बार्गेनिङ रोक्न ‘इजी ट्याक्सी’ एप्स

सीमा तामाङ

काठमाडौँ — उपत्यका ट्याक्सी व्यवसाय तथा चालक सेवा समाजले प्रविधिको बढ्दो प्रयोगलाई उपयोग गर्दै ‘इजी ट्याक्सी नेपाल’ मोबाइल एप्स ल्याउने तयारी गरेकोे छ ।

समाज तथा इजी एस्युरेन्स प्रालिको संयुक्त सहकार्यमा सञ्चालन गर्न लागिएको एप्सले यात्रुलाई ट्याक्सी खोज्नुपर्ने र बार्गेनिङ गर्नुपर्ने झन्झट हट्ने दाबी गरेको छ ।

जेठ अन्त्यदेखि आउन लागेको यो मोबाइल एप्स चालक तथा यात्रुको पुल बन्ने अधिकांश ट्याक्सी चालकको भनाइ छ । समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ । आधुनिक युगमा प्रवेश गरेसँगै मानिस अनलाइन सेवामा प्रभावित भएकाले यो एप्स सञ्चालनमा ल्याइएको समाजका महासचिव पूर्णलाल तामाङले बताए ।

‘ट्याक्सी व्यवसायलाई मर्यादित र सुरक्षित बनाउनुपर्छ,’ उनले भने, ‘डिजिटल युगमा प्रवेश गरेसँगैट्याक्सीको पनि मोबाइल एप्स ल्याउन लागेको हो ।’ यात्रु ठगिने, भाडामा भएका बेथिति हटाउन समाजले एप्स सञ्चालन गर्ने तयारी गरेको हो ।

एप्समार्फत यात्रुहरू ठगिने कार्य न्यून हुने इजी एस्युरेन्सका प्रबन्धक सञ्जीव पौडेलले बताए । ‘सरकारी मूल्य दरमै एप्स सञ्चालन गर्न लागेको हो,’ उनले भने, ‘डिजिटल भन्नेबितिक्कै महँगो भनिन्छ तर एप्स सरकारी मूल्य दरमै कायम छ । ’

एप्सले जनसाधारणमा सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास उनको छ । एप्सबाट यात्रा गर्दा यात्रु कुन दिशामा गइरहेको छ, गन्तव्य के हो भनी सजिलै थाहा हुन्छ । एप्स सञ्चालन गर्ने क्रममा चालकलाई एप्ससम्बन्धी जनचेतनामूलक तालिम दिइने उनले बताए ।

एप्सको माध्यमबाट प्रधानमन्त्रीको डिजिटल अवधारणालाई पनि सहयोग पुग्ने अनुमान राखिएको छ । एप्स १५ दिनपछि बजारमा आउने समाजका अध्यक्ष सानु पूर्वछाने मगरले बताए । ‘विदेशमा सञ्चालन भइरहेको एप्स नेपालमा पनि सञ्चालन हुनु गौरवको विषय हो,’ उनले भने, ‘एप्सले यात्रुलाई सहयोग पुर्‍याउँछ र यो सर्वसुलभ हुन्छ ।’

उपत्यकामा मात्र सञ्चालन गरिने एप्सको सेवा लिनका लागि यात्रुहरूले उक्त एप्स डाउनलोड गरेर दर्ता गर्नुपर्ने छ । यसका लागि कस्टमर ‘लग इन’ मा थिचेर आफ्नो नाम र नम्बर लेख्नुपर्ने छ । यात्रुले ‘लग इन’ गरेपछि त्यसमा देखिने रियल टाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनोट गर्नुपर्ने मगरले बताए ।

यात्रुहरूले एप्समा गरेको अनुरोधको आधारमा उक्त क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरूले सोही एप्समार्फत अनुरोधलाई स्वीकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।

समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा सञ्चालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ । त्यस आधारमाट्याक्सी भाडा समायोजन गरेपछि हुने नयाँ मिटर भाडा दरमा नै एप्स आधारित भएर सेवा सञ्चालन गर्ने समाजले जनाएको छ ।

इन्स्योरेन्स सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुहरूले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानबाटै सेवा दिन्छ । हालको लागि यात्रुहरूले उक्त एप्समा लग इन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा ल्याउने उनले बताए ।

अबको १५ दिनपछि औपचारिक कार्यक्रम गरेर यो एप्स बजारमा ल्याइन्छ । एप्स उपत्यकाको फरकफरक ठाउँ र समयबाट सञ्चालनमा ल्याइनेछ । एन्ड्रोइड तथा आइफोनको एप स्टोर तथा प्ले स्टोर दुवैबाट डाउनलोड गरेर यो सेवा लिन सकिने एप्सका प्रबन्धक पौडेलले बताए ।

