कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बस्ती खनी माटो

चाँगुनारायण ४ गौतमेश्वर, पोखरेलगाउँ, कुमेडी डाँडा, ज्योर्तिलिंगेश्वर, झौखेल, छालिङ, ताथली, सरस्वतीखेतललगायत क्षेत्रमा सयौं रोपनी व्यक्तिगत एवं सार्वजनिक जग्गा नै मासिने गरी चारैतिरबाट बालुवा उत्खनन्
लीला श्रेष्ठ

भक्तपुर — नगरपालिकाले स्पष्ट कार्यविधि नै नबनाई इँटाभट्टालाई माटो ओसारपोसार अनुमति दिँदा अवैध रूपमा माटो, बालुवा उत्खनन् तथा चोरी निकासी बढेको छ । चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ५० इँटाभट्टालाई व्यवसाय दर्ता तथा राजस्व प्रतिइँटा उद्योग ५ लाख रुपैयाँ लिएको छ ।

बस्ती खनी माटो

उक्त कर तिरेको बाहानामा इँटाभट्टा सञ्चालकले चाँगुनारायण १, ३, ४, ५, ८ र ९ वडाका विभिन्न क्षेत्रबाट माटो र बालुवा उत्खनन् गरिरहेका छन् ।


चाँगुनारायण ४ गौतमेश्वर, पोखरेलगाउँ, कुमेडी डाँडा, ज्योर्तिलिङ्गेश्वर, झौखेल, छालिङ, ताथली, सरस्वतीखेतललगायत क्षेत्रमा सयौं रोपनी व्यक्तिगत एवं सार्वजनिक जग्गा नै मासिने गरी चारैतिरबाट बालुवा उत्खनन् गरेको छ । करिब ५० फिट अग्लो डाँडा भासिने गरी माटो, बालुवा उत्खनन् गरेको छ । इँटाभट्टाले नगरपालिकालाई राजस्व तिरेको नाममा खानी क्षेत्रमा डोजर/एक्जाभेटरको प्रयोग गरी बालुवा तस्करी गरिरहेको चाँगुनारायण ३ झौखेलकी सुन्तली आगञ्जाले बताइन् ।


नगरपालिकाले कुनै सिमांकन, अनुगमन तथा अवलोकन नै नगरी हचुवाको भरमा माटो निकासाको स्वीकृति दिँदा बालुवा तस्करी मौलाएको हो । २०७१ फागुन १५ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि जिल्लामा सञ्चालित बालुवा, माटो, ढुंगा, पाँगो माटोलगायतका २६ खानीको फाइल कब्जामा लियो ।


अख्तियारले फाइल नियन्त्रणमा लिएलगत्तै साविक जिल्ला विकास समितिले भक्तपुरमा सञ्चालित सम्पूर्ण खानी बन्द गराएको थियो । वैधानिक रूपमा खानी बन्द भए पनि चोरीनिकासी कायमै छ । स्थानीय तह लागु भएयता जनप्रतिनिधिकै संलग्नतामा मनोमानी ढंगमा भूमि दोहन बढेको छ ।


छानविनका लागि अख्तियारले लगेको फाइल फिर्ता भइसकेको छ । नगरपालिकाले 'स्थानीय सरकार सञ्चालन ऐन, २०७४' अनुसार खानी सञ्चालनको प्रक्रिया सुरू गरेको बताउँदै आएको छ । नगरपालिकाले बालुवा खानी सञ्चालन गर्न आईई (वातावरणीय प्रभाव मूल्यांकन) का लागि खानी तथा भूगर्भ विभागका फाइल पठाएको जानकारी दिएको छ । तर, आईईको प्रक्रियामा अल्झेको नगरपालिकाले अवैधानिक रूपमा भइरहेको उत्खनन् तथा चोरी निकासीलाई नियन्त्रण गर्न भने सकेको छैन ।


नगरपालिकाले 'खानी तथा नदीजन्य पदार्थको संकलन, उत्खनन्, ओसारपसार र बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०७५' पास गरी अध्ययनका लागि व्यवसायीहरूसँग कागजातसमेत माग गरिसकेको अवस्था छ । नगरपालिकाको दोहोरो निर्णयकै कारण चोरीनिकासी मौलाएको व्यवसायीको आरोप छ ।


नगरपालिकाले इँटाभट्टालाई प्राेत्साहन गरिरहने तर, बालुवा खानी व्यवसायीलाई हतोत्साही पार्ने काम गरेको व्यवसायी मुकुन्द थापाले बताए । खानी व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहले विभिन्न बाहनामा वाषिर्क ६ करोड भन्दाबढी आयस्रोत गुमाइरहेको उनको गुनासो छ ।


