डम्पिङ साइट बन्दै पाशुपत क्षेत्र

माया श्रेष्ठ

काठमाडौँ — पशुपतिनाथको मृगस्थली र ध्रुवस्थली वन फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) का रूपमा परिणत भएको छ । वनमा उद्योगधन्दाबाट निस्किएका फोहोरदेखि बस्तुभाउको सिनोसम्म यत्रतत्र फालिएको देख्न सकिन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र दुर्गन्धित हुँदा समेत पशुपति क्षेत्र विकास कोष मौन बसेको स्थानीयवासीले गुनासो गरेका छन् ।

गार्मेन्ट, औद्योगिक कार्यबाट निस्किएका प्रदूषित फोहोर र बस्तुभाउको सिनो फाल्ने डम्पिङ साइटमा परिणत भएको स्थानीय नुक्षेबहादुर ठैलाले बताए । 'वन जति पछि भयो, त्यति कुरूप भयो,' उनले भने, 'यहाँ पहिला घुम्न विदेशी स्वदेशी मान्छेको भिड हुन्थ्यो, अहिले बाटो भएर हिँड्न पनि यताउति नहेरी हिँड्नुपर्छ ।'

तिलगंगा चोकदेखि गोठाटार ताम्रगंगासम्म पशुपति क्षेत्रको मृगस्थली र ध्रुवेश्वर वनको बीचमा पर्ने करिब ६ सय ७५ मिटर कच्ची मोटरबाटो वारिपारिका विभिन्न ठाउँमा फोहोर थुपारिएको छ ।

गार्मेन्ट उद्योगबाट निस्किएका फोहोर फाल्न भक्तपुरदेखि ट्रकहरू आउने गरेको ठैलालेे बताए । पवित्र स्थल फोहोर फाल्ने स्थल बन्दै गयो,' उनले भने, 'जता पायो त्यतै फोहोर फाल्दा पनि क्षेत्र कोष मौन बसेको छ ।' मरेका गाईबस्तुका सिनो बाटो छेउछाउ यत्रतत्र छरिएका छन्, त्यसमाथि स्थानीय व्यापारीले कुखुराको आन्द्रा यहाँ ल्याएर फाल्ने गरेका छन् । तिलगंगाबाट गौरीघाट जाँदै गरेका गोपाल केसीले भने, 'कच्ची बाटोको खाल्डाखुल्डीमा धूलो खाँदै हिंड्यांै, त्यसैमाथि फोहोरको दुर्गन्धले हिँड्नै गाह्रो हुन्छ ।'

यसरी पैदलयात्रा गर्दा सास्ती खेप्नेहरू सबैको अनुभव केसीको जस्तै छ । शिवपुरी बाबा आश्रममा जाँदै गरेकी शंखमूलकी कोकिला रिजालले भनिन्, 'फोहोर मात्रै नभएर मृगस्थलीमा मानव चिहानसमेत अव्यवस्थित रूपमा गाडिएका छन् ।'

चिहानबाट लास स्यालले खोस्रँदा दुर्गन्ध फैलिएको उनले बताइन् । 'लास राम्रोसँग नगाडदा दुर्गन्ध फैलिएर हिंड्न समस्या छ,' उनले भनिन्, 'पशु र मानवको लास राख्ने ठाउँ सँगै जस्तो पो भयो ।'

वन फोहोर फाल्ने डम्पिङ साइटजस्तै हुँदा समेत क्षेत्र विकास कोषको ध्यान जान सकेको छैन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल यस विषयमा बोल्न चाहेनन् । उनले भने, 'यसबारे एक हप्तापछि थाहा हुन्छ ।'

यस क्षेत्रमा ज्यादै फोहोर बढेपछि सफाइ गरिपाऊँ भनी तीन वर्षअघि नै सर्वाेच्चमा रिटसमेत दायर भएको थियो । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश अनीलकुमार सिन्हा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासलेे ०७३ पुस ३ गते पशुपति क्षेत्र दिगो संरक्षण व्यवस्थापन र विकासका लागि 'मृगस्थली र श्लेष्मान्तक वनको समस्त क्षेत्रको सुरक्षा र सफाइका लागि व्यवस्था गर्नू' भनी आदेश गरेको थियो ।

