१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

उपकरण विग्रिँदा वीरको बिजोग

बिरामीको चाप, प्राविधिकको अभाव र कमसिनको खेलमा देशकै ठूलो अस्पताल रुमलिँदा बिरामीलाई सास्ती 
फातिमा बानु

काठमाडौँ — वीर अस्पतालका विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नुपर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् ।

उपकरण विग्रिँदा वीरको बिजोग

अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन् । अस्पतालको आईसीयू नपाउँदा उनीहरू निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन् ।

वीरमा ३ हजार रुपैयाँमा पाइने आईसीयू बाहिर चार गुणा बढी छ । भेन्टिलेटर बिगि्रएको एक वर्ष बितिसक्दा पनि मर्मत भएको छैन । एक वर्षदेखि उपकरण बिग्रिएकै कारण नाक, कान, घाँटी विभाग पनि प्रभावित छ । शल्यक्रिया गर्नका लागि आवश्यक पर्ने माइक्रोसकोप उपकरण बिग्रँदा आएजति बिरामीले सेवा पाउन सकिरहेका छैनन् । विभागमा पहिले २ माइक्रोसकोप थिए । एउटा बिग्रेर काम नलाग्ने भएपछि बिरामीले निजी निजी अस्पतालबाट सेवा लिन बाध्य भएका छन् ।

वीरमा २ हजार रुपैयाँमा हुने शल्यक्रिया निजीमा ३० देखि ४० हजार रुपैयाँ तिरेर शल्यक्रिया गराउने गरेको बिरामी बताउँछन् । निजीको खर्च व्यहोर्न नसक्ने बिरामी एक वर्ष कुरेर वीर अस्पतालबाटै सेवा लिने गरेका छन् । अहिले यो विभागमा कानको शल्यक्रियाकै लागि तीन सय बिरामी लाइनमा छन् । उपकरण मर्मत हुन सकेमा अहिलेभन्दा चार गुणा बढी शल्यक्रिया गर्न सकिने विभागका प्रमुख डा. ढुण्डीराज पौडेलले बताए ।

महिलाको स्तन क्यान्सर पहिचान गर्ने उपकरण मेमोग्राम पनि वर्षौंदेखि बिगि्रएर थन्केको छ । यो सेवाको दैनिक आउने १५ देखि सेवाग्राही उपचारबिना फर्किन बाध्य छन् । रेडियोलजी विभागको स्पेसल एक्सरे उपकरण -फ्लुरोस्कोपी) २ वर्षदेखि बिगि्रएको छ । छ वर्षअघि डेढ करोड रुपैयाँमा खरिद गरिएको यो उपकरणबाट सामान्य एक्सरेबाट पत्ता नलाग्ने समस्या थाहा हुन्छ । यो उपकरणबाट मर्मत हुन नसक्दा बिरामी बाहिरबाटै सेवा दिन्छन् ।

वीर अस्पतालमा १ हजार ५ सयमा हुने उपचार शुल्क निजीमा बिरामीले यो सेवाका लागि ५ हजार रुपैयाँसम्म तिरिरहेका छन् । दुर्गमबाट आएका गरिब बिरामी निजीको महँगो शुल्क तिर्न सक्दैनन् । कोही बिरामी उपचार नै नगरेर फकिन बाध्य छन् । यही विभागको पुरानो सीटी स्क्यान उपकरण पनि मर्मत हुन सकेको छैन । बढी चलाएकै कारण अस्पतालसँग भएको नयाँ सीटी स्क्यान उपकरण बिगि्ररहने समस्या छ ।

पुरानो उपकरणलाई मर्मत गर्न सकेमा नयाँ उपकरण बिग्रँदा काम लाग्न सक्ने कर्मचारी बताउँछन् । एक दिनमा ३० बिरामीको सिटी स्क्यान गर्न सकिने उपकरण बनाउन अस्पतालले कुनै पहल नगरेको विभागका कर्मचारीको भनाइ छ । यो उपकरण मर्मत हुन सकेमा अर्को उपकरणको विकल्प हुन सक्ने र बिरामीले धेरै दिन पर्खनुपर्ने हुन्न । मुटुको उपचारका लागि अत्यावश्यक उपकरण क्याथल्याब पनि बिग्रेर अलपत्र छ । क्याथल्याब नहुँदा मुटुका गम्भीरखाले बिरामीले उपचार पाइहरहेका छैनन् । आएका बिरामी सहिद गंगालाल हृदयरोग उपचार केन्द्रमा रिफर भएर उपचार गरिरहेका छन् ।

किन बिग्रन्छन् उपकरण ?

