मृगस्थलीमा मृग व्यवस्थापन गाह्रो

माया श्रेष्ठ

काठमाडौं — पशुपतिको श्लेषमान्तक वन मृगस्थलीमा मृगको व्यवस्थापन नहुँदा शताब्दी पुराना रूख लोप हुने अवस्थामा पुगेका छन् । मृगले पुराना रूखको जरा खोतल्ने र लोक्ता टोक्न थालेका छन् । २०६१ मंसिरमा ९५ रोपनीमा ३० वटा मृग पाल्न सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा होमप्रसाद नेपालले जानकारी दिए । ‘मृगको संख्या बढेर १ सय ६३ पुगेको छ,’ उनले भने, ‘पाल्ने ठाउँ साँघुरो भयो ।’

चरनका लागि उपयुक्त घाँसे स्थान नभएका ठाउँमा धेरै मृग राख्दा विश्व सम्पदा सूचीमा परेको पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र कुरूप हुने अवस्थामा परिणत हुँदै गएको मृग अवलोकन गरिरहेका काठमाडौं पेप्सीकोलाका दिनेश थापाको भनाइ छ ।

‘पहिला हरियो झाडीसँगको वन थियो,’ उनले भने, ‘पुराना रूखका जरा उक्किएर माथिमाथि आएछन्, ओरालो भागतिर सबै धूलो उड्ने भएछ ।’ बागलुङ घर भई हाल काठमाडौं बस्दै आएका सुदीप विकले मृगको व्यवस्थापनसँगै पुराना रूखको संरक्षणमा क्षेत्र विकास कोषले चासो नदिएको बताए । ‘तल भिरालोतिर त खण्डहर हुन लागेछ,’ उनले भने, ‘अलि पछाडि त पहिरो आउन सक्छ ।’

वनको बीचमा सीमित घेराभित्र राखिएका मृगका लागि चरन क्षेत्र छैन । आहारा नपुग भएपछि मृगलाई चना, मकै, भटमास र खनिज तत्त्व दिनको ३ पटक खुवाउने गरेको नासु नेपालले बताए । शिवजी मृगको रूप लिएर बसेको मृगस्थलीमा मृगबिनाको थली भएकाले कृष्णसार १८, चित्तल १० र रतुवा मृग २ वटा राखी सुरुवात गरिएको थियो ।

मृगको संख्या बढेसँगै त्यसको पर्यावरणमा दखल पुर्‍याउँदासमेत क्षेत्र विकास कोषले स्थानान्तरण गर्न सकेको छैन । मृगको सुरक्षित स्थानान्तरण गर्ने भन्दै आए पनि व्यवस्थापनका लागि योजना बनाउन सकेको छैन ।


‘अन्य निकुन्जमा मृग छाडिदिँदा सुरक्षित नहुने हुँदा छाड्न सकिएन,’ नेपालले भने, ‘अरू जनावरले आक्रमण गर्न सक्छ ।’ फार्म बनाएर पाल्ने वा व्यक्तिले पाल्ने वातारण सिर्जना भए सुरक्षित रहने उनको भनाइ छ ।


वृक्षरोपण गरेर रूख बिरुवाको संरक्षण वृद्धि गर्नु सट्टा भएका पुराना रूख मासिने क्रम बढेको छ । त्यसले पशुपति क्षेत्रको वनका विभिन्न भागमा भूक्षय भएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका कर्मचारी बद्री भण्डारीका अनुसार जनावरलाई पालिसकेपछि प्रक्रिया पुर्‍याएर वनमा छाड्न सकिन्छ । उनले भने, ‘वनजंगलमा बस्ने जनावर सुगालाई जस्तो थुन्दा के हुन्छ, वनमा बस्नेलाई वनमा छाडदा बिस्तारै घुलमिल हुन्छ ।’

प्रकाशित : वैशाख २८, २०७६ ०८:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वन मासेर बहुप्राविधिक महाविद्यालय

