आँखामा पनि क्यान्सर !

काठमाडौँ — राजधानीवासी एक बालिकाको जन्मेको सात दिनमै आँखाको नानीको भाग सेतो देखियो । आँखा रातो र रसिलो भइरहन्थ्यो । धेरै दिनसम्म समस्या हराएन । अस्पताल पुगेर परीक्षण गर्दासम्म लक्षणहरूले क्यान्सरको रूप लिइसकेको रहेछ ।

सामान्य समस्या सोचेर अस्पताल पुगेका बालिकाका बाबुले आँखाको पनि क्यान्सर हुन्छ भन्ने पत्याउन सकेनन्, आत्तिए मात्रै । चिकित्सकसँग परामर्शपछि उपचार थालियो । ६ पटक केमोथेरापी दिएपछि बालिका अहिले क्यान्सरमुक्त भइसकिन् ।


क्यान्सरमुक्त भए पनि उनको एउटा आँखा भने निकालिएको छ । चाँडै उपचार गरिएका कारण बालिकाको अर्को आँखा र ज्यान बचाउन सम्भव भएको उपचारमा संलग्न डा. बेन लिम्बू बताउँछन् । उनी भन्छन्, 'अधिकांश बिरामी दुवै आँखा निकाल्नुपर्ने अवस्थामा अस्पताल आइपुग्छन् । आँखाको क्यान्सरबारे जनचेतना नहुँदा बिरामी उपचार नगरी बसिरहेका छन् ।'


विश्व स्वास्थ्य संगठनका अनुसार २० हजार नवजात शिशुमध्ये १ मा यस्तो समस्या देखिन्छ । विशेषज्ञका अनुसार ५ वर्षमुनिका बालबालिकामा यो रोग देखा पर्न सक्छ । समयमा उपचार हुन नसके क्यान्सर फैलिएर अन्धोपन हुन्छ । शरीरभरि रोग फैलिएर ज्यानै जान पनि सक्छ । नेपालजस्ता विकासोन्मुख मुलुकमा यो रोगबाट हुने मृत्युदर ७० प्रतिशत हुन्छ ।


विकसित मुलुकमा मृत्युदर १ प्रतिशत मात्रै छ । डा. लिम्बू भन्छन्, 'अशिक्षा, अन्धविश्वास, गरिबी र उपचार अभाव यसको प्रमुख कारण हो ।'


तिलगंगा आँखा अस्पतालका अनुसार अघिल्लो वर्ष ६० प्रतिशत यस्ता बिरामी आँखा निकाल्नुपर्ने अवस्थामा अस्पताल आइपुगेका थिए । अस्पतालकी आँखारोग विशेषज्ञ डा. रोहित सैजु भन्छन्, '२० वर्ष पहिले बिरामी आँखाको क्यान्सर फैलिएर बाहिर मासुको डल्लो निस्केको अवस्थामा आउँथे ।'

प्रकाशित : वैशाख ३०, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?