कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा सम्पदा बिग्रँदै 

प्रशान्त माली

ललितपुर — भूकम्पले दुई तलामा सीमित बनेको पाटनस्थित पाँचतले कुम्भेश्वर मन्दिर जस्ताको तस्तै छ । गजुर अझै राख्न सकेको छैन । पानीबाट बचाउन राखिएको त्रिपाल हावाले उडाएको छ । मन्दिरमा पानी चुहिँदा टुँडाल, खम्बा र मूर्ति खिया लागेको छ । मन्दिर पुनर्निर्माण गर्न स्केट फोल्डिङ राख्नेबाहेक अरू काम सन्तोषजनक छैन ।

पाटनको विश्व सम्पदामा सूचीकृत बंगलामुखीस्थित मन्दिर झन् बिग्रँदै गएको छ । भूकम्पले क्षतिग्रस्त पाटन स्वठ टोलको तीनतले राधाकृष्ण मन्दिरमा घाँस उम्रेको छ । मन्दिरको कलात्मक राधा र कृष्णको मूर्ति पाटन संग्रहालयको स्टोरमा राखिएको छ । मन्दिर अहिले भुस्याहा कुकुरको बासस्थान बनेको छ । भूकम्पले नराम्रोसँग हल्लाएको पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अझै टेकोको भरमा छ ।


ठेकेदारको लापरबाहीका कारणले बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण सन्तोषजनक छैन । मत्स्येन्द्रनाथ मन्दिर २ वर्षमा सम्पन्न गर्ने गरी २०७३ मा प्रेरा/थेगिम/तुल्सी जेभीले भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको थियो । थेचोस्थित ब्रह्मायणी मन्दिरमा जग राख्नेबाहेक अरू काम भएको छैन ।


यी भूकम्पको चार वर्षमा पनि पुनर्निर्माण हुन नसकेका ललितपुरका सम्पदाका केही उदाहरण हुन् । ०७२ वैशाख १२ को भूकम्पले जिल्लामा १ सय ४४ वटा सम्पदामा क्षति पुर्‍याएको थियो । जसमध्ये ३१ वटा सम्पदा पूर्ण क्षति, ६८ वटा आंशिक क्षति र ४५ वटामा सामान्य क्षतिग्रस्त थिए ।


पाटन दरबार क्षेत्रका १० वटा मठमन्दिरबाहेक अन्य क्षेत्रका सम्पदा पुनर्निर्माण सन्तोषजनक छैन । कुम्भेश्वर मन्दिरका मूलपुजारी माधवश्याम शर्माले मन्दिर पुनर्निर्माण कछुवाको भन्दा पनि कम गतिमा भइरहेको बताए ।


‘पुर्खाले मन्दिर ढल्नबाट बचाउन गजुरदेखि दोस्रो तलासम्म एउटै खम्बा राखेका थिए । मन्दिरमा राखिएको त्रिपाल हावाहुरीले उडाउँदा पानी छिरेर खम्बा खिया लागेको छ,’ उनले भने, ‘मन्दिरको अवस्था दिनानुदिन बिग्रँदै गए पनि टुलुटुलु हेर्नेबाहेक अरू केही गर्न सकेको छैन । बर्खाका बेलामा मन्दिरमा बस्नसमेत डर लाग्ने गरेको छ ।’


उनले यस्तै स्थिति रहिरहेमा दैनिक नृत्य र बेलुकाको आरती पूजा बन्द गर्नुपर्ने अवस्था आउने बताए । ‘मन्दिरको नाजुक अवस्थाका सम्बन्धमा ठेकेदार र नियमन गर्ने निकायलाई पटक-पटक जानकारी गराएँ,’ उनले भने, ‘तर, चाँडै पुनर्निर्माण गर्न कसैले चासो दिएन ।’


पुरातत्त्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यँलय प्रमुख सन्दिप खनालले मन्दिर चाँडै पुनर्निर्माण गराउन कार्यालयले पहल गरिहेको बताए । ‘ललितपुर महानगरले पनि पहल गरिरहेको छ,’ उनले भने, ‘प्राविधिक कारणले ढिलाइ हुनु स्वाभाविक हो ।’


मन्दिर पुनर्निर्माणको ठेक्का धर्म एस/तुल्सी/ड्रामा जेभीले २०७४ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी २०७३ साउन १० मा भ्याटसहित २ करोड ८५ लाख ९३ हजार ४० रुपैयाँमा लिएका थिए ।


तर, ठेक्का अवधि सकिँदा पनि एक चौथाइ काम भएको छैन । १४ औं शताब्दीमा जयस्थिति मल्लको पालामा बनेको मन्दिर पुनर्निर्माण गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले क्षमापूजा गरेर सुरु गरेका थिए । राधाकृष्ण मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएका ठेकेदार सम्पर्कविहीन छन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?