कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

केदारनाथ पुरानै शैलीमा

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर नगरपालिकाले केदारनाथ मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरेको छ । ०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त भक्तपुर दरबार स्क्वायर परिसरको मल्लकालीन मन्दिरलाई नगरपालिकाले करिब ४ वर्षपछि मौलिक शैलीमा निर्माण गरी उद्घाटन गरेको छ ।

केदारनाथ पुरानै शैलीमा

मंगलबार जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व लिएको दुई वर्ष पूरा भएको अवसरमा नेमकिपाका केन्द्रीय सचिव एवं प्रतितिधिसभा सदस्य प्रेम सुवालले मन्दिरको उद्घाटन गरे । कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणाको माग गर्दै उपत्यकाको मूर्त/अमूर्त सम्पदाको संरक्षण र सम्वद्र्धन आवश्यक भएको बताए ।

आउने पुस्तालाई सम्पदा बचाउन अभिप्रेरित गर्न तथा पौराणिक स्वरूपलाई जीवनन्तता दिन केदारनाथलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको नगरप्रमुख सुनील प्रजापतीले बताए । केदारनाथको मन्दिर मात्र नभई नगरक्षेत्रको क्षतिग्रस्त अधिकांश ठूला तथा साना सम्पदा पुनर्निर्मँण गर्दा विज्ञको सल्लाहबमोजिम अध्ययन, अनुसन्धान र अन्वेषण गरी निर्मँण थालिएको उनले बताए ।


उक्त मन्दिर पुनर्निर्माणका लागि नगरपालिकाले ७२ लाख ६३ हजार ३ सय ९७ इष्टमेट गरेपनि करिब ३९ लाख ६४ हजार रुपैयाँमा लागतमा मन्दिर पुनर्निर्माण गरेको उपभोक्ता समिति अध्यक्ष रामकृष्ण त्वायनाले बताए । पुनर्निर्माण भएको मन्दिरमा इँटा र चुनासुर्कीको जोडाइ छ । मन्दिर पुनर्निर्माणमा परम्परागत निर्मँण सामग्री डाँची अपा, मां अपा, चुनासुर्कीको प्रयोग भएको उनले बताए । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार केदारनाथ मन्दिर १४ औं शताब्दीमा यक्षमल्लको समयमा बनेको हो ।


दर्शनका लागि नेपाल मण्डलभन्दा टाढा जान नपरोस् भन्दै यक्ष मल्लले दरबार स्क्वायर परिसरमै चारै धाम बनाउन लगाएको डा. श्रेष्ठ बताउँछन् । परिसर भित्र नै केदारनाथ, बद्रीनाथ, रामेश्वर र जगन्नाथ मन्दिर छ । मृणमय अर्थात् इँटा नै इँटाले बनेको मन्दिर पुनर्निर्माणसँगै चारधाममध्ये तीनले पूर्णता पाएको छ । दरबार स्क्वायर परिसर मै अवस्थित चारधाममध्येको जगन्नाथ मन्दिर भने मौलिक शैलीमा पुनर्निर्माण हुन सकेको छैन ।


यसअघि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले दरबार क्षेत्रमै अवस्थित १९९० सालको भूकम्पले क्षतिग्रस्त बद्रीनाथ मन्दिर पुनर्निर्मँण गरेको छ । विभागले जगन्नाथ मन्दिरलाई समेत पुनर्निर्माण गर्ने तयारी भइरहेको जनाएको छ । हाल जगन्नाथ मन्दिर मन्दिरको स्वरूपमा नभई मूर्तिलाई ढाक्ने छानोमुनि राखिएको छ । जगन्नाथ मन्दिरमा नित्यपुजा समेत सञ्चालन भइरहेको इतिहासविद् डा.श्रेष्ठले बताए ।


त्यसैगरी, कार्यक्रममा उपभोक्ता समितिले क्षतिग्रस्त दरबार स्क्वायर प्रवेशद्वारको पुनर्निर्मँण गरी नगरपालिकालाई साँचो हस्तान्तरण गरेको छ । प्रवेशद्वार पुनर्निर्माण भइसक्दा पनि मूर्ति राख्ने, नराख्ने स्पष्ट नभइसकेको उपभोक्ता समिति अध्यक्ष लक्ष्मीप्रसाद गोराले बताए । सम्पदा पुनर्निर्माणमा अध्ययन, अनुसन्धान र अन्वेषणको आधारमा गर्नुपर्ने र प्रवेशद्वार निर्माण हतारमा बनाउँदा स्पष्ट नभएको नगर उपप्रमुख रजनी जोशीले बताइन् ।


दरबार प्रवेशद्वार पुनर्निर्माण गर्न नगरपालिकाले ३४ लाख १२ हजार रुपैयाँ इस्टमेट गरेको थियो । उपभोक्ता समितिलाई नगरपालिकाले २८ लाख रुपैयाँ भुक्तानी गरेकोमा २४ लाख ८१ हजार रुपैयाँमा प्रवेशद्वार निर्माण भएको जनाएको छ । समितिले ३ लाख ८१ हजार रुपैयाँ नगरपालिकालाई फिर्ता गरी योजना फस्र्यौट गरेको अध्यक्ष गोराले बताए ।

पुरातत्त्व विभागले दरबार स्क्वायर परिसरकै सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ भने, फसिदेवल (सिलु महादेव), तब सत्तल पुनर्निर्माण जारी छ ।


नगरपालिकाले दरबार क्षेत्रकै त्रिविक्रम नारायण, शेषनारायण, हरिनारायण मन्दिर पुनर्निर्माण सम्पन्न गरिसकेका छन् ।

बत्सला देवी मन्दिरको ७५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?