झोलाले थिच्छ विद्यार्थी

सरोजकुमारी चौधरी

काठमाडौं — के तपाईंका बालबच्चा विद्यालय जान्छन् ? जान्छन् भने तपाईंले कहिल्यै उनीहरूको झोलाको तौल ख्याल गर्नुभएको छ ? अधिकांश अभिभावक विद्यार्थीलाई उनीहरूको पाठ्यसामग्री राख्ने झोलाका कारण हुने शारीरिक र मानसिक समस्याबारे जानकार छैनन् ।

झोलाले थिच्छ विद्यार्थी

काठमाडौंको डल्लुकी क्यारोन देउला हरेक दिन विद्यालय पोसाकमा गह्रौं झोला बोकेर सकीनसकी विद्यालय जान्छिन् । उनले बोकेको झोला कम्मरभन्दा तल पुगेको देखिन्छ । हामीले उपत्यकामा दैनिकजसो यस्ता सयौं दृश्य देखिरेहेका छौं । तर सम्बन्धित निकाय, विद्यालय र अभिभावकको भने यसमा कुनै चासो छैन ।


मुख्यतः निजी विद्यालयले आफ्ना विद्यार्थीलाई सबै विषयका पुस्तक, विषयगत कापी तथा अन्य सामग्री बोक्न कडाइ गर्छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मै निर्माण गरिएको भए पनि सरकारी अनुगमन नहुँदा कार्यान्वयनमा आउन सकेको छैन । विद्यार्थीको झोलाको तौल कति छ भनेर जोख्ने साधनसमेत अधिकांश विद्यालयमा छैनन् । अभिभावकले आफ्नै घरमा झोलाको तौल लिन सक्ने अवस्था हुँदैन भने अधिकांश अभिभावकलाई बालबालिकाले धेरै तौलको झोला बोक्दा के समस्या आउन सक्छ भनेर थाहा पाएकै छैनन् । दैनिक धेरै तौलको झोला बोक्नु पर्दा बालबालिका भने समस्यामा पर्दै गइरहेका छन् ।


सरकारले लागू गरेको ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ मा विद्यालय जाँदा प्रयोग हुने झोलाको तौलको मापदण्ड उल्लेख छ । निर्देशिकाअनुसार आधारभूत तह अर्थात् कक्षा १ देखि ५ सम्मका विद्यार्थीलको झोलाको तौल ४ केजीभन्दा बढी हुनुहुँदैन । झोलाको तौल भनेको झोला, पुस्तक, कापी र टिफिन बक्ससहितको तौल रहेको मापदण्डमा प्रस्ट उल्लेख छ ।


निर्देशिकामा कक्षा १ भन्दा तलका विद्यार्थीलाई झोला बोक्न निरुत्साहित गर्नुपर्ने उल्लेख छ । तर हामी हरेक दिन विद्यालयका ससाना विद्यार्थीले मापदण्डविपरीत तथा क्षमताभन्दा बढी तौलको झोला बोक्नुपर्ने बाध्यता छ ।


भारतको मानव संसाधन विकास मन्त्रालयले गत नोभेम्बरमा विद्यार्थीलाई बोकाउने झोलाको तौल निर्धारण गरेको छ । त्यसमा कक्षा १ र २ का विद्यार्थीका लागि झोलाको तौल अधिकतम १.५ किलो उल्लेख छ । कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि २ देखि ३ किलोको तौल कायम गरिएको छ ।


नेपालमा २०६९ फागुन ४ गते मन्त्रीस्तरीय निर्णयबाट लागू गरिएको निर्देशिकामा १ देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि ४ किलोसम्मको तौललाई मान्यता दिइएको हो । विकसित देशमा विद्यार्थीले बोक्ने झोलाको तौलबारे उल्लेख छ । अधिकांश देशमा विद्यार्थीले बोक्ने झोलाको तौल उनीहरूको कुल तौलको १० प्रतिशतभन्दा बढी हुन नहुने कुरा उल्लेख छ । हङकङमा विद्यार्थीले बोक्ने झोलाको तौल उनीहरूको तौलको १० प्रतिशत वा अधिकतम ३ किलोसम्म हुनुपर्ने तोकिएको छ ।


महिला र पुरुष विद्यार्थीले बोक्ने झोलाको तौलमा पनि भिन्नता छ । पुरुषले बोक्ने झोलाको तौलभन्दा महिलाले बोक्ने झोलाको तौल उनीहरूको आफ्नै तौलको आधारमा पनि कम हुनुपर्ने अध्ययनले देखाएको छ । अध्ययनअनुसार आफ्नो कुल तौलको ५ प्रतिशतको झोला बोक्नुलाई सुरक्षित मानिन्छ ।


नर्भिक अस्पतालका अर्थोपेडिक एन्ड स्पाइन सर्जन डाक्टर विप्लव सापकोटाका अनुसार ‘कम उमेरमा धेरै भारी बोक्ने बच्चामा विभिन्न समस्या’ देखिने गरेको छ । आफ्नो उमेर र तौलको तुलनामा बढी भारी वा झोला बोक्ने बालबालिकामा सानैदेखि मेरुदण्ड तथा घाँटीको समस्य देखिन थालेको उनको भनाइ छ ।


सापकोटाका अनुसार बालबालिकाले आफ्नो कुल तौलको १० प्रतिशतभन्दा बढी तौलको झोला बोक्नु उपयुक्त हुँदैन । मेरुदण्डको सेपअनुसार जहाँ बढी भार पर्‍यो त्यो भागको हड्डी खिइन सक्छ । त्यसले पछि नसा च्यापिने र शरीर दुख्ने सम्भावना बढी हुन्छ । ढाड दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या लिएर आउने गरेको बताए । यसको कारण बढी तौलको झोला, निहुरेर मोबाइलमा बढी समय बिताउने र खाटमा बसेर पढ्ने कारण रहेको उनले बताए । बढी तौलको झोला बोक्ने बालबालिका भविष्यमा चाँडै कुप्रो हुने उनले बताए ।


सापकोटाका अनुसार हाल सरकारले बनाएको मापदण्ड पनि उपयुक्त छैन । १ कक्षाको विद्यार्थी र ५ कक्षाको विद्यार्थीको तौल बराबर हुँदैन र उनीहरूले समान तौलको झोला बोक्न सक्दैनन् । त्यसकारण अहिलेको मापदण्डलाई फेरेर कक्षा वा उमेर र तौलअनुसारको नयाँ मापदण्ड बनाउनुपर्ने विज्ञहरूको भनाइ छ ।


विद्यालय सञ्चालक पनि विद्यार्थीलाई ठूलो झोला बोकाउनु नहुने बताउँछन् तर कार्यान्वयन भने खासै गरेको देखिँदैन । थापाथलीस्थित भीएस निकेतन विद्यलायकी प्रिन्सिपल गीता चौधरी ठूलो तौलको झोला बोक्नुको कारण पुस्तकको साइजमा भर पर्ने बताइन् । उनका अनुसार सरकारले कक्षाअनुसार पुस्तक बनाउँदा यसको तौलमा पनि ध्यान दिनुपर्छ ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?