‘५ हजारभन्दा बढीट्याक्सी आबद्ध रहने एप्समा विस्तारै सम्पूर्ण ट्याक्सीलाई समेटिनेछ,’ उनले भने, ‘यात्रुहरूले ‘इजी ट्याक्सी नेपाल’ को वेबसाइटमार्फत पनि यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् ।’

एप्स सञ्चालनमा आएपछि उपत्यकाभरि सबै यात्रुले प्रयोग गर्न नमिल्ने बताए । पहिलो पटक तोकिएको क्षेत्रबाट मात्र एप्सको प्रयोग गर्न सकिन्छ । समाजलेट्याक्सी सेवालाई नकारात्मक रूपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधि आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

सडकमै पार्किङ

बसपार्कको पर्याप्त ठाउँ नहुँदा सडक किनारामै गाडी पार्किङ  
भक्तपुरका चार नगरपालिकाले विकल्प दिन सकेका छैनन् 
लीला श्रेष्ठ

भक्तपुर — कमलविनायकस्थित जिल्लाको उत्तरपूर्वी क्षेत्रमा चल्ने सार्वजनिक बस सडकमै पार्किङ गरेको छ । उत्तरपूर्वी बस व्यवसायी संघअन्तर्गत नगरकोट, काभ्रेको मण्डन देउपुर, तेलकोट, कलमसीलगायत स्थानमा चल्ने सार्वजनिक बस, भक्तपुर मिनीबस सेवा समितिअन्तर्गत बागेश्वरी, छालिङ चल्ने बसहरू सडकमै रोकिएका हुन्छन् ।

मध्यपुरथिमि नगरपालिकास्थित थिमि चोकको भित्री सडकमा पार्किङ गरिएका गाडी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य मार्ग कमलविनायकको साँघुरो सडकको दायाँबायाँ असरल्ल राखिएका साना तथा ठूला सवारीसाधनले नगरको सौन्दर्यतामा प्रश्न उठेको व्यवसायी नवीन बज्राचार्य बताउँछन् । सडक किनाराको अघोषित बसपार्कले पैदल मार्ग अतिक्रमण गरेको छ भने, अस्तव्यस्त पार्किङले दिनहुँ घण्टौं जाम हुने गरेको छ ।

कमलविनायक क्षेत्रमै रहेका दुई बसपार्कको अवस्था भने दयनीय छ । खरिपाटी, तेलकोट, नगरकोट, काभ्रे बालुवापाटी देउपुरको अव्यवस्थित साँघुरो बसपार्ककै कारण दिनहुँ सर्वसाधारणले घण्टौं जामको सास्ती व्यहोर्नुपरेको चाँगुनारायण ७ बागेश्वरीका दिपेश खड्का बताउँछन् । कमलविनायक–रत्नपार्क–गोंगबु चल्ने बसपार्क पनि त्यस्तै अस्तव्यस्त छ । बसपार्कको पर्याप्त ठाउँ नहुँदा सडक किनारामै बस पार्किङ हुँदै आएको छ ।

सडकपेटीमा साइकल तथा गाडामा तरकारी, फलफूल, खुल्ला पसल राखेका छन् । सोही सडकको नाली पुरेर पार्किङ स्थल बनाएको र नाली सडकमा खुल्ला छोडिदिँदा सडकमा नाली बग्ने गरेको स्थानीय व्यवसायी नारायणी फुँयाल गुनासो गर्छिन् । भक्तपुर नगरपालिकाले पार्किङ क्षेत्र नतोकिए पनि मुख्य/मुख्य स्थानमा पार्किङ नगर्न अनुरोध गर्दै ब्यानरहरू राखेको स्यानिटेसन शाखा प्रमुख दिलीपकुमार सुवाल बताउँछन् ।

भक्तपुर नगरभित्र मुख्य ६ वटा बसपार्क छन् । तर, जग्गा अभावले कुनै पनि बसपार्कलाई व्यवस्थित गर्न नसकेको नगरपालिकाका जनप्रतिनिधि स्विकार्छन् । नगरपालिकाले बसपार्क व्यवस्थित गर्न नसके पनि कमलविनायक क्षेत्रको अव्यवस्थित मोटरसाइकल पार्किङलाई व्यवस्थित गर्न सरस्वती विद्यागृह अगाडिको चौरमा मोटरसाइकल पार्किङ सेन्टर निर्माण गरेको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।

नगरपालिकाले करिब ४ करोड रुपैयाँको लागतमा दुधपाटीस्थित एक्स्प्रेस र पुरानो बसपार्कको स्तरोन्नति कार्यको थालनी गरेको समेत उनले बताए । ब्यासीस्थित पर्यटक बसपार्कको लागि जग्गाको खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

