मृगस्थलीमा मृग व्यवस्थापन गाह्रो

माया श्रेष्ठ

काठमाडौं — पशुपतिको श्लेषमान्तक वन मृगस्थलीमा मृगको व्यवस्थापन नहुँदा शताब्दी पुराना रूख लोप हुने अवस्थामा पुगेका छन् । मृगले पुराना रूखको जरा खोतल्ने र लोक्ता टोक्न थालेका छन् । २०६१ मंसिरमा ९५ रोपनीमा ३० वटा मृग पाल्न सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा होमप्रसाद नेपालले जानकारी दिए । ‘मृगको संख्या बढेर १ सय ६३ पुगेको छ,’ उनले भने, ‘पाल्ने ठाउँ साँघुरो भयो ।’

चरनका लागि उपयुक्त घाँसे स्थान नभएका ठाउँमा धेरै मृग राख्दा विश्व सम्पदा सूचीमा परेको पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र कुरूप हुने अवस्थामा परिणत हुँदै गएको मृग अवलोकन गरिरहेका काठमाडौं पेप्सीकोलाका दिनेश थापाको भनाइ छ ।

‘पहिला हरियो झाडीसँगको वन थियो,’ उनले भने, ‘पुराना रूखका जरा उक्किएर माथिमाथि आएछन्, ओरालो भागतिर सबै धूलो उड्ने भएछ ।’ बागलुङ घर भई हाल काठमाडौं बस्दै आएका सुदीप विकले मृगको व्यवस्थापनसँगै पुराना रूखको संरक्षणमा क्षेत्र विकास कोषले चासो नदिएको बताए । ‘तल भिरालोतिर त खण्डहर हुन लागेछ,’ उनले भने, ‘अलि पछाडि त पहिरो आउन सक्छ ।’

वनको बीचमा सीमित घेराभित्र राखिएका मृगका लागि चरन क्षेत्र छैन । आहारा नपुग भएपछि मृगलाई चना, मकै, भटमास र खनिज तत्त्व दिनको ३ पटक खुवाउने गरेको नासु नेपालले बताए । शिवजी मृगको रूप लिएर बसेको मृगस्थलीमा मृगबिनाको थली भएकाले कृष्णसार १८, चित्तल १० र रतुवा मृग २ वटा राखी सुरुवात गरिएको थियो ।

मृगको संख्या बढेसँगै त्यसको पर्यावरणमा दखल पुर्‍याउँदासमेत क्षेत्र विकास कोषले स्थानान्तरण गर्न सकेको छैन । मृगको सुरक्षित स्थानान्तरण गर्ने भन्दै आए पनि व्यवस्थापनका लागि योजना बनाउन सकेको छैन ।


‘अन्य निकुन्जमा मृग छाडिदिँदा सुरक्षित नहुने हुँदा छाड्न सकिएन,’ नेपालले भने, ‘अरू जनावरले आक्रमण गर्न सक्छ ।’ फार्म बनाएर पाल्ने वा व्यक्तिले पाल्ने वातारण सिर्जना भए सुरक्षित रहने उनको भनाइ छ ।


वृक्षरोपण गरेर रूख बिरुवाको संरक्षण वृद्धि गर्नु सट्टा भएका पुराना रूख मासिने क्रम बढेको छ । त्यसले पशुपति क्षेत्रको वनका विभिन्न भागमा भूक्षय भएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका कर्मचारी बद्री भण्डारीका अनुसार जनावरलाई पालिसकेपछि प्रक्रिया पुर्‍याएर वनमा छाड्न सकिन्छ । उनले भने, ‘वनजंगलमा बस्ने जनावर सुगालाई जस्तो थुन्दा के हुन्छ, वनमा बस्नेलाई वनमा छाडदा बिस्तारै घुलमिल हुन्छ ।’

प्रकाशित : वैशाख २८, २०७६ ०८:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खोलाकै सफाइ

माया श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबी खोला किनारका बस्तीलाई वर्षायाममा डुबानबाट जोगाउने प्रयास थालेको छ । त्यसका लागि खोलो फराकिलो बनाउन धमाधम माटो निकाल्ने काम सुरु भएको छ ।

डुबानबाट बस्ती जोगाउन काठमाडौंको कालोपुलस्थित धोबी खोलामा सोमबार सतह मिलाइँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

चाबहिल बैजनी पुलदेखि साढे ४ किलोमिटर धोबी खोला–वाग्मती दोभानसम्म खोलाको माटो निकाल्ने काम भइरहेको जानकारी प्राधिकरणका इन्जिनियर रञ्जन सिलवालले दिए । वर्षायाममा अनामनगर क्षेत्र जलमग्न हुने गरेको छ ।

प्राधिकरणका इन्जिनियर सिलुवाल भन्छन्, ‘खोला किनारमा अव्यवस्थित बसोबासका कारण खोलो साँघुरिँदै ९ मिटर चौडाइमा खुम्चिएको छ ।’ ठेकेदार कम्पनी जय गणेश सेवा थापाथली र प्राधिकरणबीच ५५ लाख ४४ हजार ४ सय ८० रुपैयाँमा ३ महिनामा खोलाको माटो निकल्ने काम सक्ने गरी ०७५ चैत ७ मा सम्झौता भएको हो ।

बैजनी पुलदेखि मैतीदेवी कालो पुलसम्मको माटो निकाल्ने काम सकिएको ठेकेदार कम्पनीका प्रमुख रामेश्वर श्रेष्ठले बताए । ‘१ फिटदेखि ३ फिट गहिराइसम्म खोलाको माटो निकालेका छौं । लेदो माटो निकालेर ४ दिन सुकाएर डिस्पोज गर्ने गरेका छौं,’ उनले भने ।

अघिल्लो वर्षायाममा काठमाडौं महानगरपालिका–१० स्थित विनायकनगरमा पसेको बाढीले साढे ३ करोड बराबरको क्षति पुर्‍याएको वडा अध्यक्ष रामकुमार केसीले बताए । ‘कम्तीमा खोलाको चौडाइ ४० मिटर हुनुपर्ने हो तर धोबी खोला १२ मिटरमा खुम्चियो,’ उनले भने, ‘एक्काइस वर्षसम्म स्थानीय जनप्रतिनिधि नहुँदा खोलो साँघुरियो ।’ धोबी खोलाबाट २३ हजार ९ सय ६७ घनमिटर माटो निकालिने जानकारी प्राधिकरणले दिएको छ ।

बस्तीमा पानी पस्ने वर्षौंदेखिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र सरकारले पहल गर्नुपर्ने वडा २९ का अध्यक्ष कुशकुमार क्षत्रीको भनाइ छ । ‘खोला वारिपारि थुप्रिएको माटो निकालेपछि पानीको सतह घट्ला तर खोलाको चौडाइ कम भएपछि वर्षायाममा पानी कता पस्छ, कसैले आकलन गर्न सक्दैन,’ उनले भने, ‘माटो निकाल्ने कार्यले बर्सेनि निरन्तरता पाए मात्र जोखिम कम हुन्छ ।’

प्रकाशित : वैशाख १०, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×