समाज कल्याणको जग्गा उपयोगहीन

सम्राज्ञी भण्डारी

काठमाडौँ — समाज कल्याण परिषद्को बूढानीलकण्ठ नगरपालिकाको वडा- ३ स्थित जग्गा तथा भवन वर्षौंदेखि उपयोगविहीन छ । यहाँ परिषद्को ५ रोपनी ३ आनामा एक तलाका चारवटा भवन छन् । 

परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले सीपमूलक कार्यक्रम सञ्चालन गर्न तयार गरिएको परिषद्को भौतिक पूर्वाधार बजेट अभावले प्रयोगमा आउन नसकेको बताए । १५ वर्षदेखि प्रयोजनमा नआउँदा परिषद्का भवन पानी चुहिने अवस्थामा छन् । भवन भने २०३४ सालमा निर्माण गरिएका हुन् । परिषद्को जग्गा र भवन एक परिवारले हेरचाह गर्दै आएको छ ।


परिषद्का अनुसार यहाँ भएका भवनमा पहिले माेटर मर्मत, टेलरिङ, कपडा र ढाका बुनाइसम्बन्धी छोटो अवधिको कार्यक्रम सञ्चालन हुन्थे । पछि आर्थिक अभावले कार्यक्रम अगाडि बढाउन नसकिएको सूचना अधिकारी भट्टराईले बताए । ०४७ सालमा रोज कोरिया नामको संस्थालाई कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिइएको थियो । संस्थाले कम्प्युटर, पार्लर, सिलाइबुनाइजस्ता सीपमूलक तालिम ०६० सम्म चलाएको थियो । त्यस संस्थाले पनि बजेट व्यवस्थापन गर्न नसकेपछि सबै तालिम बन्द गरी सरकारलाई भवन हस्तान्तरण गरेको थियो ।


परिषद्ले एक वर्षअघि जग्गा भाडामा लगाउन बाेलपत्र आह्वान गरेको थियो । त्यति बेला आवेदन दिएका माइला श्रेष्ठले भने, 'मैले होटल खोल्ने योजना बनाएर सबैभन्दा बढी मूल्य कबोले पनि ठेक्का परेन । मलाई नपरे ठिकै थियो, तर कसैलाई पनि नपर्नुको कारण भने थाहा पाउन सकिएन ।'


परिषद्ले २५ वर्षसम्म भाडामा दिने योजना बनाएको थियो । परिषद्ले ठेक्कामा सहभागी कोही पनि योग्य नभएको बताएको छ । सरकारले हरेक वर्ष सामाजिक कार्यक्रम चलाउने भनी परिषद्लाई बजेट दिँदै आएको छ तर बूढानीलकण्ठ भवनमा भने त्यस्ता कार्यक्रम सञ्चालन हुने गरेका छैन ।

प्रकाशित : वैशाख २९, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?