यता मध्यपुर थिमि शंखधरचोकको पार्किङ अवस्था त्यस्तै अस्तव्यस्त छ । साँघुरो सडकको दायाँबायाँ साना तथा ठूला सवारीको अव्यवस्थित पार्किङले सडक अस्तव्यस्त छ । सडकपेटीमा तरकारी, फलफूल, वर्कसप, खुल्ला कपडा पसल यत्रतत्र असरल्ल छ । मध्यपुर थिमि बाहाखा बजार त्यत्तिकै अव्यवस्थित छ ।

भक्तपुरबाट पुरानो थिमि भएर चल्ने लखनखेल, गौशाला, रत्नपार्कको बस बाहाखा बजारमा रोकिने गर्छन् । साँघुरो सडकमा सार्वजनिक तथा निजी साना सवारीसाधनको पार्किङले सडक थप अव्यवस्थित भएको छ । बाहाखा बजारको पुरानो साँघुरो सडक विस्तार गर्ने वर्षौंको योजना स्थानीयको अवरोधकै हुन सकेको छैन ।

बढ्दो सहरीकरण, सवारीे चापका कारण उक्त सडकमा दिनहुँ जाम हुन्छ । मध्यपुर थिमि सुन्दर नगर, गठ्ठाघर, बप्पा महादेव मन्दिर परिसरको अव्यवस्थित पार्किङ हटाउन नगरपालिकाले पटक/पटक सूचना प्रकाशित गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

त्यसैगरी, यातायात व्यवस्था विभागको कार्यालय जगातीमा दैनिक सयौंको संख्यामा सेवाग्राहीहरूको आवतजावत हुने गर्छ । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत जगातीस्थित यातायातको कार्यालय आउने सेवाग्राहीले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।

आफैं भाडाको घरबाट सेवा दिन बाध्य कार्यालयले पार्किङको व्यवस्था गर्ने अवस्था नभएको विभाग जगाती प्रमुख किरण ढकालले बताए । २०७३ माघमा सञ्चालित कार्यालयले अझै पार्किङमा ध्यान दिन सकेको छैन ।

पार्किङ स्थलको व्यवस्थापन गर्न नसकेको सूर्यविनायक नगरपालिकाले यातायात कार्यालय आउने सेवाग्राहीले सडक किनारामा गरेको सवारीसाधनको शुल्क उठाउने गरेको सेवाग्राहीको गुनासो छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिका वडा नम्बर ६ र ८ का वडाध्यक्षहरूको समन्वयमा पाण्डुबजार, सूर्यविनायक चोक (ट्रली बस पार्क) हुँदै गणेशस्थानसम्मको सडक अतिक्रमित संरचना, अव्यवस्थित तरकारी बजार, पेटीमा राखेको खुल्ला पसलहरू हटायो । अव्यवस्थित खुल्ला पसल तथा संरचना हटाए पनि सडकको दायाँबायाँ अव्यवस्थित सवारी पार्किङले दिनहुँ जाम हुने गरेको छ ।

दर्जनौं बैंक तथा वित्तीय संस्था, व्यापारिक स्थल भएको सूर्यविनायकमा दैनिक हजारौं सेवाग्राहीको आवातजावत हुने गर्छ । सम्बन्धित निकायले पार्किङको व्यवस्था गर्न नसक्दा सर्वसाधारणले आफूले प्रयोग गर्ने सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने अवस्था छ ।

सर्भिस ट्र्याकमै पार्किङ
सूर्यविनायक–तीनकुने सडकखण्डको सर्भिस ट्रयाक पार्किङस्थलका रूपमा परिणत भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–तीनकुने ६ लेन खण्डअन्तर्गतको ९.१ किमि सडकको दायाँबायाँको करिब १८ किलोमिटर सर्भिस ट्रयाक मुख्य/मुख्य चोकमा दुरुपयोग भइरहेको हो ।

सर्भिस ट्रयाकलाई स्थानीयबासी तथा व्यापारीहरूले पार्किङ र व्यापार गर्ने थलो बनाएका छन् । मध्यपुर थिमि शंखधर चोक (नयाँ थिमि) मा त झन् सर्भिस ट्रयाकलाई नै सूर्यविनायक नगरपालिका–दधिकोट, गाम्चा चल्ने बस, रत्नपार्क चल्ने माइक्रोबस पार्क स्थापित छ । पैदलमैत्री सर्भिस ट्रयाकमै पार्किङ गर्दा सर्वसाधारणले सास्ती झेल्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्