सडकमै पार्किङ

बसपार्कको पर्याप्त ठाउँ नहुँदा सडक किनारामै गाडी पार्किङ  
भक्तपुरका चार नगरपालिकाले विकल्प दिन सकेका छैनन् 
लीला श्रेष्ठ

भक्तपुर — कमलविनायकस्थित जिल्लाको उत्तरपूर्वी क्षेत्रमा चल्ने सार्वजनिक बस सडकमै पार्किङ गरेको छ । उत्तरपूर्वी बस व्यवसायी संघअन्तर्गत नगरकोट, काभ्रेको मण्डन देउपुर, तेलकोट, कलमसीलगायत स्थानमा चल्ने सार्वजनिक बस, भक्तपुर मिनीबस सेवा समितिअन्तर्गत बागेश्वरी, छालिङ चल्ने बसहरू सडकमै रोकिएका हुन्छन् ।

सडकमै पार्किङ

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य मार्ग कमलविनायकको साँघुरो सडकको दायाँबायाँ असरल्ल राखिएका साना तथा ठूला सवारीसाधनले नगरको सौन्दर्यतामा प्रश्न उठेको व्यवसायी नवीन बज्राचार्य बताउँछन् । सडक किनाराको अघोषित बसपार्कले पैदल मार्ग अतिक्रमण गरेको छ भने, अस्तव्यस्त पार्किङले दिनहुँ घण्टौं जाम हुने गरेको छ ।


कमलविनायक क्षेत्रमै रहेका दुई बसपार्कको अवस्था भने दयनीय छ । खरिपाटी, तेलकोट, नगरकोट, काभ्रे बालुवापाटी देउपुरको अव्यवस्थित साँघुरो बसपार्ककै कारण दिनहुँ सर्वसाधारणले घण्टौं जामको सास्ती व्यहोर्नुपरेको चाँगुनारायण ७ बागेश्वरीका दिपेश खड्का बताउँछन् । कमलविनायक–रत्नपार्क–गोंगबु चल्ने बसपार्क पनि त्यस्तै अस्तव्यस्त छ । बसपार्कको पर्याप्त ठाउँ नहुँदा सडक किनारामै बस पार्किङ हुँदै आएको छ ।


सडकपेटीमा साइकल तथा गाडामा तरकारी, फलफूल, खुल्ला पसल राखेका छन् । सोही सडकको नाली पुरेर पार्किङ स्थल बनाएको र नाली सडकमा खुल्ला छोडिदिँदा सडकमा नाली बग्ने गरेको स्थानीय व्यवसायी नारायणी फुँयाल गुनासो गर्छिन् । भक्तपुर नगरपालिकाले पार्किङ क्षेत्र नतोकिए पनि मुख्य/मुख्य स्थानमा पार्किङ नगर्न अनुरोध गर्दै ब्यानरहरू राखेको स्यानिटेसन शाखा प्रमुख दिलीपकुमार सुवाल बताउँछन् ।


भक्तपुर नगरभित्र मुख्य ६ वटा बसपार्क छन् । तर, जग्गा अभावले कुनै पनि बसपार्कलाई व्यवस्थित गर्न नसकेको नगरपालिकाका जनप्रतिनिधि स्विकार्छन् । नगरपालिकाले बसपार्क व्यवस्थित गर्न नसके पनि कमलविनायक क्षेत्रको अव्यवस्थित मोटरसाइकल पार्किङलाई व्यवस्थित गर्न सरस्वती विद्यागृह अगाडिको चौरमा मोटरसाइकल पार्किङ सेन्टर निर्माण गरेको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।


नगरपालिकाले करिब ४ करोड रुपैयाँको लागतमा दुधपाटीस्थित एक्स्प्रेस र पुरानो बसपार्कको स्तरोन्नति कार्यको थालनी गरेको समेत उनले बताए । ब्यासीस्थित पर्यटक बसपार्कको लागि जग्गाको खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।


यता मध्यपुर थिमि शंखधरचोकको पार्किङ अवस्था त्यस्तै अस्तव्यस्त छ । साँघुरो सडकको दायाँबायाँ साना तथा ठूला सवारीको अव्यवस्थित पार्किङले सडक अस्तव्यस्त छ । सडकपेटीमा तरकारी, फलफूल, वर्कसप, खुल्ला कपडा पसल यत्रतत्र असरल्ल छ । मध्यपुर थिमि बाहाखा बजार त्यत्तिकै अव्यवस्थित छ ।


