जात्राले झकिझकाउ बूढानीलकण्ठ

बुद्ध जयन्तीका दिन हरेक गुठी र टोलवासीहरुले आफूले मान्ने मूल देवी-देवताको पूजाआजा गरिसकेपछि जात्रा सुरू हुन्छ

काठमाडौँ — वैशाख शुक्लपक्षदेखि बुद्ध जयन्तीको चौथो दिनसम्म नेवारी समुदायले विशेष मनाउने स्थानीय जात्राहरूले बूढानीलकण्ठ नगरपालिकालाई झकिझाउ बनाएको छ ।

जात्राले झकिझकाउ बूढानीलकण्ठ

बुद्ध जयन्तीको दिन हरेक गुठी र टोलवासीहरूले आ-आफूले मान्ने मूल देवी-देवताको पूजाआजा गरिसकेपछिको सबै स्थानमा जात्रा सुरु हुन्छ । पहिलो दिनका सबै सरसामान जोरजाम सकेपछि दोस्रो दिन गणेश पञ्चकन्या भगवान्को मूर्ति दयःछे -देउता घर) ब्ााट निकाली मुख्य मन्दिर अर्थात् टोलको चोकमा राखिन्छ ।


बेलुकी महिलाहरू सांस्कृतिक वेशभूषामा सजिसजाउ भएर दियो बत्ती बाल्दै आउँछन् भने पुरुषहरू सिंगारिएको रथ लिएर बाजागाजासहित आएपछि गुठीको मुखियाले पूजा गर्छन् । यसै दिनको रात्रिमा गुठीका सदस्यहरू जाग्राम बसी भजनकीर्तनसहित आलोपालो गरी गणेश देवता र पञ्चकन्या देवीको मूर्तिलाई कुरेर बस्ने प्रचलन छ ।


गुठीका मुखिया मानकाजी श्रेष्ठका अनुसार एक स्थानीयले वर्षौंपहिले कार्यालयमा काम बिगारेपछि चिन्तामा पञ्चकन्यादेवीलाई मलाई बचायौ भने तिमीलाई रथमा राखी टोलभरि परिक्रमा गराउँछु भनीे भाकल गरेको र कालान्तरमा उक्त भाकल पूरा भएपछि जात्रा मनाउन थालिएको सुनाउँछन् ।


पञ्चकन्या गुठीमा शिखारीदेवी, सुनदेवी, पञ्चकन्यादेवी, जलदेवी, महाकालीसहित पाँच देवीको पूजा गरिन्छ । गणेश गुठीको जात्रा भने परापूर्वकालदेखि मनाउँदै आएको गुठियार सदस्य सानुकान्छा श्रेष्ठका बताउँछन् । उनका अनुसार गणेशको मूर्तिलाई सुरुआती समयमा चोयाको ढक्कीमा राखी गाउँ परिक्रमा गरिने चलन थियो । पछि गाउँका कृषकहरूले मेलापातबाट कमाएको ज्यालाले रथ बनाउन लगाएपछि जात्रा सुरु भएको बताए ।


जात्रामा राँगा, कुखुरा, बोकाको बलि दिने प्रचलन छ । तेस्रो र चौथो दिन सबै स्थानमा भगवान्को दर्शन गराउन सिन्दुरे जात्रासहितको रथ परिक्रमा गरी जात्रा समापन गरिन्छ । हरेक टोलबाट निकालिने रथहरूले यस टोलको गणेश मूर्ति विराजित रथ नबिसाईकन अन्य देवीदेवता विराजित रथ बिसाउन नपाइने चलन छ । र, यो यस जात्राको मुख्य विशेषतासमेत हो । गाम्चामा मनाइने जात्राको भने अलि फरक किंवदन्ती पाइन्छ ।


नौलिंगेश्वरी भद्रकाली गुठीअनुुसार खेतमा काम गर्न लागिरहेका नेवारी कृषकहरूले एउटा रोइरहेको बालक देखे । भोकाएर रोएको होला भनी खेतालालाई ल्याएको सबै खाजा खान दिए पनि नअघाएको कारण एउटा कृषकले एक थप्पड पिटेपछि बालक घोप्टो परेका थिए । उक्त बालकले पृथ्वी नै खान्छु भनी हिँडेका थिए । तिमीहरूले यसो गर्‍यौ भने चुप लाग्छु भनेपछि ती बालक भगवान्को अवतार रहेको ठानी उक्त बालकको नाममा जात्रा सुरु भएको मानिन्छ ।


यहाँ कपनको टुपेक गाउँबाट गणेशको मूर्ति ल्याई गाम्चाको नौलिंगेश्वरी भद्रकालीमा राखेपछि जात्रा सुरु हुन्छ । यस गुठीको जात्रामा भने भद्रकाली र गणेशको मूर्तिलाई उचालेर टोल परिक्रमा गराउन नहुने मान्यता छ । मूर्तिलाई रथबाट झिकेर भुइँमा सेतो कपडा ओछ्याई कपडा सार्दै गाम्चाका टोलवासीलाई दर्शन गराउने प्रचलन छ । यस देवीलाई पनि राँगा, कुखुरा, बोका आदिको भोग दिने चलन छ । गुठीका अनुसार यही स्थानबाट भगवान्को एक अंश लगेर सहिदगेटस्थित भद्रकाली मन्दिर स्थापना गरिएको हो ।


भद्रकाली माईको चार दिदीबहिनीमा कान्छी बहिनीको जात्रा चपली गाउँमा मनाइन्छ । टुपेकबाट चोरेर ल्याइएको यहाँको भद्रकाली माईर् यस गाउँ बस्न नमानेपछि स्थानीयले फकाउनका निमित्त आठखुट्टे जनावरको बलि दिन्छु भनी भाकल गरेर मनाइएको कारण यस देवीलाई गंगटाको बलि दिएर जात्रा मनाउने चलन रहेको गुठीको भनाइ छ ।


त्यसैगरी हात्तिगौंडामा ढफु गुठीले र टुसालको चुनीखेलमा पनि सोही रीतिरिवाजअनुरूप भदाली माईको जात्रा मनाउने चलन छ । अन्तिम दिन भने सिसौ र अग्राखको काठ, पित्तलको छाना र गजुरसहितको रथलाई रातो झल्लरीले बेरेर मूर्तिसहितको रथलाई सबै टोल-टोलमा घुमाउने चलन छ । यसरी सिन्दुरे जात्रा र बाजागाजासहित दुई दिनसम्म रथलाई टोल परिक्रमा गर्दै जात्रा समापन

गर्ने प्रचलन पाइन्छ ।


–साम्राज्ञी भण्डारी

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?