केन्द्रीय अस्पतालमा बिरामीको चाप र उपकरणको प्रयोगबीच सन्तुलन नहुनु पहिलो कारण हो । बिरामीको चाप धान्नकै लागि क्षमताभन्दा बढी चलाउँदा उपकरण बिग्रेकोबिग्रै हुन्छन् । सार्वजनिक खरिद ऐन २०६३ अनुसार टेन्डर हालेका कम्पनीमध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिन स्वीकृत गर्नुपर्छ । सस्तो मूल्यको उपकरण खरिद गर्ने चक्करमा अस्पताल सधैं फस्ने गरेको छ ।

ऐनअनुसार अस्पतालले कम्पनीबीच प्रतिस्पर्धा गराएर सस्तोमा उपकरण पाए पनि ती उपकरणको गुणस्तरीयता कमजोर हुन्छन् । यसले गर्दा उपकरण खरिद गरेका छोटो समयमै बिग्रने गरेका छन् । उपकरण बिगि्ररहनुको अर्को कारण हो, पुरानो भवन । अस्पताल भवन मुसाको बासस्थान बनेको छ । उपकरणभित्र मुसा पस्छन् र तार काट्छन् । अस्पतालका एक कमचारी भन्छन्, 'मेसिन बिग्रनुमा मुसा त कारक हुन् नै । यहाँभित्र केही कर्मचारी पनि मुसा प्रवृत्तिका छन् ।'

उनका अनुसार उपकरण बिगारेर नयाँ उपकरण खरिदको कमिसन खेलका लागि केही कर्मचारी जानाजान उपकरण बिर्गाछन् । उपकरण बिग्रनुको अर्को मुख्य कारण हो, बिजुली बत्ती । स्वास्थ्यका कतिपय उपकरणलाई २४ नै घण्टा चिसो 'मेन्टेन' गरेर राख्नुपर्ने हुन्छ । अस्पतालमा २४ नै घण्टा बिजुली बत्तीको व्यवस्था नहुँदा चिसो 'मेन्टेन' गरेर राख्नुपर्ने उपकरण बिग्रन्छन् ।

किन बन्दैनन् उपकरण ?

वीर अस्पतालमा अच्चम त के छ भने, नयाँ उपरकण किन्नुपरेमा केही दिनमै भित्रिन्छन् । पुराना उपकरण भने वर्षौसम्म बिगि्रएर थन्किन्छन् । एक कर्मचारी भन्छन्, 'नयाँ उपकरणमा किन्दा कम्पनी र र्फमसँग मिलेर कमिसन खान पाइन्छ, पुराना उपकरणमा बनाउँदा कुनै आर्थिक लाभ नहुने हुँदा कसैले वास्ता गर्दैनन् ।' कर्मचारीका अनुसार उपकरण मर्मतका लागि स्वीकृत गरिएका फाइलहरू अस्पतालभित्रै गायब बनाइन्छन् ।

मर्मत शाखा के भन्छ ?

अस्पतालमा अहिले बायोमेडिकल इन्जिनियरको दरबन्दी नहुँदा उपकरण मर्मत हुन सकिरहेका छैनन् । त्यसैले उपकरणसम्बन्धी साना समस्या आउँदा पनि समाधान हुन्न । मर्मत शाखाका भएका कर्मचारी सामान्य विद्युतीय प्राविधिक मात्रै छन् । यस्ता जनशक्तिलाई ठूला उपकरणबारे ज्ञान छैन ।

मर्मत शाखा प्रमुख सुनील श्रेष्ठका अनुसार अस्पतालले ठूला उपकरण खरिद गर्दा कर्मचारीले तालिम पाउने अवसर भएमा यस्ता समस्या समाधान हुन्छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार अस्पतालका अधिकांश उपकरण विदेशबाट आयात गरिएका छन् । उनी भन्छन्, 'कति उपकरणका सामान नै फेर्नुपर्ने छ । ती सामान नेपालमै नपाइने हुँदा थन्काउन बाध्य

भएका हौं ।' स्क्यान, स्पेसल एक्सरे र मेमोग्रामको मर्मत लागत अत्यन्तै महँगो भएकाले बनाउन नसकिएको सेञ्चुरीको भनाइ छ । महँगो खर्च हालेर उपकरण मर्मत गर्नका लागि टेन्डर प्रक्रियाबाटै जानुपर्ने हुन्छ ।

उनले भने, 'हामी खरिद ऐनले बाँधिएका छौं । पाँच लाख रुपैयाँभन्दा बढी खर्च हालेर काम गर्दा टेन्डर प्रक्रियाबाटै जानुपर्छ । यो लामो र झन्झटिलो भएकाले समयमा उपकरण बन्न सक्दैनन् ।'

बजेट अभावलाई कारण देखाएर उपकरण मर्मत बनाउन पहल नगर्नुमा अस्पताल प्रशासन दोषी रहको स्वास्थ्य सचिव डा.पुष्पा चौधरी बताउँछिन् । उनी भन्छिन्, 'वीर अस्पतालमा दिएको बजेट बेरुजु भएर गइरहेको छ । दिएको बजेट व्यवस्थापन गरेर अस्पतालले उपकरण मर्मत गर्नुपर्छ ।'

प्रकाशित : वैशाख २१, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?