भक्तपुरबाट पुरानो थिमि भएर चल्ने लखनखेल, गौशाला, रत्नपार्कको बस बाहाखा बजारमा रोकिने गर्छन् । साँघुरो सडकमा सार्वजनिक तथा निजी साना सवारीसाधनको पार्किङले सडक थप अव्यवस्थित भएको छ । बाहाखा बजारको पुरानो साँघुरो सडक विस्तार गर्ने वर्षौंको योजना स्थानीयको अवरोधकै हुन सकेको छैन ।


बढ्दो सहरीकरण, सवारीे चापका कारण उक्त सडकमा दिनहुँ जाम हुन्छ । मध्यपुर थिमि सुन्दर नगर, गठ्ठाघर, बप्पा महादेव मन्दिर परिसरको अव्यवस्थित पार्किङ हटाउन नगरपालिकाले पटक/पटक सूचना प्रकाशित गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।


त्यसैगरी, यातायात व्यवस्था विभागको कार्यालय जगातीमा दैनिक सयौंको संख्यामा सेवाग्राहीहरूको आवतजावत हुने गर्छ । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत जगातीस्थित यातायातको कार्यालय आउने सेवाग्राहीले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।


आफैं भाडाको घरबाट सेवा दिन बाध्य कार्यालयले पार्किङको व्यवस्था गर्ने अवस्था नभएको विभाग जगाती प्रमुख किरण ढकालले बताए । २०७३ माघमा सञ्चालित कार्यालयले अझै पार्किङमा ध्यान दिन सकेको छैन ।


पार्किङ स्थलको व्यवस्थापन गर्न नसकेको सूर्यविनायक नगरपालिकाले यातायात कार्यालय आउने सेवाग्राहीले सडक किनारामा गरेको सवारीसाधनको शुल्क उठाउने गरेको सेवाग्राहीको गुनासो छ ।


त्यस्तै, सूर्यविनायक नगरपालिका वडा नम्बर ६ र ८ का वडाध्यक्षहरूको समन्वयमा पाण्डुबजार, सूर्यविनायक चोक (ट्रली बस पार्क) हुँदै गणेशस्थानसम्मको सडक अतिक्रमित संरचना, अव्यवस्थित तरकारी बजार, पेटीमा राखेको खुल्ला पसलहरू हटायो । अव्यवस्थित खुल्ला पसल तथा संरचना हटाए पनि सडकको दायाँबायाँ अव्यवस्थित सवारी पार्किङले दिनहुँ जाम हुने गरेको छ ।


दर्जनौं बैंक तथा वित्तीय संस्था, व्यापारिक स्थल भएको सूर्यविनायकमा दैनिक हजारौं सेवाग्राहीको आवातजावत हुने गर्छ । सम्बन्धित निकायले पार्किङको व्यवस्था गर्न नसक्दा सर्वसाधारणले आफूले प्रयोग गर्ने सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने अवस्था छ ।


सर्भिस ट्र्याकमै पार्किङ

सूर्यविनायक–तीनकुने सडकखण्डको सर्भिस ट्रयाक पार्किङस्थलका रूपमा परिणत भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–तीनकुने ६ लेन खण्डअन्तर्गतको ९.१ किमि सडकको दायाँबायाँको करिब १८ किलोमिटर सर्भिस ट्रयाक मुख्य/मुख्य चोकमा दुरुपयोग भइरहेको हो ।


सर्भिस ट्रयाकलाई स्थानीयबासी तथा व्यापारीहरूले पार्किङ र व्यापार गर्ने थलो बनाएका छन् । मध्यपुर थिमि शंखधर चोक (नयाँ थिमि) मा त झन् सर्भिस ट्रयाकलाई नै सूर्यविनायक नगरपालिका–दधिकोट, गाम्चा चल्ने बस, रत्नपार्क चल्ने माइक्रोबस पार्क स्थापित छ । पैदलमैत्री सर्भिस ट्रयाकमै पार्किङ गर्दा सर्वसाधारणले सास्ती झेल्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?