नगरपालिकाले भने इँटाभट्टालाई माटो उत्खननको स्वीकृति दिएको नभई ओसारपोसार गर्ने अनुमति मात्र दिएको जनाएको छ । 'इँटा उद्योगलाई माटो ओसारपोसार गर्ने अनुमति मात्र दिएको हो, उत्खनन् गर्ने अधिकार छैन,' चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले भने, 'बालुवा, माटो उत्खनन् भएको छ भने वैधानिक होइन ।'


खानी तथा नदीजन्य पदार्थको संकलन, उत्खनन्, ओसारपसार र बिक्रीवितरणसम्बन्धी कार्यविधि २०७५ कार्यान्यन एवं बालुवा खानी सञ्चालनका लागि नगरपालिकाले आईईई -वातावरणीय प्रभाव मूल्यांकनका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको उनले बताए । आईईई भइसकेपछि बालुवा खानी सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । व्यवसायीले भने आईईको रिर्पोट ढिलाइले व्यक्ति मोटाउने, नगरपालिकाको स्रोत गुम्ने कार्य भइरहेको बताउँदै आएको छ ।


हचुवाको भरमा निकासी शुल्क

चाँगुनारायण नगरपालिकाले हचुवाको भरमा नगरक्षेत्रअन्तर्गत चाँगुनारायण ९ चोकन्तिला, फूलबारी र बोडोपा नाकाबाट निकासी हुने पाँगो, माटो र काँचो इँटा सेवा शुल्क उठाउने गरी 'सेविका सर्जिकल एन्ड इक्युपमेन्ट हाउस' कम्पनीलाई जिम्मा दियो ।


२०७५ मंसिर १४ मा सम्झौता गरी पाँगो, माटो र काँचो इँटा निकासी सेवा शुल्क उठाउने जिम्मा पाएको कम्पनीले अवैधानिक रूपमा माटो तथा बालुवा उत्खनन् गरेको पाइएको छ ।


नगरपालिकाले उक्त कम्पनीलाई ५५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँमा ठेक्का लगाएको हो । पाँगो, माटो, काँचो इँटा निकासी गर्दा आर्थिक वर्ष ०७५/७६ का लागि नपाबाट अनुमतिप्राप्त गाडीबाहेक अन्य गाडीमा प्रतिकाँचो इँटा १० पैसा र माटो/पाँगो प्रतिक्युबिक फिट १ रूपैयाँ सेवा शुल्क लिन पाउने नगरपालिकासँगको सम्झौता पत्रमा उल्लेख छ । तर, उक्त कम्पनीले ढिस्को भाँसेर माटो, बालुवा उत्खनन् गरिरहेको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी मूकदर्शक बनेर बसेको छ ।


दुई पाँगो खानी नवीकरण

नगरपालिकाले चाँगुनारायण ९ ताथलीस्थित दुई पाँगो खानीलाई उत्खनन् नवीकरण गरेको छ । नगरभित्र सञ्चालित बालुवा, माटो, पाँगो, ढुंगा खानी सञ्चालन तथा व्यवस्थापनको टुंगो नलाग्दै नगरपालिकाले पाँगोलाई मात्र उत्खनन् स्वीकृतिको नवीकरण गरेको हो ।


ताथलीस्थित कृष्णराम कुम्पाख र ज्ञानप्रसाद दुवालले सञ्चालन गर्दै आएको पाँगो खानीले वाषिर्क ८/८ लाख रूपैयाँ राजस्व तिर्ने गरी नवीकरण गरेको नगरपालिकाले जनाएको छ । पाँगो उत्खनन् क्षेत्र निर्धारण परिमाण यकिन गर्न प्राविधिक उपसमितिसमेत गठन गरेको छ ।


उपसमितिमा इन्जिनियर रूपेश गेलाल, पुरुषोत्तम शर्मा र अमिन शालिकराम तिमिल्सिना छन् । खानी तथा भूगर्भ विभागको आईई र माइनिङ स्क्रिनका आधारमा नवीकरण गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले बताए ।


बालुवा खानी सञ्चालनको प्रक्रियामा रहेको र आईई, माइनिङ स्क्रिनका लागि खानी तथा भूगर्भ विभागमा ११ खानीको फाइल पेस गरेको उनले बताए । नगरपालिकाले पाँगो, बालुवा खानी सञ्चालनको प्रक्रिया थालेको बताए पनि उत्खनन् तथा ओसारपोसार रोकिएको छैन । नगरपालिकाले बालुवा खानी सञ्चालन व्यवस्थापनतर्फ आलटाल गरिरहने र पाँगो, माटो उत्खनन्, इँटा उत्पादनलाई प्राेत्साहन गर्ने कार्य शंकास्पद रहेको व्यवसायीको गुनासो छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?