'काठमाडौं उपत्यकाको बढदो जनसंख्या र जनघनत्वसमेतलाई दृष्टिगत गर्दा' त्यस क्षेत्रमा शव गाड्ने कामसमेत रोक्नुपर्ने उक्त आदेशमा उल्लेख छ । यसबाट सम्बन्धित धार्मिक क्षेत्रमा मर्का पर्न जाने तथ्यलाई अदालतले मनन गर्दै 'सम्बद्ध सम्प्रदायको धार्मिक भावनामा चोट नपुग्ने गरी वैकल्पिक स्थानको व्यवस्था गर्नू' भनेर समेत अदालतबाट आदेश भएको थियो । तर, तीन वर्ष लागिसक्दा पनि न आदेश पालना भएको छ, न पाशुपत क्षेत्रको दुर्गन्ध र फोहोर नै रोकिएको छ । यसरी सम्बन्धित निकायले सुधारमा वास्तै नगरेको देखेपछि स्थानीय बासिन्दा र भक्तजन निराश छन् ।

- प्रशिक्षार्थी

प्रकाशित : वैशाख ३०, २०७६ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मृगस्थलीमा मृग व्यवस्थापन गाह्रो

माया श्रेष्ठ

काठमाडौं — पशुपतिको श्लेषमान्तक वन मृगस्थलीमा मृगको व्यवस्थापन नहुँदा शताब्दी पुराना रूख लोप हुने अवस्थामा पुगेका छन् । मृगले पुराना रूखको जरा खोतल्ने र लोक्ता टोक्न थालेका छन् । २०६१ मंसिरमा ९५ रोपनीमा ३० वटा मृग पाल्न सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा होमप्रसाद नेपालले जानकारी दिए । ‘मृगको संख्या बढेर १ सय ६३ पुगेको छ,’ उनले भने, ‘पाल्ने ठाउँ साँघुरो भयो ।’

चरनका लागि उपयुक्त घाँसे स्थान नभएका ठाउँमा धेरै मृग राख्दा विश्व सम्पदा सूचीमा परेको पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र कुरूप हुने अवस्थामा परिणत हुँदै गएको मृग अवलोकन गरिरहेका काठमाडौं पेप्सीकोलाका दिनेश थापाको भनाइ छ ।

‘पहिला हरियो झाडीसँगको वन थियो,’ उनले भने, ‘पुराना रूखका जरा उक्किएर माथिमाथि आएछन्, ओरालो भागतिर सबै धूलो उड्ने भएछ ।’ बागलुङ घर भई हाल काठमाडौं बस्दै आएका सुदीप विकले मृगको व्यवस्थापनसँगै पुराना रूखको संरक्षणमा क्षेत्र विकास कोषले चासो नदिएको बताए । ‘तल भिरालोतिर त खण्डहर हुन लागेछ,’ उनले भने, ‘अलि पछाडि त पहिरो आउन सक्छ ।’

वनको बीचमा सीमित घेराभित्र राखिएका मृगका लागि चरन क्षेत्र छैन । आहारा नपुग भएपछि मृगलाई चना, मकै, भटमास र खनिज तत्त्व दिनको ३ पटक खुवाउने गरेको नासु नेपालले बताए । शिवजी मृगको रूप लिएर बसेको मृगस्थलीमा मृगबिनाको थली भएकाले कृष्णसार १८, चित्तल १० र रतुवा मृग २ वटा राखी सुरुवात गरिएको थियो ।

मृगको संख्या बढेसँगै त्यसको पर्यावरणमा दखल पुर्‍याउँदासमेत क्षेत्र विकास कोषले स्थानान्तरण गर्न सकेको छैन । मृगको सुरक्षित स्थानान्तरण गर्ने भन्दै आए पनि व्यवस्थापनका लागि योजना बनाउन सकेको छैन ।


‘अन्य निकुन्जमा मृग छाडिदिँदा सुरक्षित नहुने हुँदा छाड्न सकिएन,’ नेपालले भने, ‘अरू जनावरले आक्रमण गर्न सक्छ ।’ फार्म बनाएर पाल्ने वा व्यक्तिले पाल्ने वातारण सिर्जना भए सुरक्षित रहने उनको भनाइ छ ।


वृक्षरोपण गरेर रूख बिरुवाको संरक्षण वृद्धि गर्नु सट्टा भएका पुराना रूख मासिने क्रम बढेको छ । त्यसले पशुपति क्षेत्रको वनका विभिन्न भागमा भूक्षय भएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका कर्मचारी बद्री भण्डारीका अनुसार जनावरलाई पालिसकेपछि प्रक्रिया पुर्‍याएर वनमा छाड्न सकिन्छ । उनले भने, ‘वनजंगलमा बस्ने जनावर सुगालाई जस्तो थुन्दा के हुन्छ, वनमा बस्नेलाई वनमा छाडदा बिस्तारै घुलमिल हुन्छ ।’

प्रकाशित : वैशाख २८, २०७६ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×