५५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने योजनामो ठक्का पाएको भारतीय कम्पनीले महाविद्यालय निर्माणका लागि जेठ १० गते शिलान्यास गर्ने भएको छ । विद्यालय निर्माणका लागि सामुदायिक वनका २ हजार ३ सय ५१ रुख काटिएका छन्
प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–७ मा सामुदायिक वन मासेर नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालय निर्माण गरिने भएको छ  । रुख कटानको काम सकिए पनि घाटगद्दी गर्न भने बाँकी रहेको छ  ।

चैत महिनाको तेस्रो सातादेखि रूखको कटान सुरु भएको थियो । ‘करिब रूख काट्ने काम सकिएको छ,’ महाविद्यालयका प्रशासन प्रमुख विष्णु घिमिरेले भने, ‘अब टुक्राएर घाटगद्दी गर्नमात्र बाँकी छ,’ घाटगद्दी गरेपछि काठ डिभिजन वन कार्यालय हेटौंडालाई बुझाउँछौं ।’

चित्रपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न एक दशक अघि नै साढे २६ बिघा जमिन उपलब्ध गराएको थियो । उक्त सामुदायिक वनमा रहेका २ हजार ३ सय ५१ रूखको कटान ठेकदारमार्फत गरिएको हो । ‘एक महिना भित्रमा रूखको कटान गरिसक्ने सम्झौता थियो,’ महाविद्यालयका प्रशासन प्रमुख घिमिरेले भने, ‘समयमा नै रूख कटान सकियो ।’ कटान भएका मध्ये करिब १ हजार ९ सय सल्लाका रूख छन भने ४ सय जति अन्य जातका छन् ।


महाविद्यालयको शिलान्यास कार्यक्रम जेठ १० गते गर्ने योजना रहेको छ । निर्माण कम्पनी महाविद्यालयको शिलान्यास गर्न हतारिएको छ । विद्यालय भारत सरकारको सहयोगमा निर्माण हुन लागेको हो । नेपाल र भारतको राष्ट्रपतिस्तरमा २०६६ सालमा हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल भारत बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार हेटौंडामा जग्गा उपलब्ध गराएर तारबार लगाउने काम पनि गरियो तर भारत सरकारको ढिलासुस्तीका कारण निर्माण सुरु हुन सकेको थिएन ।

भरत सरकारका तर्फबाट महाविद्यालयको निर्माणका लागि टेन्डर आहान गरी निर्माण कम्पनी समेत छनोट भइसकेको छ । ५५ करोडको लागतमा भारतीय टिसिआईएन कम्पनीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सकारेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महाविद्यालयको निर्माण सुरु गर्न सम्बन्धित निकायलाई दबाब दिँदै आएका थिए ।

मुख्यमन्त्री पौडेलले निर्माणमा चासो राखेकाले पनि काम छिटो सुरु हुन लागेको प्रमुख घिमिरेले बताए । मुख्यमन्त्री पौडेल विगतमा महाविद्यालयका अध्यक्षसमेत थिए । उनले महाविद्यालय निर्माणस्थलको पटक/पटक अवलोकन गर्नुका साथै डिभिजन वन कार्यालयलाई रूख कटानका लागि ताकेतासमेत लगाएका थिए ।


खानेपानी र विद्युतको काम नेपाल सरकारको जिम्मेवारीमा छ । विगतमा नेपाल सरकारले समयमा नै जग्गा उपलब्ध गराउन सकेन र ईआईए पनि समयमा गर्न नसकेकाले पनि महाविद्यालयको निर्माण ढिला हुन गएको हो । भारत सरकारले अहिले चासोका रूपमा लिएकाले महाविद्यालयको निर्माण सुरु हुन लागेको मुख्यमन्त्री पौडेलले बताए । साढे २६ बिघा जमिनमा अध्ययन गर्ने भवन, छात्रावास, खेलकुद मैदान, व्यावसायिक तालिम भवनलगायत संरचना निर्माण हुने छन ।

पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात आइटी, मेकानिकल र इलेक्ट्रीको विषयको पढाई हुनेछ । यो महाविद्यालयले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षालय प्रशासन प्रमुख घिमिरले बताए । महाविद्यालय स्थापना हुने स्थल हेटौंडा बजारबाट ६ किलोमिटर
पूर्व पर्छ ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT