५ करोड ३७ लाख ११ हजार रुपैयाँ राजस्व दाखिला भएको महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । लेन अनुशासन उल्लंघन गरी सवारीसाधन चलाएकामा ३२ हजार २७ जना पुरुष र ३ हजार १ सय ९ महिला चालक

कारबाहीमा परेका छन् ।


२०७४ वैशाख १ मा सुरु गरिएको हर्न कारबाहीमा २०७६ वैशाख मसान्तसम्म १२ हजार २ सय ७१ सवारीसाधन परेका छन् । गत मंसिर ८ मा सुरु गरिएको ह्वील लक कारबाहीमा २ हजार ८ सय ७६ सवारीसाधन परेका छन् । सीसीक्यामेराको सहायताले ५ हजार ६० सवारी चालकलाई कारबाही भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मापसे गरी सवारी चलाउने २६ हजार ५ सय ९८ चालक कारबाहीमा परेका छन्, जसमा पुरुष २६ हजार ४ सय ९ जना र महिला १ सय ९ जना छन् ।


२०७५ मंसिर २० मा सुरु गरिएको ट्याक्सी कारबाहीमा १ हजार ७ सय ८७ वटा ट्याक्सी परेका छन् । मिटरमा जान नमान्ने ट्याक्सीलाई ३ हजार जरिवाना र ५ पटकभन्दा बढी कसुर गरे ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था छ ।


बाइक पछाडि बस्नेलाई हेल्मेटमहाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ । दुईपांग्रे सवारी दुर्घटना धेरै हुँदा पछाडि सवार मान्छेको टाउको फुट्ने र दुर्घटनास्थलमै मृत्यु हुने जोखिम उच्च रहेकाले यस्तो नियम ल्याउन लागिएको एसएसपी पन्तले बताए ।


नेपाल गुणस्तर तथा नापतौल विभागले आईएसओ स्ट्यान्डर्डको हेल्मेटको मापदण्ड तयार पारिसकेको उनले जानकारी दिए ।


(प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?